शक्तिखोर सुलिटारमा छ, चेपाङ समुदायका व्यक्तिहरूले सञ्चालन गरेको सामुदायिक रेडियो– ‘आफ्नै रेडियो एफएम ८७.६ मेगाहर्ज’ । स्टेसन म्यानेजर छिन्, शिवकुमारी चेपाङ । शिवकुमारीको जिम्मामा एफएम त छ नै, समुदायका लोककथाहरू पाका व्यक्तिहरूबाट सुनाउने दायित्व पनि उनले उठाएकी छन् ।
What you should know
चितवन — चितवनको मध्य उत्तरी क्षेत्रमा पर्ने साविकको शक्तिखोर गाविसमा केही मैदानी भागसँगै भीरपाखा छ । पहाडी भेग सिद्धिको किनमेल गर्ने मुख्य बजार नै यही हो । अन्य पहाडी इलाका काउलको दक्षिणी चोसो तथा चण्डीभन्ज्याङ र दाहाखानीको पश्चिम भेगको कारोबार पनि शक्तिखोरमै चल्छ । यी पहाडी थुम्काहरूमा बस्छन् अति सीमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ ।
शक्तिखोर सुलिटारमा छ, चेपाङ समुदायका व्यक्तिहरूले सञ्चालन गरेको सामुदायिक रेडियो– ‘आफ्नै रेडियो एफएम ८७.६ मेगाहर्ज’ । मंगलसिंह प्रजा चेपाङ अध्यक्ष रहेको यस रेडियोमा स्टेसन म्यानेजर छिन्, शिवकुमारी चेपाङ । शिवकुमारीको जिम्मामा एफएम त छ नै, आफ्नो समुदायका लोककथाहरू पाका व्यक्तिहरूबाट सुनाउने दायित्व पनि उनले उठाएकी छन् ।
चेपाङ भाषाको शब्द ‘विनराई’ को अर्थ हुन्छ लोककथा । सिद्धि तीन दोभान लालिबाङका गयासिंह प्रजा चेपाङलाई शिवकुमारीले भेटिसकेकी छन् । ‘गयासिंहलाई विनराई थाहा छ भनेपछि भेट्न गएकी थिएँ । उहाँले आफ्ना बा, हजुरबाले विनराई सुनाउने गरेको र केही आफूलाई पनि थाहा छ भन्नुभयो । त्यसपछि मैले उहाँलाई जाने जतिका विनराई सुनाउन भनें,’ शिवकुमारीले सुनाइन् ।
गयासिंहले सुनाएको विनराई एफएममा दुई भाग बनेर बज्यो । गयासिंहले बाउ, छोरा र सौतेनी आमा भएको लोककथा सुनाए । ‘अब अर्का पाका चेपाङ बाजे खोज्दै छु,’ शिवकुमारीले भनिन्, ‘आफ्नो समुदायमा लोककथाहरू प्रचलित थिए भन्ने कुरा बाहिरी संसारलाई सुनाउनु छ । खोज्दै जाँदा केही न केही मौलिक कथा आउलान् भन्ने विश्वास छ ।’
चेपाङको मौलिक विषय समेटिएको विनराई भेट्न अहिले मुस्किल भए पनि शिवकुमारी प्रयास जारी राख्ने बताउँछिन् । उनको भनाइमा विनराई चेपाङ समुदायको सम्पत्ति हो । उनी यसको संरक्षण होस् भन्ने चाहन्छिन् ।
१ भदौ २०७८ मा खुलेको हो यो एफएम । २०५७ सालमा चेपाङ समुदायका व्यक्तिहरूले नै खोलेको ‘प्रजा एकता उत्थान समाज’ ले एफएम सञ्चालन गरेको हो । समाजका अध्यक्ष मंगलसिंहले ललितपुरको एक संस्थाको सहयोगमा एफएम सञ्चालनमा ल्याएको बताए । ‘सूचना प्रविधिमा चुर्लुम्म डुबेको दुनियाँले अहिले एआई अपनाइरहेको छ । तर रेडियो राख्नु र सुन्नु कैयौं चेपाङका लागि अझै रहरझैं छ,’ उनी भन्छन्, ‘धेरैका लागि मोबाइल फोनको सेटमा एक क्लिक गरेको भरमा संसारका सबै खाले सूचना समाचार तत्कालै प्राप्त भइहाल्छ तर यता हाम्रा गाउँघरका डाँडामा कैयौं चेपाङको हातमा अझै मोबाइल परेको छैन । मोबाइल भए पनि स्मार्टवाला छैन ।’
सय वाटको एफएम शक्तिखोर र आसपासको पहाडी भेगमा मात्रै नभएर मकवानपुरको पश्चिम पहाड, नवलपुरको पूर्वी भेग र गोरखा धादिङको दक्षिणी क्षेत्रमा पनि सुनिने मंगलसिंहले जानकारी दिए । उनका अनुसार बिहान ६ बजेदेखि १७ घण्टा लगातार रेडियो चल्ने गरेको छ । साँझ ५ बजे चेपाङ भाषाको समाचारबाहेक रेडियोमा चेपाङ केन्द्रित कार्यक्रमहरू खासै थिएनन् ।
‘सात दिनको तालिम लिएर हामीले रेडियोमा काम गर्न थाल्यौं । विषयवस्तु र कार्यक्रम उत्पादनभन्दा पनि प्राविधिक विषयमा बढी केन्द्रित तालिम गरेका थियौं । चेपाङको रेडियो भनेपछि चेपाङकै कार्यक्रम त थप्नुपर्यो नि भनेर बिस्तारै लाग्यौं,’ शिवकुमारीले भनिन् ।
विनराई साउनमा मात्र सुरु भएको हो । चेपाङ जातिको चिनारीबारे पनि अर्को कार्यक्रम छ । त्यसमा चेपाङबारे लेखिएका विभिन्न सामग्री र पुस्तक उद्धृृत गरेर सुनाउने गरिएको छ । मकवानपुर राक्सिराङबाट कक्षा ११ पढ्न शक्तिखोर आएकी शिवकुमारी नातामा फुपाजु पर्ने मंगलसिंहले एफएम सञ्चालन गर्न लागेपछि यतै रोकिएकी हुन् । ‘विनराई लामै समय चलाउन सकिन्छ भन्ने लाग्छ । शक्तिखोर र वरपरका मात्रै नभएर चितवन बाहिर पनि विनराई खोज्छु,’ उनले भनिन् ।
पाँच कर्मचारीले धानेको एफएममा चेपाङ समुदाय बाहिरबाट सन्ध्या खत्री पनि कार्यरत छिन् । आम्दानीको राम्रो स्रोत नभएका कारणले धेरै कर्मचारी राख्न नसकिएको अध्यक्ष मंगलसिंह बताउँछन् । ‘एफएमको मोबाइल एप्लिकेसन बनाउने, इन्टरनेटमार्फत संसारभर सुन्न मिल्ने बनाउने प्रयासमा लागेका छौं,’ उनले भने, ‘चेपाङका कुरा चेपाङलाई मात्रै नभएर अरूलाई पनि सुनाउन चाहन्छौं ।’
उनका अनुसार आफ्ना कुरा चेपाङ समुदायलाई नै सुनाउन पनि सहज छैन । त्यसैले एफएम सुन्न रेडियो सेट वितरण गर्ने योजनामा पनि छन् उनी । सोलारबाट चार्ज गर्न मिल्ने, ब्याट्री राख्न पनि मिल्ने र बिजुलीबाटै पनि चार्ज गर्न मिल्ने ५० वटा रेडियो वितरण गर्ने योजना उनले सुनाए । ‘त्यो रेडियो अँध्यारोमा बत्ती बाल्न मिल्ने खालको पनि हुनेछ,’ उनले भने ।
