आत्महत्या दुरुत्साहनमा पक्राउ परेका अभियुक्तलाई रिहा गर्न आदेश

धनुषा जिल्ला अदालतका न्यायाधीश ईश्वर आचार्यको इजलासले चार लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो ।

श्रावण २९, २०८२

कमलेश ठाकुर

Order to release accused arrested for abetment of suicide

जनकपुरधाम — आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका मिटरब्याजी जनकपुरधाम उपमहानगरपालिका–९ का राजकिशोर यादवलाई धरौटी माग गर्ने आदेश भएको छ । बुधबार धनुषा जिल्ला अदालतका न्यायाधीश ईश्वर आचार्यको इजलासले चार लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो ।

तर उनीमाथि अनुचित लेनदेन मुद्दासमेत रहेकाले थुनामुक्त हुन सकेका छैनन् । आज यस मुद्दामा पहिलो पेसी चढेको छ ।

प्रहरीले यादवलाई साउन २ गते आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । उनको घरबाट प्रहरीले ९ वटा तमसुक, २३ वटा लालपुर्जा र विभिन्न बैंकका चेक बरामद गरेको थियो ।

यादवले गत असार ३२ गते मिथिला नगरपालिका–८ की ३४ वर्षीया विमलाकुमारी ध्रोङचिङ मगरको घर पुगेर गालीबेइज्जती गर्दै जेल पठाउने धम्की दिएका थिए । त्यसको भोलिपल्ट विमलाले साहु यादवको नाम उल्लेख गर्दै ’सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी थिइन् ।

अदालतको आदेशप्रति पीडित परिवारले असन्तुष्टि जनाएको छ । मृतक विमलाका सासू चन्दुमाया मगरले जबर्जस्ती लिएको पाँचवटा चेक र बढी लिएको पैसाबारे न्यायालयले केही जिकिर नगरेको बताइन् । प्रहरीले पनि फोरेन्सिक रेपोर्टमा ढिलाइ गरेको उनको भनाइ छ । ‘पहिलो कुरा त सुसाइड नोटकै रिपोर्ट आएको छैन । त्यसमा प्रहरीले ढिलाइ गरिरहेको छ,’ उनले भनिन्, ‘त्यो नआउँदा अभियुक्ताई छोड्नु भनेको मनोबल बढाउनु, प्रमाणहरु नष्ट गर्नु सरह हो ।’

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully