अमेरिकाको सहयोगमा निकुञ्जका कर्मचारीलाई ७ करोड रुपैयाँका सामग्री

एनटीएनसीले अमेरिकाको सहयोगमा सन् २०२१ देखि वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी परियोजना सञ्चालन गर्दै आएको छ ।

भाद्र ६, २०८२

रमेशकुमार पौडेल

7 crore worth of materials to park staff with the help of the US

What you should know

चितवन — अमेरिकाको सहयोगमा निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत देशका विभिन्न निकुञ्ज–आरक्षका कर्मचारीलाई ७ करोड १२ लाख तीन हजार ६६८ रुपैयाँबराबरका सामग्री उपलब्ध भएका छन् ।

बुधबार राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को चितवन सौराहामा रहेको जैविक विविधता संरक्षण केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले ती सामग्री बुझेका छन् ।

एनटीएनसीले अमेरिकाको सहयोगमा सन् २०२१ देखि वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी परियोजना सञ्चालन गर्दै आएको छ । सोही परियोजनाअन्तर्गत देशभरका निकुञ्ज तथा वन्यजन्तु आरक्षमा फिल्डमा खटिने एक हजार ४६८ जना कर्मचारीका लागि जुत्ता, सर्ट, ब्याग, पाइन्टदेखि अन्य औजार–उपकरण उपलब्ध भएको हो । कार्यक्रममा अमेरिकी दूतावासका उपमिसन प्रमुख जेसन पी. मिक्ससमेत उपस्थित थिए ।

रातको समयमा जंगल वा फिल्डमा खटिँदा सजिलै हिँड्नका लागि शिरमा राखेर बाल्न मिल्ने हेड ल्याम्प पनि उनीहरुलाई उपलब्ध हुने छ । आठ सय थान स्विस चक्कु पनि वितरण गरिने छ । त्यस्तै सामूहिक रुपमा ५० थान मेडिकल सामग्री, ५० वटा क्यामेरा, ठूलो खाले सर्चलाइट ५० वटा वितरण हुने छन् । ४० थान बाइनाकुलर र ३० थान जीपीएस पनि वितरण हुने एनटीएनसीका वरिष्ठ संरक्षण अधिकृत अम्बिकाप्रसाद खतिवडाले जानकारी दिए । समुदायले पनि केही सामग्री पाउने छन् ।

खतिवडाका अनुसार मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत रहने चोरी–सिकारी विरुद्ध युवा जागरण इकाई (सीबीएपीयू)लाई पनि मेडिकल किट, जीपीएस, बाइनाकुलर, क्यामेरा, सर्चलाइट, ल्यापटप र वाकी–टकी एक–एक थान उपलब्ध हुने छन् । यस्ता सामग्री देशका १० वटा सीबीएपीयूले पाउने छन् । तीमध्ये एक चितवन निकुञ्जको रत्ननगरमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको सीबीएपीयूले बुधबार नै ती सामग्री पाएको छ । देशभरका कर्मचारीलाई छिट्टै सामग्री उपलब्ध हुने महानिर्देशक कँडेलले बताए ।

परियोजनामार्फत वन्यजन्तु अपराध विरुद्धको अनुसन्धान, मुचुल्कालगायतका कानुन कार्यान्वयनको पक्षलाई सबल बनाउन गतिविधि हुँदै आएको एनटीएनसीका सदस्य–सचिव नरेश सुवेदीले बताए । यस्ता अपराध नियन्त्रणका लागि प्रदेश स्तरमा खडा भएका संरचनाको क्षमता अभिवृद्धिका लागि पनि सहयोग हुँदै आएको उनले उल्लेख गरे । त्यस्तै कार्यक्षेत्रमा खटिने निकुञ्ज विभा अन्तर्गतका कर्मचारीलाई सहज हुने औजार तथा सामग्री उपलब्ध हुँदा संरक्षण कार्यमा थप टेवा पुग्ने उनको अपेक्षा छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully