२५० जनाको क्षमता भएको कारागारमा ६४० बन्दी राखिएको छ। प्रशासनले कानुनबमोजिम सेवा सुविधा उपलब्ध गराएको दाबी गरेको छ।
काठमाडौँ — क्षमताभन्दा तेब्बर बन्दी रहे पनि रास्वपा सभापति रवि लामिछानेलाई अलग्गै कोठामा राखिएको रुपन्देही कारागारले जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै कारागार कार्यालय रुपन्देहीले पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरक्षा अवस्थालाई मध्य नजर गरी सुरुदेखि नै छुट्टै बन्दीगृह (अलगै एउटा कोठा)मा राखिएको जनाएको हो ।
'कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखि सकिएको छ । निजलाई प्रारम्भ देखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ,' कारागार प्रशासक सुरेश भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कारागार प्रशासनले बिरामी बन्दीहरूको स्थानीय अस्पताल र आवश्यकता अनुसार चिकित्सकको सिफारिसमा स्थानान्तरण समेत गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आएको जनाएको छ । केही दिनयता सञ्चार माध्यमहरुमा रुपन्देही कारागारका विषयमा विभिन्न समाचार प्रकाशित भएपछि कार्यालयले ध्यानकर्षण भएको समेत जनाएको छ ।
रुपन्देही कारागारमा कुल २५० जना बन्दी राख्ने क्षमता रहे पनि हाल ६४० जना बन्दी रहेका छन् । क्षमताभन्दा तीन गुणा बढी बन्दी रहेको अवस्थामा पनि यस कार्यालयले कारागारमा उपलब्ध स्रोत साधनको अतिउत्तम परिचालन गरी कानुनबमोजिमका सेवा सुविधा समयमा नै उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।
