पौने २ अर्ब जरिवाना र जेल सजायको माग दाबीसहित ललितपुर जिल्ला अदालतमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।
What you should know
काठमाडौँ — राजस्व अनुसन्धान विभागले चिनियाँ विद्युतीय चुरोट (भेप) को अवैध कारोबारको अभियोगमा सिल्क ग्रुप प्रालिका अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध पौने दुई अर्ब जरिवाना र जेल सजायको माग दाबीसहित ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
चीनसँगको आयात व्यापारमा झन्डै सय वटा कन्टेनरमार्फत ढुवानी सेवा सञ्चालन गर्दै आएको सिल्कले विगतदेखि नै अवैध धन्दा गर्दै आएको शंकामा विभागले अनुसन्धान गरेको थियो ।
गत पुस २२ मा सिल्कको गोदाम महालक्ष्मी नगरपालिका–४ शीतलहाइटबाट चोरी पैठारी गरी लुकाइराखेको अवस्थामा ८६ हजार ४ सय थान भेप बरामद गरेको थियो । विभागले त्यसको भोलिपल्टै सिल्क ग्रुपअन्तर्गत सञ्चालित बालकुमारी र नक्साल गोदामबाट कागजपत्र र कम्युटर डिभाइस बरामद गरेको थियो । सोही आधारमा खोज्दै जाँदा भेटिएको थप प्रमाणका आधारमा अध्यक्ष शेर्पा, सिल्कका कर्मचारी विजय शेर्पा (रमेशका भिनाजु) लाई मुख्य अभियुक्त बनाएर मुद्दा दाएर गरिएको हो ।
सिल्कको आयात बन्द भए पनि काठमाडौं लगायतका मुख्य सहरमा भेप खुलेआम बिक्री भएको भेटिएपछि अनुसन्धानलाई तीव्रता दिइएको थियो । सरकारले भेपको आयात बन्द गरेको छ । तर अध्यक्ष शेर्पाले तातोपानी भन्सारबाटै भेप भित्र्याउने गरेका थिए । उनी अहिले सम्पर्कमा छैनन् ।
विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जारी गरेको विवरणअनुसार सिल्कले भेप राख्न प्रयोग गरेको गोदामका सञ्चालक महेशप्रसाद पाठक र सिल्ककै कर्मचारी सन्तोष पराजुलीलाई मतियारका रुपमा मुख्य अभियुक्तभन्दा आधार सजाय माग गरिएको छ ।
तातोपानीमा बसेर सबै व्यवस्थापन विजयले नै मिलाउने गरेका थिए । अहिले पनि तातोपानी भन्सारले आफ्नो गोदाममा सिल्कले गत चैतमा ल्याएको भेप सुरक्षित राखेको छ ।
वाणिज्य विभागले आयातमा प्रतिबन्ध नलगाएको तर स्वास्थ्य मन्त्रालयको परिपत्रले भेप आयात रोकिँदै आएको छ । विभागका अनुसार सिल्क अन्तर्गतका अन्य विभिन्न पाँच वटा कम्पनी खडागरी मौज्दात रहेको ३८ हजार ९ सय २४ थान भेप बिलबिजक जारी नगरी बिक्री गरेको देखिएको छ । सिल्क ग्रुप र अन्तर्गतका सात वटा फर्मले भन्सार नाकाबाट चोरी पैठारी गरी ल्याएको कुल ३ लाख १६ हजार ३ सय १५ थान भेपको स्थानीय खरिद गरेको नक्कली कागज देखाइएको छ । साथै एकभन्दा बढी तहमा नक्कली कारोबार सिर्जना गरी खरिदको स्रोत देखाई नपाउने मूल्य अभिवृद्धि कर(भ्याट) कट्टीसमेत गरी राजस्व चुहावट गरेको देखिएको विभागले जनाएको छ ।
विभिन्न मितिमा अवैध रुपमा आयात गरेर गोदाममा राखेको भेप गत पुसमा बरामद भएको घटनामा यस अघि नै मुद्दा दायर गरिएको थियो । मुद्दा दायर गरेपछि पनि थप अनुसन्धानको क्रममा अहिले अर्को मुद्दा चलाइएको हो ।
भेपको अवैध आयात तथा नक्कली खरिद तथा बिक्री देखाएर गरिएको सबै घटनामा प्रतिवादीहरुबाट ८७ करोड ३१ लाख २३ हजार ८ सय ५० राजस्व चुहावटको भएको देखिएको छ । सोही आधारमा उक्त रकम बिगो कामय गरिएको हो । बिगो कायम गरिएको रकम बराबर नै जरिवाना कायम गर्दा प्रतिवादीबाट १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार ६ सय ५७ असुल्नुपर्ने बेहोरासहितको मुद्दा ललितपुर जिल्ला अदालतमा बिहीबार दर्ता गरिएको जानकारी विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
प्रतिवादी रमेश र विजयसहित १० जनालाई हदैसम्मको जेल सजाय पनि माग गरिएको छ । भेप आयात र गोदाम गर्ने क्रममा सहयोगी भूमिका निर्वाह गरेका पाठक र पराजुलीलाई मतियारको रुपमा मुख्य अभियुक्तहरुभन्दा आधा सजाय माग गरिएको छ ।
