सर्वोच्चले यादवको रिट खारेज गर्दै मतगणना प्रक्रियालाई सहमतिमै भएको ठहर गरेको छ।
What you should know
काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्वाचनको समयमा धाँधली भएको वा अनियमितता भएको छ भने तत्कालीन समयमै प्रतिवाद वा अस्वीकार हुनुपर्ने व्याख्या गरेको छ ।
तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,न्यायाधीशहरु सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी र मनोजकुमार शर्माको संवैधानिक इजलासले २०७९ मंसिरमा भएको निर्वाचन सम्वन्धी एक विवादमा ब्याख्या गर्दै यस्तो टिप्पणी गरेको हो ।
धनुषाको निर्वाचन क्षेत्र १ (क) का उम्मेदवार सुकेश्वर यादवले दायर गरेको रिट खारेज गर्दै सर्वोच्चले पूर्णपाठमा यस्तो व्याख्या गरेको हो । जसपाका यादव नेपाली कांग्रेसका संजयकुमार महतोसँग पराजित भएका थिए ।
महतोले १० हजार ९ सय ५५ र यादवले १० हजार ९ सय ४९ मत ल्याएका थिए । यादव ६ मतले पराजित भएका थिए । सर्वोच्चको पूर्णपाठसँगै महतोले नै मान्यता पाएका छन् ।
झिनो अन्तरले पराजित भएपछि उनी सर्वोच्च अदालत आएका थिए । संवैधानिक इजलासले २ जेठ २०८१मा रिट खारेज हुने फैसला सुनाएको थियो ।
‘यादव स्वयंले सहमति जनाई सहि छापसमेत गरेको निर्णय बमोजिम भएको मत गणना कार्यलाई पछि मत परिणाम आफू अनुकूल नभएपछि अस्वीकार गर्ने कार्य विवन्धनको सिद्धान्त अनुकूल देखिएन । यस्तो आचरण न्यायिक दृष्टिकोणबाट विवेकसम्मत्, युक्तिसंगत र ग्राह्य मान्न सकिँदैन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘एकपटक सहमति जनाएको निर्णयलाई व्यक्तिगत स्वार्थका आधारमा परिवर्तन गर्ने प्रवृत्तिलाई कलुषित मान्नुपर्ने हुन्छ । अतः दोहोर्याई मतगणना गरी पाउँ भन्ने निवेदन दाबी पुग्न सक्ने देखिन आएन ।’
मतगणनाको कार्य कानुन विपरीत रहेको भन्ने नदेखिएको, निवेदकसमेत उपस्थित रहेको सर्वदलीय/सर्वपक्षीय छलफलमा भएको सहमति अनुसार नै मतगणनाको कार्य भएको पूर्णपाठमा उल्लेख छ ।
‘निवेदकले मतगणनाको सम्पूर्ण प्रक्रियामा सक्रिय सहभागिता जनाएको, मतगणना प्रक्रियालाई लिएर निर्वाचन अधिकृतसमक्ष रितपूर्वक उजुरी दर्ता गरेको भन्ने पनि नदेखिएको हुँदा प्रस्तुत निवेदन दाबि पुग्न सक्दैन,’ फैसलामा भनिएको छ, ‘उजुरी निवेदन खारेज हुने ठहर्छ । अरू तपसिल बमोजिम गर्नू ।’
यस्तो छ पूर्णपाठ
![Can't reject poll results when they don't like them: Supreme [Full text]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/supreme-court-0622024011348-1000x0-1882025082319-1000x0.jpg&w=1001&h=0)