उनले सरकारले जापान मान्छे लिएर जानेप्रति दया माया राखेर अमेरिका लैजानेलाई मात्रै कारबाही गर्न खोज्दा प्रश्न उठेको बताए।
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक पद दुरुपयोगका समान दुई घटनामा सरकारको फरक व्यवहारका कारण उपसभामुख हटाउन भएको प्रयासमाथि प्रश्न उठेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले त्यहीकारण उपसभामुखलाई हटाउन भएको हस्ताक्षरका सन्दर्भमा सरकार र सत्तारुढ दलहरू 'सेलेक्टिभ' भएको भनेर आरोप लागेको र सर्वसाधारणले प्रश्न उठाएको बताए।
उनले भने, 'सार्वजनिक पदको दुरुपयोग गरेर जापान मान्छे लिएर गएर छाडियो। तर त्यसका बारेमा किन अनुसन्धान भएन? सरकारले जापान मान्छे लिएर जानेलाई दया माया नराखेको भए अहिले अमेरिका मान्छे लिएर गएर छाड्नेलाई कारबाही गर्न खोज्दा हल्ला हुँदैनथ्यो।'
गत वर्ष जापानमा एक कार्यक्रममा सहभागी हुने सन्दर्भमा कोशीका तत्कालीन कानुनमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारीसँगै तीन जना युवाहरू गएका थिए। उनीहरूबाट रकम असुली गरेरै त्यहाँ लगिएको खुलेपछि उनीहरूमाथि मुद्दा चलाइयो। तर नेता अधिकारीले भने सफाइ पाएका थिए।
महामन्त्री थापाले त्यही घटनालाई जोड्दै उपसभामुखमाथि समान प्रकृतिको घटनामा सत्तारुढ दलहरूले गर्न खोजेको कारबाहीप्रति असन्तुष्टि जनाएका हुन्। उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन कांग्रेस-एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरेपनि महामन्त्री थापाले भने फरक मत राखेका थिए।
