श्रीमान्–श्रीमतीको झगडा मिलाउन पुगेको प्रहरीले भेट्यो पेस्तोल

भागेका दराईलाई प्रहरीले बिहान करिब ११ बजे टोखा नगरपालिका–९ स्थित एक होटलको कोठाबाट पक्राउ गरेको थियो ।

श्रावण ३०, २०८२

विवेक पोख्रेल

The police found a pistol when the husband and wife had come to settle the dispute

काठमाडौँ — काठमाडौं महानगरपालिका–१६, चमतीमा डेरा गरी बस्ने एक दम्पतीको झगडा मिलाउन पुगेको प्रहरीले कोठाबाट पेस्तोल बरामद गरेको छ । बिहीबारराति  १२ बजेतिर शिवराज दराईकी श्रीमतीले आफूलाई श्रीमान‍्ले कुटपिट गरेको भन्दै प्रहरीलाई खबर गरेपछि टोली घटनास्थल पुगेको थियो ।

‘श्रीमान्–श्रीमतीको झगडाको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले भने,‘प्रहरी पुगेपछि शिवराज दराई भागे । त्यसपछि शंका लागेर कोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अटोमेटिक पेस्तोल एक थान, मालाग्नेम्याग्जिन दुई थान र सात राउन्ड गोली बरामद भएको छ ।’ 

भागेका दराईलाई प्रहरीले बिहान करिब ११ बजे टोखा नगरपालिका–९ स्थित एक होटलको कोठाबाट पक्राउ गरेको थियो । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ का २९ वर्षीय उनी चमतीमा कोठामा बस्दै आएका थिए । बोहराका अनुसार दराईविरुद्ध यसअघि पनि २०७८ असोज १८ गते अभद्र व्यवहार र ०८० कात्तिक १९ गते लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको थियो । 

अहिले पेस्तोल बरामद भएपछि हातहतियार खरखजाना मुद्दामा थप अनुसन्धान भइरहेको छ । बोहराका अनुसार प्रारम्भिक बयानमा दराईले कहिले भारतबाट त कहिले यार्सागुम्बा खोज्न जाँदा पेस्तोल भेटेको दाबी गरेका छन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully