शुक्रबार बसेको परिषद् बैठकले विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टलाई तोक्न सिफारिस गरेको हो ।
काठमाडौँ — न्याय परिषद्ले विशेष अदालतमा अध्यक्षसहित ५ न्यायाधीश नयाँ तोक्न सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद् बैठकले विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्टलाई तोक्न सिफारिस गरेको हो ।
उनी यसअघि उच्च अदालत जनकपुरमा कार्यरत रहेका थिए । त्यस्तै, सदस्यहरुमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालालाई तोक्न सिफारिस गरिएको छ । रावल र श्रेष्ठ उच्च अदालत सुर्खेत अनि कोइराला उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा कार्यरत थिए ।
विशेष अदालतका न्याय परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । विशेष अदालतका वर्तमान अध्यक्ष टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुरमा सरुवा गरिएको छ । भ्रष्टाचारका मुद्दा सुनुवाइ गर्ने अदालतमा कुँवर नेतृत्वमा आएपछि उल्लेख्य सुधार हुँदै धमाधम मुद्दा फैसला भएका थिए ।
