मन्त्री सुडी भन्छन् : सामाजिक सुरक्षा भत्ता गरिबलाई मात्र दिऔँ, बरु ६ हजार नै दिए हुन्छ

मन्त्री सुडीले २० प्रतिशत गरिबीको रेखामुनि रहेका जनतालाई मात्र भत्ता उपलब्ध गराउनुपर्ने र अन्यलाई रोक्नुपर्ने सुझाव दिएका छन्।

भाद्र ४, २०८२

कान्तिपुर संवाददाता

Minister Sudi says: Let's give social security allowance only to the poor, instead 6,000 is given

काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले गरिबीको रेखामुनि रहेकालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने प्रस्ताव राखेका छन् । बुधबार बसेको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्री सुडीले यस्तो प्रस्ताव राखेका हुन् । 

हाल वितरण गरिरहेको तरिकाले सामाजिक सुरक्षा भत्ता दिँदा नेपालको आर्थिक स्थितिले धान्न नसक्ने मन्त्री सुडीको भनाइ छ । उच्च पदस्थ व्यक्ति र उनीहरुका परिवारलाई सामाजिक सुरक्षा भत्ता किन चाहियो ? भन्ने उनको प्रश्न थियो । 

‘नेपालमा २० प्रतिशत मानिस गरिबीको रेखामुनि रहेका छन् । सामाजिक सुरक्षा भत्ता पहिला उसले भेट्नुपर्ने । विनोद चौधरीको आमालाई, बुबालाई किन सामाजिक सुरक्षा ? मेरो आमा, बुबा, श्रीमतीलाई किन सामाजिक सुरक्षा भत्ता ? सामाजिक सुरक्षाको बजेट हेर्नुहोस् त खराबमा छ । के नेपालले धान्न सक्ने हो ? धान्न सक्ने आर्थिक स्थिति छ ?,’उनले भने । 

सामाजिक भत्ता बढाएर भए पनि गरिबलाई मात्र दिनुपर्ने उनको भनाइ छ । 'म रुपैयाँ घटाउन भन्दिनँ, ४ हजार रुपैयाँ दिनुहुन्छ भने ६ हजार दिनुस् । तर २० प्रतिशत जो गरिबीमुनि छ, त्यसलाई दिनुस्,' उनले भने ।

हाल सरकारले ज्येष्ठ नागरिक, असहाय एकल महिला, अपाङ्गता, लोपोन्मुख जाति, बाल पोषण भत्तालगायतका शीर्षकमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । 

कान्तिपुर

Link copied successfully