कुवेतमा विषाक्त मदिरा सेवनले १२ नेपालीको ज्यान गयो। दूतावासले उपचार र शव फिर्तीका लागि पहल गरिरहेको जनाएको छ।
What you should know
काठमाडौँ — खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका नेपाली नागरिकको शव छिट्टै ल्याउन सरकारले कुवेत सरकारसँग समन्वय गरिरहेको छ । त्यहाँ विषाक्त मदिरा सेवनबाट १२ नेपाली श्रमिकको मृत्यु भएको छ ।
परराष्ट्र मन्त्रालयले कुवेतस्थित नेपाल राजदूतावास मार्फत कुवेती सरकारसँग आवश्यक समन्वय र सहकार्य भइरहेको जनाएको छ । परराष्ट्रका प्रवक्ता लोकबहादुर क्षेत्रीले पूर्ण जबाफदेहिता र क्षमताका साथ सरकारले काम गरिरहेको बताए । बिरामीको उपचार र ज्यान गुमाएकाहरूको शव नेपाल ल्याउन आवश्यक सबै पहल भइरहेको उनले जनाएका छन् ।
विषाक्त मदिरा सेवनका कारण कुवेतको साल्मिया क्षेत्रमा रहेका नेपाली, भारतीयसहित विभिन्न एसियाली मुलुकका प्रवासी श्रमिकहरू बिरामी परेका छन् । कुवेतमा रोजगारीका लागि पुगेका १ लाख ६० हजार नेपाली छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले २३ विदेशी श्रमिकको मदिरा सेवनका कारण मृत्यु भएको गत शुक्रबार सार्वजनिक जानकारी दिएको थियो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मिथानोलयुक्त मदिरा सेवनका कारण १ सय ६० जना श्रमिक बिरामी परेको भनिएको थियो ।
कुवेतस्थित नेपाली राजदूत घनश्याम लम्सालले मदिरा सेवनका कारण बिरामी परेर ५६ जना नेपाली विभिन्न अस्पतालमा भर्ना भएकोमा १२ जनाको निधन भएको बताए । केही उपचार गरेर अस्पतालबाट निस्किसकेको र अझै २४/२५ जना अस्पतालमा उपचाररत रहेको उनले बताए ।
घटना सुन्नासाथ दूतावास सक्रिय भएको र आवश्यक सबै कदम उठाइएको उनले बताएका छन् । ‘उपचारमा रहेकाहरूको स्थिति बुझ्न हामी लगातार अस्पताल पुगिरहेका छौँ,’ उनले भने ‘अर्कोतिर ज्यान गुमाएकाहरूको शव छिटो भन्दा छिटो नेपाल पठाउन आवश्यक प्रक्रियामा जुटेका छौँ । त्यसका लागि कुवेत सरकारका स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारी, अस्पताल तथा यहाँ रहेका नेपाली कम्युनिटीसँग नजिकको समन्वयमा छौँ ।’
शुक्रबार यता कुवेत सरकारले बिरामी र मृतकको संख्या उल्लेख गरेर अर्को विज्ञप्ति निकालेको छैन । मृतक र बिरामीको संख्या बढेको अनुमान छ । कुवेतमा मदिराको उत्पादन, बिक्री,वितरण अवैध मानिन्छ । घटना पछाडि कुवेत सरकारले चलाएको अपरेसनमा अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न ७१ जनालाई प्रवासी श्रमिकलाई पक्राउ गरेको द टाइम्स कुवेतले उल्लेख गरेको छ ।
उनीहरूमध्ये सन्दिग्ध आरोपीको पहिचान गरी त्यसमाथि हत्या आरोपमा मुद्दा चलाइने तयारी छ । कुवेती प्रहरीले मदिरा उत्पादन र बिक्री वितरणको नेटवर्क ध्वस्त गरेको उक्त द टाइम्स कुवेतको समाचारमा उल्लेख छ ।
मदिरा सेवन पनि अवैध मानिने भएकोले मदिरा सेवनबाट बिरामी परेका सबैलाई उनीहरूको देशमा फिर्ता पठाउने समेत कुवेती समाचारहरूमा उल्लेख छ । उनीहरूलाई पुनः कुवेत फर्किन पाउने सम्भावना न रहने द टाइम्स कुवेतले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
त्यस्तै, कुवेत टाइम्समा लेखिएको समाचारअनुसार श्रम कानुनको उल्लङ्घनमा २ सय ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूमाथि विभिन्न कानुन उल्लंघनको आरोप छ । त्यसमा भिसा अवधि समाप्य भइसकेका मानिसहरू र मदिराको उत्पादन र बिक्री वितरणमा संलग्नहरू छन् ।
मदिरा उत्पादन नेटवर्कको नेतृत्वकर्ता बंगलादेशी नागरिक रहेको त्यस समाचारमा भनिएको छन् । पक्राउ परेका मध्ये एक जना सन्दिग्ध नेपाली नागरिकले मिथानोल आधारित पेय पदार्थ बनाउने र बेच्न गरेको स्वीकार गरेको कुवेत टाइम्स समाचारले भनेको छ ।
