नीति र विकासबारे दलहरूबीच सहकार्य र संवाद आवश्यक : सचेतक बराल

‘कानुन निर्माण गर्नेदेखि लिएर विकास निर्माणका सबै विषयहरूमा पक्षप्रतिपक्ष मात्रै गरिरहने हो भने हाम्रो समृद्ध नेपालको परिकल्पना पूरा हुनसक्छ ?'

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

Collaboration and dialogue between parties on policy and development is essential: Alert Baral

What you should know

काठमाडौँ — एमाले सचेतक सुनिता बरालले नीति निर्माण र विकास निर्माणका विषयमा दलहरूबीच सहकार्य र गम्भीर संवाद आवश्यक रहेको बताएकी छन् । कानुन निर्माण र विकास निर्माणका सबै विषयहरूमा पक्षप्रतिपक्ष मात्रै गरिरहने हो भने समृद्ध नेपालको परिकल्पना पूरा हुनेमा प्रश्न उठ्ने उनको भनाइ थियो । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सचेतक बरालले समृद्ध नेपालको परिकल्पना पूरा गर्न दलगत विवादभन्दा साझा मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको  बताइन् । सत्तापक्षबाट प्रतिपक्षमा बस्ने बित्तिकै सरकारको आलोचना गर्ने तर राम्रा कामको प्रसंशा नगर्ने परिपार्टीको अन्त्य हुनुपर्ने उनको भनाइ थियो । 

संविधान र कानुनको जवाफदेहिताका लागि तथा नागरिकका प्रश्नको समाधानका लागि एकीकृत भएर अघि बढ्न आवश्यक रहेको सचेतक बरालको भनाइ थियो । ‘कानुन निर्माण गर्ने विषयदेखि लिएर विकास निर्माणका सबै विषयहरूमा पक्षप्रतिपक्ष मात्रै गरिरहने हो भने हाम्रो समृद्ध नेपालको परिकल्पना पुरा हुनसक्छ ? यो हामी सबैको दायित्व होइन ? हामी विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हौँला, तर आफ्नो क्षेत्रका नागरिकको प्रश्नको जवाफदेहिताका लागि र संविधान तथा कानुनको जवाफदेहितका लागि एकीकृत भएर अगाडि बढ्ने कुरामा पनि सम्मानित संसदमार्फत ध्यानाकर्षण हुनुपर्छ,' बरालले भनिन्, 'नीति निर्माण र विकास निर्माणका कुरामा गम्भीर संवाद हुनुपर्ने कुरामा म विशेष जोड दिन चाहन्छु ।'

सचेतक बरालले सामाजिक दायित्वअनुसार दलीय विभाजन घटाएर साँझा मुद्दामा सहकार्य गर्ने वातावरण मिलाउनु आवश्यक रहेको बताइन् । उनले नागरिकलाई आलोचतनात्मक सामाजिक चेत र प्रश्न गर्नसक्ने बनाउनु हाम्रो सांसदहरूको पनि दायित्व रहेको बताइन् । पछिल्लो समय राजनीतिक दलहरूले व्यक्तिगत गालीगलौजमा समय खर्च गरिरहेको भन्दै उनले असन्तुष्टि जनाइन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully