एनआरएनएको मुद्दा हेर्न नमिल्ने न्यायाधीशकहाँ पेसी

पटकपटक सुनुवाइ सर्दै आएको यो मुद्दा आज पनि हेर्न नमिल्ने न्यायाधीशहरुको इजलासमा पेसी परेपछि सर्ने निश्चित भएको हो ।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

NRNA's case was brought before a judge who was unable to hear it

What you should know

काठमाडौँ — गैरआवासीय नेपाली (एनआरएन) हरूको आधिकारिकतासम्बन्धी विवादको मुद्दा बिहीबार पनि हेर्न नमिल्ने हुँदै सुनुवाइ सर्ने भएको छ । पटकपटक सुनुवाइ सर्दै आएको यो मुद्दा आज पनि हेर्न नमिल्ने न्यायाधीशहरुको इजलासमा पेसी परेपछि सर्ने निश्चित भएको हो ।

सर्वोच्चका न्यायाधीशहरु नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासमा 'ख' नम्बरमा पेसी परेको थियो । न्यायाधीशद्वय सुवेदी र ढुंगानाले यसअघि एनआरएनएको निर्वाचनसम्बन्धी विवादमा फैसला सुनाएका थिए ।

आरके शर्मा र बद्री केसीसहितको ६ थान निवेदन निरन्तर पेसी चढिरहेका छन् । एनआरएन विवादमा सर्वोच्च अदालतले यसअघि पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा उच्चस्तरीय संयन्त्र निर्माण गरी नयाँ निर्वाचन गराउनु भनी परमादेश जारी गरेको थियो । उक्त परमादेशअनुसार निर्वाचन गराउने तयारी घले समूहले गरेपछि बद्री केसी रोक्न माग राखेर सर्वोच्च पुगेका थिए । केसीअघि पनि आधिकारिकता विवाद लिएर आरके शर्मा सर्वोच्च पुगेका थिए । 

सर्वोच्चले विवादकै बी निर्वाचित भएका केसीलाई काम गर्न रोक लगाउने परराष्ट्र मन्त्रालयको निर्णय बदर गरेर काम गर्न दिनु भनेको थियो । सर्वोच्चको दुईवटा फैसलाले अन्योल भएपछि शर्मा सर्वोच्च पुगेका थिए । घले समूह भने निर्वाचन गराउनेतिर अघि बढेपछि केसीले २०८२ वैशाख ३१ गते सर्वोच्चमा रिट हालेका थिए । तर घले समूहले निर्वाचन गर्दै नयाँ अध्यक्षका रुपमा महेश श्रेष्ठलाई चयन गरेपछि अरु मुद्दा थपिएका थिए ।

यी सबै मुद्दालाई साथै राख्दै पूर्ण इजलासले सुनुवाइ गर्ने कोसिस गरिरहेको छ । हरेक बिहीबार मात्र तोकिने पूर्ण इजलासमा आज सुनुवाइ नभएपछि अर्को साता पुन: नयाँ इजलासमा पेसी तोकिनेछ ।

कान्तिपुर

Link copied successfully