सुकुम्बासीको छोरालाई अध्यक्ष मान्नुपर्‍यो भनेर पीर गर्ने मान्छे पनि छन् : लिङ्देन

'राजनीति पेसा होइन, राजनीतिले खानलाउन दिँदैन । राजनीति गर्छु भन्ने हरेक मानिसले सानो भन्दा सानो भए पनि पेसा व्यवसाय गर्नुपर्छ'- लिङ्देन

भाद्र १, २०८२

कान्तिपुर संवाददाता

There are also people who complain that the son of a squatter should be considered as the president: Lingden

What you should know

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति पेसा नभएको बताएका छन् । उनले आफू सुकुम्बासीको छोरा भएकाले अध्यक्ष स्वीकार्न नसक्नेहरू रहेको पनि बताएका छन् ।

राप्रपाको महिला संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले सुकुम्बासीको छोरा भएकैले अध्यक्ष मान्न स्वीकार नगर्नेहरू रहेको बताएका हुन् । आफू निम्न वर्गीय परिवारमा हुर्किएको पनि उनको भनाइ थियो ।

राजनीतिमा संलग्न भएपछि आफूले कुनै बेइमानी नगरेको लिङ्देनको भनाइ थियो । पार्टीभित्र विवाद चलिरहेको बेला उनले आफूलाई अध्यक्ष स्वीकार नगर्नुको कारण पनि सुकुम्बासी निम्न परिवारको रहनु भएको बताए । 'कतिपय साथीहरूले म एकदमै निम्न वर्गीय परिवारबाट आएको मान्छे हुँ भनेर मैले भन्छु नी होइन, त्यो भन्दाखेरी कति कतिले मलाई हेपेर पनि व्यवहार गर्छन्,' लिङ्देनले भने, 'पहाडबाट कोदो खान नपुगेर मधेस झरेको, झापाको सुकुम्बासीको छोरा, यसलाई अध्यक्ष मान्नुपर्‍यो भनेर पीर गर्ने मान्छे पनि छन् । तर आफ्नो अवस्थामा हिनताबोध गर्नु हुँदैन ।'

आफू सुकुम्बासी परिवारको भए पनि बेइमान नभएको लिङ्देनको भनाइ थियो । 'म सुकुम्बासी परिवारबाट आएको हुँला तर मैले खाने गाँसमा, लगाउने कपडामा बेइमानीको अंश छैन,' उनले भने ।

त्यस्तै, लिङ्देनले ५० हजार रुपैयाँ पारिश्रमिकको लागि कुनै युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्ने बताए । देशभित्रै रहेको जलस्रोतको उपयोग गरी उद्योगधन्दाको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

नेपाललाई संसारकै राम्रो देश बनाउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको पनि उनको भनाइ थियो । 'यो देशभित्रै रहेको जलस्रोतको उपयोग गरेर, देशमा उद्योगधन्दाको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गर्ने, ४०/५० हजार तलबको लागि हाम्रा कुनै युवाले विदेश जान नपर्ने परिस्थिति निर्माण गर्ने र नेपाल राम्रो छ, यसलाई संसारकै राम्रो देश बनाउने जुन अभियानमा हामी लागेका छौँ,' उनले भने, 'त्यो अभियान हाम्रो महिला संगठन सशक्त, बलियो र अग्रसर नबनेसम्म सम्भव छैन । राजनीति पेसा होइन, राजनीतिले खानलाउन दिँदैन । राजनीति गर्छु भन्ने हरेक मानिसले सानो भन्दा सानो भए पनि पेसा व्यवसाय गर्नुपर्छ ।'

जिल्ला विकास समिति झापाको सभापति भइसकेपछि पनि आफूले माइक्रोबस चलाएको स्मरण गर्दै उनले काम गर्न लाज मान्न नहुने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully