गणपूरक संख्या नपुगेपछि लेखा समितिको बैठक स्थगित

कुल २६ जना सदस्य रहेको उक्त समितिमा १२ जना सांसद मात्रै उपस्थित थिए ।

श्रावण ३०, २०८२

रासस

The meeting of the Audit Committee was postponed after the quorum was not reached

काठमाडौँ — प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठक गणपूरक सङ्ख्या अपुग भएपछि स्थगित भएको छ । समितिका सचिव एकराम गिरीका अनुसार आजको बैठकमा १२ जना सांसद मात्रै उपस्थित थिए । कुल २६ जना सदस्य रहेको उक्त समितिमा गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो । 

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ अनुसार समितिको गणपूरक सङ्ख्या तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुने व्यवस्था रहेको छ ।

आजको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल गर्ने कार्यसूची थियो । मालवाहक सवारी साधनको भारबहन क्षमतासम्बन्धी विद्यमान कानूनी प्रावधान कार्यान्वयन तथा नियमन हुन नसकेको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले समितिमा उजुरी गरेको थियो । 

मालबाहक सवारी साधनको भारवहनसम्बन्धी निर्देशिका, २०७४ ले निर्धारण गरेको मापदण्डभन्दा विपरीत वजन बोकेर सञ्चालन गर्दा पुल र सडकको अवस्था बिग्रेको तथा दुर्घटनाको जोखिम बढेको भन्दै समितिमा उजुरी परेको हो ।

रासस

Link copied successfully