१८ इन्च भुइँमा कसरी सुत्लान् महोत्तरी कारागारका कैदीबन्दी ?

महोत्तरी कारागारमा १३५ को क्षमता भए पनि ५५९ कैदी राखिएका छन्, जसले गर्दा कैदीहरूलाई १८ इन्चमा सुत्न बाध्य पारिएको छ।

भाद्र ३, २०८२

सन्तोष सिंह

How do the prisoners of Mahottari jail sleep on the 18-inch floor?

What you should know

महोत्तरी — एक जना मान्छेलाई आरामसँग सुत्नका लागि कति ठाउँ चाहिन्छ ?  साइन्स डाइरेक्ट डट कममा प्रकाशित एक अनुसन्धनात्मक लेखअनुसार सामान्यतया एक जना वयस्क मानिसलाई आरामले सुत्नका लागि २०० बाई ९० सेन्टिमिटर(७९ इन्च बाई ३५ इन्च) ठाउँ चाहिन्छ । यसमा कोल्टो फेर्न, उत्तानो र घोप्टो परेर सुत्न सकिन्छ ।

अलि कठिन अवस्थामा १७१ बाई ७६ सेन्टिमिटर(६७ बाई ३० इन्च) ठाउँ भए सुत्न सकिने उक्त अध्ययनले जनाएको छ । तर महोत्तरी कारागारको अवस्था भने फरक रहेको छ । महोत्तरी कारागारका रहेका कैदीबन्दीले १८ इन्चमै सुत्नुपर्ने बाध्यता रहेको छ । 

महोत्तरी कारागारमा अग्लो पर्खालको घेराभित्र तीनतले जीर्ण भवन त छ नै । त्यसमाथि वरिपरि जस्तापाता राखिएको टहरा, मन्दिर र पर्खालमा डोरी बाँधेर टाँगिएको त्रिपालमुनि भरिभराउ हुन्छ जलेश्वर कारागार । 

वि.सं. १९१३ सालमा निर्माण भएको राणाकालीन जलेश्वर कारागार ४/५ कठ्ठा क्षेत्रफलमा रहेको संरचना जीर्ण अवस्थामा छ । १३५ जना कैदीबन्दी अट्ने भए पनि ५ सय ५९ जनालाई अटेसमटेस गरी राखिएको छ । पछिल्लो समय अन्य कारागारमा भद्रगोल मच्चिरहँदा जलेश्वर कारागार शान्त त देखिन्छ, तर कैदीबन्दीको मन शान्त छैन । समयमै दिशापिसाब गर्न पाउँदैनन् । राति सुत्न पाउदैन । रातदिन पंखा चले पनि कोठामा शीतलता महसुस गर्न सक्दैनन् उनीहरू । हुरीबतास नआई जलेश्वर कारागारमा शीतल छाउँदैन ।  दिशापिसाब गर्न बिहानैदेखि लाइन लाग्नुपर्छ ।  

शौच गर्न त लाइन नबसी बिहान पालो नपाउने कैदीले दिनको समय जसोतसो बिताए पनि रात भने सहज छैन । २१ वटा कोठामा आकारअनुसार २० देखि ४० जनासम्म सुत्नु पर्ने बाध्यता छ । मालसामानजस्तै खाँदिएर सुत्नु पर्ने बाध्यता छ । कारागार आन्तरिक प्रशासन(कैदीहरूको समिति)ले सञ्चालन गरेको र सुत्नका लागि सबैलाई ठाउँ दिँदा प्रतिव्यक्ति १८ इन्च मिलाएर दिने गरेको कारागार प्रशासक अशोककुमार क्षेत्रीले बताए ।

How do the prisoners of Mahottari jail sleep on the 18-inch floor?

सुतेपछि कोल्टो फेर्न पनि नपाउने गरी कोठामा निसास्सिएर कतिपय कैदीबन्दी त नसुती मन्दिर, कारागार परिसरमा उभिएरै रात बिताउँछन् । राति सुत्न नपाएकाहरू मन्दिरअगाडि र त्रिपालमुनि दिउँसो सुत्ने गरेका छन् । काउन्सिल अफ युरोप्स कमिटी फर प्रिभेन्सन अफ टर्चर(सीपीटी) का अनुसार एक जना मात्रै कैदी रहने भने ६५ स्क्वायर फिट चाहिन्छ । त्यस्तै अन्तर्राष्ट्रिय रेडक्रम समितिका अनुसार त्यसका लागि कम्तीमा ५८ स्क्वायर फिट ठाउँ चाहिन्छ । यदि समूहमा राखिएको छ भने कम्तीमा एक जना कैदीलाई ४३ स्क्वायर फिट ठाउँ चाहिने सीपीटीको सुझाव छ । यसैमा रेडक्रसले भने ३७ स्क्वायर फिट चाहिने बताएको छ ।

कारागार नियमावली-२०२०(पन्धौँ संशोधन २०७९) को नियम ३८ मा जेलरले कारागारका कैदी वा थुनुवाहरूको स्वास्थ्यका लागि अन्नपानीको राम्रो प्रबन्ध गर्नुपर्ने भनिएको छ । त्यस्तै कारागारभित्र कैदी वा थुनुवा रहेका ठाँउमा पाइखाना पिसाबखानाहरू दिनदिनै चुना, फिनेल, पोटास छरेर सफा गर्नुपर्ने नियमावलीमा उल्ले छ । अब कारागारभित्र सुहाउँदा विभिन्न किसिमका मनोरञ्जन र खेलकुदको समेत व्यवस्था गर्नुपर्नेछ । 

तर जलेश्वर करागारमा १५ शौचालय र ५ स्नान घर मात्र छन् । समयमा दिसापिसा गर्न नपाउने र सुत्न समस्या भएकै कारण अधिकांस कैदीलाई ग्यास्ट्रिकको समस्या छ । दिनहुँ कैदीहरूले औषधि खानु परेको बताउँछन् । समूहमा सुत्ने तर सरसफाइ नहुदा कैदीहरूमा  छालाको रोग समान्य बनेको छ । भेटघाट हुँदा बाहिर प्रहरी र भित्र कैदीबन्दीहरूकै नाइके चौकीदारको पहराले करागारको समस्या सार्वजनिक हुँदैन । कारागारको अनुगमन हुन्छ तर झारा टार्नका लागि मात्रै । 

राजनीतिक पहुँच भएका कारागार प्रशासननिकटहरूले समिति बनाएर कैदीबन्दीलाई नै सामान बेचेर आम्दानी गरिरहेको स्रोत बताउँछ । समितिसँग मिल्नेलाई सहज तर नमिल्नेलाई सहज छैन जलेश्वर कारागार । कारागार प्रशासन भने कैदीबन्दीहरूले मुढा बनाएरै घरमा समेत पैसा पठाइरहेको दाबी गर्छ । तर यो सबैको हकमा भने लागू हुँदैन । कारागारमा रहेका कैदीबन्दी भेटेर फर्किनेहरू आफन्तहरू त्यहाँको अवस्था भद्रगोल रहेको बताउँछन् । 

कारागारमा जीर्ण भवन भएकै कारण ३५ जना महिला कैदीलाई जलेश्वर कारगारबाट २०७९ असारमा सिन्धुली सरुवा गरिएको थियो । १३५ कैदीका लागि बनेको जलेश्वर कारागारको क्षमता २ सय जना राख्ने भए पनि  ५ सय ५९ जना राखिएको छ । 'कारागार जीर्ण छ । मर्मत गर्न बजेट नहुँदा स्थानीय तहसँग समन्वय गरी सञ्चालन गरेको छु,' कारागार प्रशासक क्षेत्री भन्छन्,'कैदी राख्न समस्या छ । तर शान्ति सुरक्षा र अनुशासनमा कुनै समस्या छैन ।' नयाँ भवन बनाएर कारागार अन्यत्र सार्ने तयारी भए पनि जग्गा पाउन कठिन भएको उनले बताए । 

तराईमा भूमिगत अपराध सञ्चालन गर्ने समूहका नाइके, भूमिगत आपराधिक संगठनका कार्यकर्ताहरू एकै ठाउँमा बस्दा विगतमा समस्या भए पनि अहिले खासै समस्या नभएको जलेश्वर करागारले जनाएको छ । कारागारको त्रैमासिक अनुगमन गर्ने व्यवस्था भए पनि महिनामा २/३ पटक अनुगमन गरी कैदीहरूको अवस्था बुझ्ने गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । 'साँघुरो ठाउँ, कमजोर संरचना र मापदण्डअनुसार कैदीलाई बस्ने सुविधा उपलब्ध गराउन नसकिए पनि कारागारमा कुनै विवाद र समस्या देखिएको छैन,' उनी भन्छन् । 

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully