प्रधानमन्त्री ओली एससीओ शिखर सम्मेलनका लागि चीन र त्यसपछि भारत भ्रमणको तयारी गर्दैछन्, औपचारिक घोषणा हुन बाँकी।
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् । तियानचिनमा हुने सांघाई सहयोग संगठन(एससीओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको चीन भ्रमण तय भएको बालुवाटार स्रोतले जनाएको छ ।
शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुँदैछन् । भारतीय समकक्षी मोदी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने सम्भावना रहेको बताइएको छ ।
त्यस्तै चीन भ्रमणकै क्रममा चिनिया राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता हुने सम्भावना रहेको स्रोतको भनाइ छ । एससीओको शिखर सम्मेलन सम्मेलन भदौ १५ र १६ गते हुनेछ । त्यसमा सहभागी हुन प्रधानमन्त्री ओली भदौ १४ गते बेइजिङ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाँदैछन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ३१ भदौदेखि भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।
