बैशाली सहकारीमा १८ करोडभन्दा धेरै रकम हिनामिना, सहकारीमा नगद रहेको प्रमाण पेस गर्न प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालय पर्वतले १८ करोड ७६ लाख रुपैयाँभन्दा बढी हिनामिनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ।

भाद्र ६, २०८२

नारायण शर्मा

Extortion of more than 18 crores in Baisali Cooperative, request of police to submit proof of cash in Cooperative

What you should know

पोखरा — पर्वतको कुश्मा नगरपालिकामा रहेको बैशाली कृषि सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकको मिलेमतोमा १८ करोडभन्दा धेरै रकम हिनामिना भएको तथ्य सार्वजनिक भएको १० दिनपछि संस्थाका बचतकर्तालाई आफूले जम्मा गरेको रकमको प्रमाण पेस गर्न प्रहरीले अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतले ५ दिनअघि एक सूचना जारी गर्दै सहकारीको कूल १८ करोड ७६ लाख ३० हजार ५ सय २८ रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानले देखाएको जनाउँदै सहकारीमा रकम लिनुपर्ने व्यक्तिले आफूसँग भएको प्रमाण प्रहरी कार्यालयमा पेस गर्न सर्वसाधारणलाई अपिल गरेको छ।

सहकारीमा सेयर सदस्य रहेका व्यक्तिले आफूसँग रहेको भौचर, पास बुक र अन्य प्रमाण भदौ १३ गते भित्र जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सूचनामार्फत आग्रह गरिएको छ।

जिल्ला प्रहरीले जारी गरेको अर्को सूचनामा सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकसमेतले आफूले तिर्नुपर्ने रकमको जानकारी लिन प्रहरी कार्यालयको मुद्दा शाखामा सम्पर्क गर्न अपिल गरेको छ। कर्जा लिएका सहकारीका सदस्यले आफूले तिर्नुपर्ने रकम कति हो भनेर यकिन जानकारी लिन जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा सम्पर्क गर्न सूचना जारी गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर सुमित श्रेष्ठको नामबाट जारी सूचनामा सहकारीको रकम हिनामिनामा संलग्न व्यक्तिलाई रकम दाखिला गर्न समेत उर्दी गरिएको छ।

सहकारी रजिस्ट्रारको कार्यालय पोखराले गत साउन २६ गते जिल्ला प्रहरी कार्यालय पर्वतलाई एक पत्र पठाएर सहकारीको रकम हिनामिनामा संलग्न देखिएका १ सय ५३ जनाविरुद्ध अनुसन्धान गर्न र रकम असुल–उपर गराउने कानुनी प्रक्रिया थाल्न पत्राचार गरेको थियो।

बैशाली सहकारीका सञ्चालक, व्यवस्थापकसमेतको मिलेमतोमा १८ करोड ७६ लाखभन्दा धेरै रकम हिनामिना भएको अनुसन्धानमा देखिएको छ।

सहकारी रजिस्ट्रारको कार्यालय पोखराका प्रमुख भेषराज रिजालले, व्यवस्थापक कुमारी पुर्जाले सहकारीको सेयर सदस्यसमेत नरहेका स्थानीयबाट दैनिक, मासिक रकम संकलन गरेर ऋण दिएको अनुसन्धानमा देखिएको जानकारी दिए।

‘सहकारीको सेयर सदस्यबाहेकका व्यक्तिबाट बचत रकम संकलन गर्नु र ऋण लगानी गर्नु प्रचलित सहकारी ऐन विपरीत हो,’ रिजालले भने।

संस्थाका सञ्चालक समिति र व्यवस्थापकको मिलेमतोमा रकम हिनामिना भएको पाइएको हो। सहकारीको रकम नक्कली ऋणी बनाएर निकासा गरिएको, त्यस्तो रकम सोझै ढुकुटी र व्यापार–व्यवसायमा लगानी गरेर हिनामिना गरेको पाइएको छ। व्यवस्थापक कुमारी पुर्जाले सञ्चालक समितिलाई समेत जानकारी नदिई कर्जा लगानी गरेको पाइएको रिजालले जानकारी दिए।

व्यवस्थापक आफैले १ करोडभन्दा बढी रकम हिनामिना गरेको सहकारीको छानबिन प्रतिवेदनमा उल्लेख छ। उनले आफैले चलाएको ढुकुटीमा सहकारीको पैसा कर्जा दिएर लगानी गराएकी छन्। पाँच जना महिलालाई ८ करोडभन्दा धेरै ऋण दिएर हिनामिना गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully