काउन्सिलमा दर्ता हुनेको अनुपातमा ७४ प्रतिशत चिकित्सक विदेश पलायन हुने गरेको सरकारी तथ्यांक, नियुक्तिमा हुने दलीय भागबन्डाले चिकित्सक पलायन दर अझ बढाउने जोखिम, गंगालालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइराला पनि राजीनामा दिएर अमेरिका गए
What you should know
काठमाडौँ — काम गर्ने अनुकूल वातावरण नभएको भन्दै चिकित्सकहरू विदेश पलायन हुने क्रम बढिरहेका बेला सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा राजनीतिक भागबन्डाबाट कार्यकारी नेतृत्व छान्ने गलत अभ्यासलाई निरन्तरता दिइरहेको छ । मंगलबार मात्रै पोखरा, पाटन, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्तारूढ दल कांग्रेस र एमालेको भागबन्डामा उपकुलपति नियुक्ति गरिएको छ ।
यसै पनि नेपालमा दर्ता हुनेमध्ये ७४ प्रतिशत चिकित्सक आकर्षक रोजगारी, वृत्ति विकास र अध्ययनका लागि विदेश पलायन हुने गरेको सरकारी तथ्यांक छ । त्यसमा भर्खरै अध्ययन पूरा गरेका देखि उपचार अभ्यासमा पोख्त चिकित्सकसमेत पर्छन् । नेपाल मेडिकल काउन्सिलमा सन् २०२० देखि २०२३ सम्म ८ हजार ६ सय २४ चिकित्सक दर्ता भएका थिए भने यही बीचमा ६ हजार ३ सय ६८ जनाले विदेश जान असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिएका थिए ।
सन् २०२३ मा २ हजार ३ सय १८ चिकित्सकले विदेश जाने प्रमाणपत्र लिएको काउन्सिलको तथ्यांक छ । यो वर्ष २ हजार ६ सय ९२ नयाँ चिकित्सक काउन्सिलमा दर्ता भएका थिए । त्यसअघि २०२२ मा २ हजार ८५ नयाँ चिकित्सक दर्ता भएका थिए भने १ हजार ९ सय ५४ चिकित्सकले विदेश जान प्रमाणपत्र लिएका थिए । यस्तै २०२१ मा १ हजार ७ सय १६ नयाँ चिकित्सक दर्ता भएका थिए । त्यो वर्ष १ हजार ३ सय २७ ले विदेश जान प्रमाणपत्र लिए । २०२० मा २ हजार १ सय ३१ नयाँ चिकित्सक दर्ता भएको र ७ सय ६९ चिकित्सकले विदेश जान प्रमाणपत्र लिएको तथ्यांक छ ।
नेपालमा करिब ३५ हजार चिकित्सक दर्ता छन् । २०२० यता वार्षिक २ हजारदेखि साढे २ हजारसम्म चिकित्सक काउन्सिलमा दर्ता हुने गरेका छन् । २० भन्दा बढी मुलुकमा नेपाली चिकित्सक गइरहेको काउन्सिलको प्रतिवेदनमा उल्लेख छ ।
अमेरिका, बेलायत, माल्दिभ्स, यूएई, अस्ट्रेलिया, भारत, क्यानडा, जर्मनीलगायतका देशमा नेपाली चिकित्सकको आकर्षण बढी देखिएको तथ्यांक छ । २०२३ मा ८ सय ४३ चिकित्सकले अमेरिका जान प्रमाणपत्र लिएका थिए । बेलायतका लागि ५ सय ५, माल्दिभ्स जान ३ सय ९५, भारत जान १ सय ८६, अस्ट्रेलियाका लागि १ सय ६६, यूएई जान १ सय ४२ जनाले प्रमाणपत्र लिए । २०२२ मा बेलायत जान ५ सय ९२, अमेरिका जान ४ सय ९६ र माल्दिभ्सका लागि ४ सय ५३ चिकित्सकले प्रमाणपत्र पाएका थिए ।
यही पृष्ठभूमिमा ४ चिकित्सा शिक्षण संस्थामा सत्तारूढ दुई दलले भागबन्डा गरेका छन् । स्वास्थ्यमन्त्री तथा सहकुलपति प्रदीप पौडेलको सिफारिसमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले पाटनमा बुद्धिप्रसाद पौडेल, पोखरामा भरतबहादुर खत्री, बीपी (धरान) मा विक्रमप्रसाद श्रेष्ठ र कर्णाली (जुम्ला) मा पुजनकुमार रोकायालाई उपकुलपति नियुक्ति गरेका छन् ।
पाटन र पोखरामा एमालेबाट पौडेल र खत्री तथा बीपी र कर्णालीमा कांग्रेसबाट श्रेष्ठ र रोकाया नियुक्त भएका हुन् । नियुक्तिमा हुने यस्तो भागबन्डाले चिकित्सक पलायन हुने दर अझै बढाउने जोखिम रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । नवनियुक्त उपकुलपति मध्ये पौडेल बाथरोग तथा खत्री, श्रेष्ठ र रोकाया भने हाडजोर्नी विशेषज्ञ हुन् ।
‘सर्टलिस्ट’ मा परेका प्राध्यापक कृष्ण गिरी र सूर्यमान मेन्याङ्बोलाई पन्छाउँदै सहप्राध्यापक रोकायालाई उपकुलपति बनाइएको हो । चार उपकुलपतिका लागि ५५ जनाले आवेदन दिएका थिए । कांग्रेस र एमालेबीच दुई–दुई पदमा भागबन्डा मिलेपछि ‘सर्टलिस्ट’ सार्वजनिक गरिएको थियो ।
‘सर्टलिस्ट’ मा परेका वरिष्ठ र योग्यलाई समेत पन्छाएर राजनीतिक भागबन्डामा उपकुलपति नियुक्ति गरिएको भन्दै आलोचना भइरहेको छ । उपकुलपति चयनलगत्तै ‘सर्टलिस्ट’ का मुटु रोग विशेषज्ञ चिकित्सक रामेश कोइरालाले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबाट राजीनामा दिएका छन् । उनी त्यहाँ कार्डियोभास्कुलर विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन हुन् ।
हाल अमेरिका पुगेका कोइरालाले सामाजिक सञ्जालबाट राजीनामा पत्र सार्वजनिक गर्दै लेखेका छन्, ‘एक्कासि सीप, देश र पेसा छाड्दा मन अमिलो भो ।’ उनले ३० असोजदेखि लागू हुने गरी राजीनामा स्वीकृत गराएर सञ्चालक समितिलाई समेत जानकारी दिन केन्द्रका कार्यकारी निर्देशकलाई आग्रह गरेका छन् ।
कोइरालाले बीपी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका थिए । स्वास्थ्यमन्त्री पौडेलले उनलाई पोखराको उपकुलपतिमा सिफारिस गर्न खोज्दा सुरुमै रोकिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।
पौडेल संयोजकत्वको गत १४ जेठमा गठित सिफारिस समितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य थिए । ‘एमाले पाटन र पोखरा तथा कांग्रेस बीपी र कर्णाली प्रतिष्ठानको उपकुलपति छाड्न नसक्ने अडानमा थिए,’ ती अधिकारीले भने, ‘पोखरा एमाले कोटामा परेको भन्दै त्यताको सर्टलिस्टबाट रामेशको नाम हटाइयो । बीपीमा सिफारिस त गरियो तर नियुक्ति दिइएन ।’
चिकित्सकसमेत रहेका बिच्छा परराष्ट्रमन्त्री आरजु राणा देउवाको सिफारिसमा योजना आयोगमा नियुक्त भएका थिए । उनले नै कोइरालालाई उपकुलपति बनाउन नसकिने पार्टीका नेताहरूको भनाइ रहेको भन्दै सिफारिस समितिमा फरक मत राख्दै आएका थिए ।
कांग्रेस महामन्त्री गगन थापा र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले रामेशलाई उपकुलपति बनाउन पटक–पटक सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । ‘सुरुमा सभापतिले गृहमन्त्री रमेश लेखकसँग कुरा गर्नू भनेर टार्नुभयो । त्यसबीचमा आरजुले सभापति र समितिका सदस्यमार्फत रामेशलाई नबनाउन भनिसक्नुभएको थियो,’ स्वास्थ्यमन्त्रीनिकट एक नेताले भने, ‘समितिमा रहेका बिच्छाले माथिको आदेश छ भनेर सिफारिस गर्न चाहनुभएन । फेरि सभापतिलाई मनाउन जाँदा उहाँले मैले कसैलाई वचन दिइसकेको छु, रामेश हुँदैन भन्नुभयो ।’
थापा स्वास्थ्यमन्त्री हुँदासमेत उनलाई बीपी प्रतिष्ठानको उपकुलपति बनाउन सिफारिस गरिएको थियो । तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसभित्रकै राजनीतिको दबाबमा राजकुमार रौनियारलाई उपकुलपति नियुक्त गरेका थिए । रौनियार पद दुरुपयोग गरेको आरोपमा केही समयमै निलम्बनमा परे ।
कोइरालाले राजीनामापत्रमा हृदयरोग केन्द्रलाई स्नायु केन्द्रसमेत बनाउन कांग्रेस महामन्त्री थापा र स्वास्थ्यमन्त्री पौडेलले सहयोग गर्ने विश्वाससमेत व्यक्त गरेका छन् । ‘संघीय सरकारले यस केन्द्रलाई मुटुबाट विस्तार गरी यसै वर्षदेखि सहिद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्रका रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका लागि हरदम उपलब्ध हुने नै छु,’ उनले लेखेका छन् ।
बीपीको ‘सर्टलिस्ट’ मा श्रेष्ठ र कोइरालासहित कृष्णकुमार राई, पशुपति चौधरी, प्रह्लाद कार्की र रोहितप्रसाद यादव थिए । पाटनमा पौडेलसहित गेहनाथ बराल, दीपक थापा मगर, पवनकुमार शर्मा, विष्णुप्रसाद शर्मा, श्रीजना श्रेष्ठ ‘सर्टलिस्ट’ मा परेका थिए । पोखराका लागि खत्रीसहित अर्जुन आचार्य, चण्डिका पण्डित, नारायणसिंह गुरुङ, विधाननिधि पौडेल र माया लामा ‘सर्टलिस्ट’ मा थिए । कर्णालीमा रोकायासहित एलिजा श्रेष्ठ, डबलबहादुर धामी, पवनजंग रायमाझी, श्रीकृष्ण गिरी र सूर्यमान मेन्याङ्बोलाई ‘सर्टलिस्ट’ राखिएको थियो ।
चिकित्सा शिक्षाका विज्ञ तथा त्रिविका पूर्वप्राध्यापक जगदीशप्रसाद अग्रवालले प्रतिष्ठानमा भागबन्डाबाट उपकुलपति नियुक्ति हुनु गलत भएको टिप्पणी गरे । ‘वरिष्ठताका आधारमा पदाधिकारी नियुक्त हुनुपर्ने हो, भागबन्डाले संस्थालाई हित गर्दैन,’ उनले भने, ‘भागबन्डाबाट नियुक्त भएकाहरू योग्य नै देखिन्छन् तर किन उनीहरूलाई नै नियुक्ति गरियो ? नियुक्ति गर्नेलाई नै थाहा होला ।’
सत्तारूढ दलनिकट एक चिकित्सकका अनुसार ती प्रतिष्ठानमा रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकलगायत उच्च पदमा पनि कांग्रेस–एमाले भागबन्डाबाटै नियुक्ति गर्ने समझदारी बनेको जानकारी दिए । ‘उपकुलपति एमालेले पाएका प्रतिष्ठानमा कांग्रेस कोटाबाट अन्य पदमा र कांग्रेसले उपकुलपति पाएका ठाउँमा एमालेबाट रिक्त पदमा नियुक्त गर्ने समझदारी छ,’ उनले भने ।
नेपाल चिकित्सक संघले नेपाली चिकित्सकहरूको बसाइँसराइ प्रवृत्ति विश्लेषण र नीतिगत प्रभाव विषयमा सन् २०२४ मा अनुसन्धानमूलक लेख प्रकाशन गरेको थियो । त्यसमा चिकित्सकहरू विदेश पलायन हुनुको प्रमुख कारण जागिरको असन्तुष्टि रहेको उल्लेख छ । उचित मूल्यांकन नहुनु, न्यून तलब सुविधा, लामो ड्युटी र धेरै कामलाई असन्तुष्टिको कारण औंल्याइएको छ । स्वास्थ्य मन्त्रालयको विज्ञ सम्मिलित एक अध्ययन समितिले पनि नेपाली चिकित्सक विदेश जानुको कारणमा वृत्ति विकासको अभाव, न्यून तलब सुविधा, अध्ययन–अनुसन्धानलगायतलाई औंल्याएको छ ।
कुन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा को उपकुलपति ?
पाटन : बुद्धिप्रसाद पौडेल
पोखरा : भरतबहादुर खत्री
बीपी : विक्रमप्रसाद श्रेष्ठ
कर्णाली : पुजनकुमार रोकाया
