कारागारमा क्षमताभन्दा बढी कैदी राख्दा हिंसात्मक घटना र मानवअधिकार उल्लंघनकाे समस्या देखियाे : साउद

साउदले कारागारको भीडभाड घटाउन, वैकल्पिक सजाय र स्वास्थ्य सेवामा सुधार ल्याउन सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

The problem of violent incidents and human rights violations is seen when prisoners are kept in prisons beyond capacity: Saud

What you should know

काठमाडौँ — कांग्रेस सांसद एनपी साउदले देशभरका कारागारमा देखिँदै आएका विभिन्न समस्याहरूको दीर्घकालीन समाधानका लागि संसदीय अध्ययन समिति गठनको माग गरेका छन् ।  प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले कारागारहरूमा देखिने गरेका विभिन्न समस्या समाधानको दीर्घकालीन समाधानका लागि संसदीय अध्ययन समिति गठनको माग गरेका हुन् । 

‘गृह प्रशासन सुधार योजना, २०७८ अन्तर्गत जारी कारागार सुधार अवधारणापत्र, २०७९ को प्रतिवेदन कार्यान्वयन गर्न तथा कारागार सुधारसम्बन्धी प्रक्रियाको व्यापक अध्ययन गरेर यो समस्याको दीर्घकालीन रुपमा समाधान गर्न एउटा संसदीय अध्ययन समिति गठन गर्न माग गर्दछु,’ साउदले भने ।

कैदीबन्दीहरू पनि समाजका नागरिक भएकोमा जोड दिँदै नेता साउदले उनीहरूको अधिकारको रक्षा गरेर सुधारको बाटो देखाउनु नै सभ्य र उत्तरदायी राज्यको पहिचान भएको बताए । 

पूर्वपरराष्ट्रमन्त्री साउदले सरकारलाई तत्कालै ठोस र दीर्घकालीन सुधार योजना ल्याउन आग्रह गरे । कारागारको संरचना सुधार र क्षमताअनुसारको संरचना निर्माण गरेर स्वास्थ्य सेवा, स्वच्छता, पौष्टिक आहार र मानसिक स्वास्थ्य कार्यक्रमहरूको सुनिश्चितता गरिनुपर्ने उनको भनाइ थियो । 

साउदले कारागारमा भीडभाड कम गर्न वैकल्पिक सजायको व्यवस्था र हिंसात्मक घटना रोकथामका लागि तालिमप्राप्त जनशक्ति र सुरक्षा संयन्त्रको सुदृढीकरण हुनुपर्ने पनि बताए । उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुनःस्थापना र पेशागत तालिम कार्यक्रम विस्तारमा पनि जोड दिए । कानूनले तोकेको स्वास्थ्य सेवा, पौष्टिक खाना, स्वच्छ पानी, मनोरञ्जन र पुनःस्थापना कार्यक्रमको व्यवस्था अधिकांश जेलमा पर्याप्त नभएको साउदले बताए । 

उनले राष्ट्रिय मानव अधिकार आयोगलाई उद्धृत गर्दै साउन २४ गते कैलाली कारागारमा कैदीबन्दीहरूबीच भएको मुठभेडबाट उत्पन्न घटना, वीरगञ्ज कारागारमा कैदीको मृत्यु, रुपन्देही जिल्ला कारागारलगायत अन्य जिल्लाका कारागारहरूमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिँदा न्यूनतम मानव अधिकारको संरक्षणसमेत हुन नसकेको अवस्था रहेको बताए ।  

साउदले देशभरका ७५ वटा कारागारमा झण्डै १८ हजार २८३ कैदी र १० हजार ४३५ जना थुनुवा गरी २८ हजार ७१८ कैदीबन्दी रहेका पनि सदनलाई जानकारी गराए । ‘त्यसबाहेक १४२७ जना विदेशी नागरिकहरू समेत छन् । यीमध्ये धेरैजसो जेलहरू क्षमताभन्दा दोब्बर बढी कैदी राखेर सञ्चालनमा छन्,’ उनले भने, ‘जसले भीडभाड, स्वास्थ्य जोखिम, हिंसात्मक घटना र मानवअधिकार उल्लंघनको समस्या निम्त्याएको छ ।’

कान्तिपुर

Link copied successfully