गम्भीर संक्रमण देखिएका ३० प्रतिशत बिरामीको मृत्यु हुनसक्ने, बाँचेकामध्ये पनि आधा मानिसलाई आजीवन गम्भीर अपांगता
What you should know
काठमाडौँ — गत साता क्युलेक्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेई) भाइरसको संक्रमणका कारण चार जनाको मृत्यु भयो । जापानिज इन्सेफलाइटिसबाट तीन महिनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।
जेईको संक्रमण नेपालका २४ जिल्लामा फैलिइसकेको पछिल्लो तथ्यांकले देखाएको छ । संक्रमतिको संख्या पनि ६३ पुगेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार ज्यान गुमाउनेमा सबभन्दा बढी चितवनमा ३ जना, अर्घाखाँची, मोरङ, बारा, झापा, नवलपरासी पश्चिम, कैलाली, तेह्रथुम र प्यूठानमा एक/एक जना रहेका छन् । स्वास्थ्य सेवा विभागले मृत्यु हुने एक जनाको भने जिल्ला खुलाइएको छैन ।
गत वर्ष काठमाडौं उपत्यकाका एक जनासहित २५ जनाको यो रोगबाट मृत्यु भएको थियो । ८६ जना संक्रमित भएका थिए भने सन् २००५ मा प्रकोपको रूपमा फैलिएको थियो । त्यतिबेला २ हजार जनाले ज्यान गुमाएका थिए । जेईबाट हुने संक्रमण र मृत्युको संख्या चिन्ताजनक रूपमा बढिरहेको छ । देशभरका सातै प्रदेशमा यो घातक रोगको प्रकोप देखिएको छ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार आधिकारिक रूपमा यो वर्ष ६३ जना संक्रमित फेला परेपनि वास्तविक संख्या धेरै हुनसक्छ । ‘यो फैलिँदै गएको छ । संक्रमणका कारण मृत्यु हुनेमा ८ वर्षदेखि ८५ वर्षसम्मका व्यक्ति छन् । मृत्यु हुनेमा व्यक्तिमा जईसँगै निमोनिया लगायतका अन्य संक्रमण पनि देखिएको छ,’ उनले भने, ‘मृत्यु भएका व्यक्तिहरूले जेई विरुद्धको खोप नलिएका बढी छन् । सबभन्दा बढी मृत्यु चितवनमा भएको छ । संक्रमणको संख्या पनि त्यहाँ धेरै छ ।’ जापानिज इन्सेफलाइटिसको संक्रमण फैलँदो अवस्थामा देखिएकाले संक्रमण फैलिएका स्थानमा बढी सजगता अपनाउनुपर्ने डा. गौतमको सुझाव छ ।
यो रोगबाट सबभन्दा बढी जोखिम बालबालिका छन् । यसलाई मध्यनजर गरेर सरकारले सन् २०१५ देखि जई विरुद्ध खोप शिशु जन्मेको १२ महिनामा नियमित रूपमा दिंदै आइरहेको छ । तर, स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार यो वर्ष मृत्यु हुनेमा १५ वर्षभन्दा माथिका उमेर समूह बढी छन् । जसले खोप नलगाएका वयस्क उच्च जोखिममा रहेको संकेत गर्छ ।
डा. गौतमका अनुसार वयस्कहरूले पनि जेईविरुद्ध खोप लगाउन मिल्छ । ‘तर, आज लगाएर भोलिदेखि नै सुरक्षित हुने भन्ने होइन । खोपले काम गर्न करिब एक महिनाको समय लाग्छ,’ उनले भने, ‘त्यसैले अहिले लामखुट्टेको टोकाइबाट जोगिनु नै उत्तम उपाय हो ।’ उनका अनुसार क्युलेक्स जातका लामखुट्टेले जई संक्रमित जनावरहरू विशेष गरेर सुँगुर र हाँसलाई टोकेपछि मान्छेलाई टोकेमा यो भाइरस सर्न सक्छ । ‘सुँगुर र हाँसमा जेईको लोड धेरै हुन्छ । त्यसैले ती जनावरलाई टोकेर मान्छेलाई टोक्यो भने यो सर्छ,’ उनले भने, ‘तर, लामखुट्टेले टोक्दैमा सबैलाई सर्ने पनि होइन । गाउँघरमा २५० जनालाई टोक्यो भने १ जनालाई मात्रै गम्भीर खालको समस्या देखिन्छ । तर, गम्भीर संक्रमण देखिएका ३० प्रतिशत बिरामीको मृत्यु हुनसक्ने भएकाले यो निकै घातक छ ।’ उनका अनुसार संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा भने यो सर्दैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार पनि यो भाइरसबाट गम्भीर संक्रमित भएका बिरामीमध्ये करिब एक तिहाइको ज्यान लिन्छ । बाँचेकामध्ये पनि आधा मानिसलाई आजीवन गम्भीर अपांगता निम्त्याउँछ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यो रोगको कुनै निश्चित उपचार छैन । ‘प्रभावित जिल्लामा खोप अभियान चलाउनु उपयुक्त हुन्छ,’ उनले भने, ‘जई बारे व्यापक प्रचार–प्रसार गर्न जरुरी छ ।’ खोप सल्लाकार समितिका अध्यक्ष प्रा. डा. रमेशकान्त अधिकारीले तत्काल जई विरुद्धको खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरेर ५ वर्षमुनिसम्मकालाई वितरण गर्न प्रावधान मिलाउनुपर्ने बताए । ‘संक्रमितलाई राम्रो स्वास्थ्य उपचार गराउने व्यवस्था मिलाउनुपर्यो,’ उनले भने ।
गम्भीर प्रकृतिको रोग भए पनि रोकथाम गर्न न सरकारसँग वयस्कलाई लगाउन खोप उपलब्ध छ, न त लामखुट्टे नियन्त्रण गर्न बनाइएको कार्ययोजना लागू गर्न ठोस पहल भएको छ । लामखुट्टे नियन्त्रण गर्न जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय तहले पनि खासै भूमिका खेल्न सकेको छैन । स्वास्थ्य सेवा विभागका अधिकारीहरूका अनुसार ५० लाख जनसंख्यालाई पुग्ने खोप खरिद गर्न करिब डेढ अर्ब रुपैयाँ आवश्यक पर्छ । तर, सरकारसँग बजेट छैन । कुनै पनि दातृनिकाय पनि सहयोग गर्ने पक्षमा छैन ।
बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) सँग अनुदानमा खोप उपलब्ध गराउन पत्राचार गरिसकेको बताए । ‘तर, गाभीले एक पटक खोप अभियान चलाइसकेको भन्दै दोहोराएर चलाउन मानिरहेको छैन । हामीले अनुरोध गरिरहेका छौं,’ उनले भने, ‘विश्व स्वास्थ्य संगठनका अधिकारीसँग पनि रोकथाम गर्ने बारेमा छलफल भइरहेको छ ।’ उनले प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न खोप जरुरी भए तापनि कतैबाट प्राप्त हुने संकेत नदेखिएको बताए ।
जई मोरङ, बारा, झापा, सप्तरी, सिरहा, सर्लाही, पर्सा, नवलपरासी पूर्व/पश्चिम, सिन्धुली, बर्दिया, कैलाली, चितवन, अर्घाखाँची, तेह्रथुम, प्युठानमा फैलिएको छ । दाङ, गुल्मी, कपिलवस्तु, रौतहट, धनुषा, इलाम, जुम्ला, उदयपुरलगायत जिल्लामा पनि जेई संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शिशु जन्मेको १२ महिनामा दिन जई विरुद्धको खोप ५० लाख मौज्दात रहेको र यस वर्षका लागि पर्याप्त भएको बताए । ‘वयस्कहरूलाई तत्काल खोप खरिद गरेर लगाए पनि खोपले काम गर्न कम्तीमा ४–५ हप्ता लाग्छ । अहिले वयस्कलाई खोप लगाउनु भन्दा पनि ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउनु उपयुक्त हुन्छ,’ उनले भने, ‘लामखुट्टे नियन्त्रण गर्ने मुख्य हतियार ‘सर्च एन्ड डिस्ट्रोय’ हो । यसमा सबभन्दा बढी भूमिका स्थानीय तह, टोल विकास संस्था र कृषकको हुन्छ ।’
उनले सबैले आ–आफ्नो क्षेत्रबाट पहल गरेमा लामखुट्टे नियन्त्रण गर्न सकेमा जई रोग स्वतः नियन्त्रणमा आउने बताए । ‘बुँगर, सुँगुर, हाँस जस्ता पशुपन्छीको फार्म सरसफाई र सुधार र यी पशुपन्छीलाई यो रोग विरुद्ध खोप लगाउन कृषि तथा पशुपन्छी मन्त्रालयले भूमिका खेल्नुपर्यो,’ उनले भने ।
पशु सेवा विभागका निर्देशक राम नन्दन तिवारीले जई संक्रमण बढेसँगै प्रभावित जिल्लामा पशुपन्छी फार्मको स्थिति बारेमा प्राविधिकसहितको टोली पठाएर निरीक्षण भइरहेको बताए । ‘फार्म सुधार गर्न प्रदेश र स्थानीय तहलाई प्रत्येक वर्ष बजेट पनि विनियोजन गर्छौं,’ उनले भने, ‘विशेषगरी कृषकसँग प्रत्यक्ष जोडिएको स्थानीय तहले अनुगमन गर्नुपर्छ ।’
लामखुट्टेको रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ अनुसार लामखुट्टे नियन्त्रण गर्न खाल्टाखुल्डी पुर्ने तथा फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी शहरी विकास मन्त्रालय, सडक विभाग, सम्बन्धित सडक डिभिजन कार्यालय, स्थानीय तहलाई दिइएको छ । लामखुट्टेको वृद्धि–विकास नियन्त्रण गर्न पानी सञ्चय गर्ने अभ्यासको सुधार गर्न स्वास्थ्य मन्त्रालय, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागलगायतलाई जिम्मेवारी बनाइएको छ ।
त्यस्तै लामखुट्टेजन्य रोगको सचेतनाका लागि घरदैलो कार्यक्रम, चोक तथा रणनीतिक स्थानमा ब्यानर तथा पोस्टर प्रदर्शन तथा माइकिङ, भूमिगत पार्किङ स्थल, निर्माणधीन भवन, अव्यवस्थित ग्यारेज, कवाडीखानालगायत स्थानको निगरानी तथा नियमन गर्न स्थानीय तह, टोल विकास संस्था र अन्य सरोकारवाला निकायलाई दिइएको छ ।
सडक विभागका प्रवक्ता प्रभात कुमार झाले सडक खाल्डाखुल्डी मर्मत गर्न प्रत्येक वर्ष बजेट छुट्याएर नियमित रूपमा काम गर्दै आइरहेको बताए । ‘कतिपय सडक स्थानीय सरकारअन्तर्गत पर्छ,’ उनले भने, ‘कहिले खानेपानी त कहिले ढल व्यवस्थापन विभागले सडक खन्ने गरेकाले खाल्डा हुने गरेको हो ।’
विश्व स्वास्थ्य संगठनका अनुसार ‘क्युलेक्स’ जातका लामखुट्टेको टोकाइबाट जई मानिसमा सर्छ । यो लामखुट्टे बिहान, साँझ र बेलुकी बढी सक्रिय हुने गर्छ । यो भाइरस लागेमा बेस्सरी टाउको दुख्ने, तीव्र ज्वरो, बेहोस, वान्ता हुने, घाटी अररो (कडा), कम्पन, पक्षघात, कोमा जाने हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जई संक्रमित लामखुट्टेले टोकेको ५ देखि १५ दिनभित्र लक्षण देखिन सक्छ । जई एउटा मानिसबाट अर्को मानिसमा सर्दैन । संक्रमित जनावरलाई छोएर वा पशुजन्य उत्पादन खाएर मानिसमा सर्दैन ।
यो खोप एक डोज लगाएपछि जीवनभर रोगबाट बच्न सकिन्छ । सन् १९९० को दशकमा भारतमा देखिएको यो रोग नेपालमा पहिलो पटक सन् १९७८ मा रुपन्देहीमा देखिएको थियो । यो रोग जुनसुकै उमेर समूहमा देखिन सक्छ ।
