उत्तराखण्डको बाढीमा परेका २१ नेपाली अझै बेपत्ता, खोजी कार्य जारी छ। खोजीमा खटिएका नेपालीहरूले आफन्त भेट्ने आशा राखेका छन्।
What you should know
कञ्चनपुर — जाजरकोटको कुशे गाउँपालिका–२ ताली गाउँका गणेशबहादुर सिंह दिनभर धरालीको बगरमा डुल्छन् । बेपत्ताको खोजी गरिरहेको भारतीय सुरक्षाकर्मीको टोलीसँगै दिनभर बगरमा डुलेर साँझ बास खोज्दै छाप्रोमा पुग्छन् । कुनै बेला घरपरिवारसँग सम्पर्क गर्न धरालीबाट दुई/तीन किलोमिटर टाढा इन्टरनेट राम्रो चल्ने ठाउँ हर्षिल पुग्छन् । दिनमा एक पटक हर्षिल पुगेर उनले घरमा कुराकानी गर्छन् ।
दुई साताअघि भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रमा क्लाउड ब्रस्टपछि खीरगंगा नदीमा आएको भीषण बाढीले धराली बजार बगरमा परिणत गरेको छ । त्यहीँ बाढीमा परेर गणेशका दाइ ६५ वर्षीय कर्णबहादुर सिंहसहित २१ जना नेपाली बेपत्ता छन् । बाढीमा परेर गणेशका गाउँका मात्रै ५ जना बेपत्ता भएको उनले बताए ।
उनका अनुसार कर्णसँगै मानबहादुर सिंह, रामबहादुर सिंह, नीमबहादुर सिंह र रोबिन सिंह बेपत्ता छन् । ‘दिनभर खोजी गर्ने टोलीसँगै बगरमा डुल्छौँ, साँझ पर्न थालेपछि बास खोज्छौँ,’ सिंहले भने, ‘बाढी आएदेखि हाम्रो दैनिकी यस्तै भएको छ ।’ उनका ज्वाइँ नाता पर्ने जाजरकोटकै भूपेन्द्र शाही पनि सँगै छन् । उनीहरू जस्तै धरालीमा रहेका सबै नेपालीको अवस्था यस्तै छ । बेपत्ता आफन्त भेटिन्छन् कि भन्ने आसमा दिनभर बगरमा डुल्ने गरेका हुन् ।
उनीहरूसँग एकातिर आफन्त बेपत्ता भएको पीडा छ भने अर्कोतिर घर फर्किन खर्च पनि छैन । अहिले बेपत्ताको खोजी कार्य पनि सुस्त भइसकेको छैन । ‘अहिलेसम्म एक जना पनि बेपत्ता भेटिएको छैन,’ शाहीले भने, ‘ठाउँठाउँमा खाल्डो खनेको छ, कुकुरले सुँघ्छन्, हेर्छन् फेरि अर्को ठाउँमा जान्छन्, यस्तै भइरहेको छ ।’
बाढीपछि उक्त क्षेत्रमा रोजगारीका लागि गएका नेपालीहरू सबै बेरोजगार भएका छन् । बाढीले ज्यालासहित लुगा कपडा र रासन सबै बगाएको अवस्थामा काम समेत नपाइएपछि नेपालीहरू झन् अलपत्र परेका छन् ।
‘अब हामी घर फर्किन चाहन्छौँ, तर यहाँबाट कसरी आउने,’ धरालीमै रहेका कैलाली टीकापुरका प्रकाश बुढाले भने, ‘हिँडेर आउन सकिने अवस्था पनि छैन ।’ उनका अनुसार ठाउँठाउँमा सडक भत्केका कारण उत्तरकाशी पुग्न समेत हिँडेरै जानुपर्ने बाध्यता रहेको छ । बाढीमा परेर प्रकाशका भाइ रमेश र बुहारी प्रिया बेपत्ता छन् । उनी पनि गणेश जस्तै भाइको खोजीका लागि सुरक्षाकर्मीको टोलीसँगै दिनभर बगरमा डुल्छन् । साँझ परेपछि सामुदायिक भान्सामा खाना खाएर स्याउ भण्डारण गर्न बनाएको छाप्रोमा सुत्छन् ।
धराली क्षेत्रमा बाढीमा परेर २१ जना नेपाली बेपत्ता रहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । तर उक्त क्षेत्रमा रहेका अन्य नेपालीको अवस्थाबारे दूतावासले वास्ता नगरेको त्यहाँ बसिरहेका मानिसहरूको गुनासो छ । घर फर्किन चाहेकाहरू पनि बाटोको समस्यादेखि खर्चको अभावका कारण अलपत्र परेका छन् ।
अहिले उक्त क्षेत्रमा रहेका नेपालीलाई स्थानीय प्रशासनबाट सामुदायिक भान्सामा खानाको व्यवस्था गरिए पनि बस्नका लागि निकै समस्या रहेको बुढा बताउँछन् । धराली क्षेत्रमा अहिले पनि एक/डेढ सय जना नेपाली छन् । जसमध्ये आधाले सोही क्षेत्रमा खेतीपातीको काम र आधाले ज्याला मजदुरी गरिरहेका थिए ।
फर्किन थाले नेपाली
बाढीका कारण धराली र गंगोत्री क्षेत्रमा ज्याला मजदुरीका लागि पुगेका नेपाली घर फर्किन थालेका छन् । सडक अवरुद्ध भएका कारण गंगोत्री यात्रा समेत रोकिएपछि नेपाली कामदार घर फर्किन थालेका हुन् । ‘गंगोत्री क्षेत्रमा रहेका नेपाली धेरै घर फर्किसकेका छन्, भएका पनि फर्किने तयारीमा छन्,’ धरालीमै रहेका जाजरकोटका भूपेन्द्र शाहीले भने, ‘यात्रा बन्द भएको छ, बाटो अवरुद्ध भएका कारण खाना बस्न समेत समस्या हुन थालेपछि फर्किन लागेका हुन् ।’
उनका अनुसार धराली क्षेत्रमा रहेका नेपाली समेत घर फर्किन थालेका छन् । ‘बेपत्ता भएका परिवारका आफन्तको शव भए पनि भेटिन्छ कि भन्ने आसमा छन्, अरू त घर फर्किन लागेका छन्,’ टीकापुरका प्रकाश बुढाले भने, ‘टीकापुरकै सात जना अस्ति मात्रै घर यहाँबाट गए ।’ उनका अनुसार दुई दिन पैदल हिँडेर उनीहरू सोमबार बिहान धरालीबाट करिब ३५ किलोमिटर टाढा रहेको उत्तरकाशी जिल्लाको सदरमुकाम पुगेका हुन् ।
हर्षिल क्षेत्रमा बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायातका साधन चलेका छैनन् । अन्य स्थानमा पनि यातायात अवरुद्ध रहेको बुढा बताउँछन् ।
‘अब हामी पनि एक/दुई दिन हेर्छौँ, नभए घर फर्केर किरिया गर्नुपर्ला,’ बुढाले भने, ‘फर्किने खर्च छैन, पाइए त एक/दुई दिन काम गरेर पनि बाटो खर्च जुटाउँथ्यौँ तर यहाँ काम पनि पाइएको छैन ।’
गंगोत्री यात्रा वैशाख/जेठदेखि असोज/कात्तिकसम्म चल्छ । सिजनको सुरु र अन्त्यतिर निकै राम्रो कमाइ हुन्छ । उक्त क्षेत्रमा एक/डेढ हजार नेपाली भारी बोक्नेदेखि होटल तथा कृषि क्षेत्रको काम गर्छन् । राम्रो चलेका बेला दिनमै दुई/अढाई हजारसम्म कमाइ हुन्छ । अहिले सिजनको मध्यमा पनि ५/७ सय भारु कमाइ हुने शाही बताउँछन् ।
तर यात्रा नै बन्द भएपछि बेरोजगार भनेर सबै घर फर्किन लागेको उनले बताए । धराली बजार पनि गंगोत्री मार्गमै पर्छ ।
