मिडिया काउन्सिल विधेयकबारे पत्रकार महासंघको ३४ बुँदे सुझाव  

महासंघले विधेयकलाई स्वतन्त्र र व्यावसायिक बनाउन ३४ बुँदे सुझाव समितिमा पठाएको छ, जसमा नामदेखि संरचना सम्मका संशोधन समेटिएका छन्।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

34 point suggestions of Federation of Journalists on Media Council Bill

What you should know

काठमाडौँ — नेपाल पत्रकार महासंघले हाल छलफल रहेको ‘मिडिया काउन्सिल विधेयक, २०८२’ का केही दफाहरू  परिमार्जन गर्नुपर्ने मागसहित सुझाव पेस गरेको छ । आइतबार महासंघले विधेयकबारे दफावार सुझाव पेस गरेको हो ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बुझाइएको ३४ बुँदे सुझावमा महासंघले प्रस्तावित विधेयकलाई सरकारी नियन्त्रणबाट मुक्त, स्वायत्त, स्वतन्त्र र व्यावसायिक पत्रकारिताको मर्मअनुसार बनाउनुपर्नेमा जोड दिएको छ । 

महासंघले विधेयकको नाम देखि काउन्सिलको संरचना,  अध्यक्ष तथा सदस्यहरूको नियुक्ति प्रक्रिया, योग्यता,  काम कर्तव्य र अधिकार सम्मका दफाहरूमा संशोधन गर्नुपर्ने भन्दै सुझाव पेस गरेको छ ।

विधेयकको नाम ‘आमसञ्चार परिषद्’ नभई ‘मिडिया काउन्सिल नेपाल’ नै कायम गरिनुपर्ने महासंघको पहिलो सुझाव छ । ‘प्रेस काउन्सिलले अहिले पनि अनुगमनको काम गरिरहेको र मिडिया काउन्सिलको नामले नै नियामक निकाय भनेर सहजै बुझिने हुँदा नाममा सहजता कायम गर्नुपर्ने’ महासंघको तर्क छ । 

साथै, विधेयकको प्रस्तावनामा ‘नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पुर्ण प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रही’ भन्ने वाक्यांश थप गर्नुपर्ने सुझाव दिएको छ । 

महासंघले काउन्सिलको गठन प्रक्रियालाई थप समावेशी र स्वतन्त्र बनाउन प्रस्ताव गरेको छ । दफा ६ मा रहेको काउन्सिल गठन सम्बन्धी व्यवस्थामा संघीय संसद्को प्रतिनिधिसभाका सभामुखले तोकेको एक जना र राष्ट्रिय सभाका अध्यक्षले तोकेको एक जना सदस्य रहने व्यवस्था थप गर्न सुझाइएको छ ।

अध्यक्ष र सदस्य नियुक्तिको सिफारिस समितिको संरचनामा पनि महासंघले हेरफेरको प्रस्ताव गरेको छ । हालको विधेयकमा मन्त्रालयका सचिवको संयोजकत्वमा समिति रहने व्यवस्थाको सट्टा ‘संघीय प्रतिनिधि सभाको सभामुखको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष रहने गरी तीन सदस्यीय सिफारिस समिति’ गठन गर्नुपर्ने सुझाव दिएको छ । यस्तो व्यवस्थाले काउन्सिलको गरिमा कायम हुने र नियुक्ति प्रक्रिया स्वतन्त्र हुने महासंघको विश्वास छ ।

अध्यक्षको योग्यतामा ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको’ भन्ने वाक्यांशको सट्टा ‘उच्च अदालतको अवकासप्राप्त मुख्य न्यायाधीश वा न्यायाधीश, वरिष्ठ अधिवक्ता’ भन्ने वाक्यांश थप गर्न र अनुभवको अवधि १५ वर्षबाट बढाएर २० वर्ष पुर्‍याउनुपर्ने सुझाव छ । यसले काउन्सिलको गरिमा अझै बढ्ने महासंघको तर्क छ । सदस्यहरूको हकमा पनि अनुभवको अवधि १० वर्षबाट बढाएर १५ वर्ष पुर्‍याउन माग गरेको छ । 

महासंघले काउन्सिललाई स्वायत्त नियामक निकाय बनाउन सूचना तथा प्रसारण विभागको महानिर्देशक काउन्सिलको सचिव हुने हालको व्यवस्था खारेज गर्नुपर्ने जनाएको छ । यसको सट्टा खुला प्रतिस्पर्धाको आधारमा प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरिनुपर्ने र सोही व्यक्ति सदस्य सचिवको भूमिकामा रहने व्यवस्था गर्न सुझाएको छ ।

त्यस्तै, काउन्सिलले आफ्नो वार्षिक प्रतिवेदन मन्त्रालयमार्फत नेपाल सरकारलाई नभई सीधै राष्ट्रपतिसमक्ष पेस गर्न पाउनुपर्ने माग राखेको छ  । महासंघले ‘पारिश्रमिक लिई वा नलिई’ भन्ने वाक्यांश हटाउन माग गरेको छ, किनभने यो श्रमजीवी पत्रकार ऐनविपरीत छ । 

साथै, पत्रकारलाई प्रेस प्रतिनिधि परिचयपत्र दिने व्यवस्था काउन्सिलले नभई आमसञ्चार प्राधिकरणजस्ता निकायले गर्नुपर्ने भन्दै विधेयकको दफा २७ हटाउन प्रस्ताव गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully