सहकारी संस्थाका अध्यक्ष सुबि विकले दिएको उजुरीका आधारमा बम्रेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए ।
What you should know
पाल्पा — पाल्पामा २ करोड ८७ लाख रकम हिनामिना गरेको आरोपमा सहकारी व्यवस्थापक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रम्भा गाउँपालिका–४, हुमिनस्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बम्रेल रहेका छन् ।
सहकारी संस्थाका अध्यक्ष सुबि विकले दिएको उजुरीका आधारमा बम्रेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए । सहकारीको लेखापरीक्षण प्रतिवेदनमा संस्थाको २ करोड ८७ लाख ५७ हजार रुपैयाँ हिनामिना गरेको आरोप बम्रेलमाथि लागेको छ । उनलाई रम्भा–४, हुमिनस्थित साउन २७ गते राति आफ्नै घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक प्रधानले जानकारी दिए । सहकारीले गरेको लगानीका आधारमा लेखापरीक्षण प्रतिवेदनमा हिनामिना गरेको देखिएको हो ।
सहकारीले रम्भा, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकामा बचत तथा ऋणको कारोबार गर्दै आएको छ । यसको माडी खहरे, झडेवा र सहकारी संस्थाले शाखा कार्यालय खोलेर झण्डै एक हजार सदस्यबीच कारोबार गर्दै आएको छ । बचतकर्ताको पाँच करोड र राष्ट्रिय सहकारी बैंकको झण्डै एक करोड रकम फिर्ता गर्न बाँकी रहेको लेखा परीक्षण प्रतिवेदनमा छ ।
सहकारी संस्थाको रकम हिनामिना भएपछि बचतकर्ताले बचत रकम फिर्ता गर्न सञ्चालक समितिलाई चर्को दबाब दिँदै आएको छ । पक्राउ परेका बम्रेल २०६४ सालदेखि सकारी संस्थाको संस्थापक अध्यक्ष र पछि कार्यकारी व्यवस्थापक भएका थिए । कार्यकारी प्रमुख तथा व्यवस्थापक भई कामकाज गर्ने क्रममा सर्वसाधारण शेयर सदस्यहरुले बचत गरेको रकम गैरकानुनी तवरबाट आफ्नो व्यक्तिगत तथा पारिवारिक प्रयोजनमा खर्च गरेको उजुरी परेको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए ।
सहकारी ठगी भन्ने जाहेरी अध्यक्षले दिएकाले उनलाई पक्राउ गरी पहिलो पटक ७ दिनका लागि जिल्ला अदालतबाट म्याद लिए थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
