प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कने कल्पना बाहिरको कुरा भएको र जनताको शासन जनताकै हातमा रहने यो प्रणाली सबभन्दा उत्तम भएको बताए ।
What you should know
महोत्तरी — प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी चीन र भारतसँगको सम्बन्ध सुदृढ भएको बताएका छन् । 'हाम्रा छिमेकीहरुसँग बढो राम्रो सम्बन्ध बनाउँदै छौं,' उनले भने, ‘छिमेकी देशहरुले हामीलाई सहयोग गरिरहेको छ । चीन भ्रमणमा जाँदै छु । चीनबाट आएर भारत भ्रमणमा जानुछ । एक महिनाभित्रै चीन र भारत जाँदै छु । सबैतिर सम्बन्ध राम्रो हुँदै छ । देशमा रहेको बितण्डा, आतंक, राजा फर्काउन इतिहासको पाना पछाडि फर्काउन खोज्नेहरु पनि साम्य भइसकेको छ ।’
महोत्तरीको सोनमा सडक शिलान्यासपछि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कने कल्पना बाहिरको कुरा भएको र जनताको शासन जनताकै हातमा रहने यो प्रणाली सबभन्दा उत्तम भएको बताए । ओलीले राजतन्त्रको पक्षमा उभिएका शक्तिहरू स्वाभाविक रूपमा महत्त्वहीन बन्दै आफैं सकिएर जाने दाबी गर्दै मुलुकमा लोकतन्त्र र गणतन्त्रको प्रतिस्पर्धा सम्भव नभएकोले राजावादी धार धराशायी हुने उनको टिप्पणी छ ।
ओलीले पछिल्ला वर्षहरूमा मुलुकको विकास तीव्रगतिमा अघि बढेको दाबी गर्दै गास, बास र कपासको सुनिश्चितता गर्नु वर्तमान सरकारको प्रमुख दायित्व भएको उल्लेख गरे । मुलुकका भविष्यका योजनाहरुको चर्चा गर्दै उनले नेपालमै भेटिएको प्राकृतिक ग्यासको उपयोग अघि बढाइएको बताए । 'अब केही वर्षमै नेपालीले विदेशी ग्यासमा आश्रित हुनुपर्ने अवस्थाको अन्त्य हुने छ,' ओलीले भने, ‘यहाँ भेटिएको ग्यास प्रशोधन गरेर आगामी वर्षदेखि घर–घरमा पुर्याउने तयारी भइरहेको छ । फलामको खानी भेटिएको छ । नेपालमै एक सय वर्ष पुग्ने फलाम छ । यसलाई प्रयोगमा ल्याउन हामि लागि परेका छौं ।’
राष्ट्रिय गौरवको रूपमा जनताको पहुँच विकासमा पुगेको उल्लेख गर्दै सहरी क्षेत्रबाट गाउँसम्म सडक, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यका संरचना विस्तार हुँदै गएकोले मुलुकको समृद्धि, सुशासन र स्थायित्वका लागि सबै देशभक्त शक्ति एकजुट हुनुपर्ने ओलीले बताए ।
कृषिलाई आधुनिकीकरणको नाममा मेयर कृषि, उपमेयर कृषि, मुख्यमन्त्री कृषि कार्यक्रमजस्ता नामलाई हटाउँदै प्रदेश कृषि आयोजना, पालिका कृषि आयोजना जस्ता नामकरण गर्न आग्रह गरे । महोत्तरीमा सुक्खाग्रस्त अवस्थाबारे बुझन आएको बताउँदै अहिले खेतमा धान रोपिएको देख्दा खुशी लागेको उनले बताए । सुक्खाग्रस्त हुन नदिन तत्कालका लागि डिप बोरिङबाट समस्या समाधान गर्ने प्रयास भइरहेको बताए ।
