प्रधानमन्त्रीको बोली सुन्दा यस्तो लाग्छ, मानौं देशमा कुनै समस्या छैन, विकास द्रूत गतिमा भइरहेको छ । सुशासनका कैयन मानक बनिरहेका छन् र सरकारको विरोध गर्ने सबै मगज विहीन हुन् ?
What you should know
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई 'प्रमाणित अभियुक्त' भनेर संसद्मा दिएको अभिव्यक्तिलाई लिएर माओवादीका उपमहासचिव वर्षमान पुनले प्रतिप्रश्न गरेका छन् ।
ओलीले आफ्नो सरकारका उपलब्धी दाबी गर्दै संसद्मा बुधबार मिथ्यांक पेस गरेको पनि पुनको भनाइ थियो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पुनले प्रधानमन्त्री ओलीले संसद्को रोष्ट्रममा उभिएर संसद् र आमजनतालाई ढाँटेको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वमा सरकार बनेयता मुलुकको अर्थतन्त्र लयमा फर्किएको, विकास निर्माणले गति लिएको, सुशासन कायम भएको जस्ता दाबी गरेका थिए ।
पूर्वअर्थमन्त्री पुनले भने ओली सरकारका कारण मुलुकमा बेथिति र भ्रष्टाचार बढेको आरोप लगाए । ‘सरकारले एकपछि अर्को बेथिति र भ्रष्टाचारका श्रृंखला अघि सारेका कारण जनतामा चरम निराशा छाएको बेला प्रधानमन्त्रीले यस सम्मानीत संसद्मा सरकारी प्रगतिहरूको फेहरिस्त प्रस्तुत गर्नुभएछ । उहाँको बोली सुन्दा यस्तो लाग्छ, मानौं देशमा कुनै समस्या छैन, विकास द्रूत गतिमा भइरहेको छ । सुशासनका कैयन मानक बनिरहेका छन् र सरकारको विरोध गर्ने सबै मगज विहीन हुन् ?’, पुनले भने, ‘तर प्रधानमन्त्रीज्यू, तपाईले संसद्मा भाषण गरिरहँदा स्वास्थ्य प्रतिष्ठानको चीरहरण भइरहेको किन बिर्सिनुभएछ । तपाईले स्वास्थ्यका तथ्यांकहरु प्रस्तुत गरिरहँदा उता मेरिटोक्रेसी मिचेर तपाईहरुको भागवण्डा चलिरहेको थियो । तपाईको कुशासनसँग लड्न नसकेर एकजना योग्य चिकित्सक देश छोड्दै थिए । तपाईलाई अलिकति पनि लाज लागेन ?'
पुनले मेडिकल काउन्सिलमा दर्ता हुनेको अनुपातमा ७४ प्रतिशत चिकित्सक विदेश पलायन हुने गरेको पनि सरकारलाई स्मरण गराए । 'एकवर्षदेखि तपाईकै मन्त्रीले दरबन्दीका लागि पेश गरेको फाइल स्वीकृत गर्नुभएको छैन । जनताको स्वास्थ्यलाई विचौलिया र दुई दलको भागवण्डाको बन्धकी बनाएर तपाईले प्रस्तुत गर्ने तथ्यांकले केही अर्थ राख्छ । बिर्सिनु भएछ, तपाईले प्रस्तुत गरेको तथ्यांकहरु अघिल्लो सरकारले नै अघि सारेका कार्यक्रमको प्रतिफल हुन,’ उनले भने । पुनले आर्थिक वृद्धि भएको, सबैजसो आर्थिक परिसूचकहरु सकारात्मक भएको दाबीको पनि खण्डन गरे । ‘अर्थशास्त्रको सामान्य विद्यार्थीले पनि बुझ्ने कुरा आर्थिक परिसूचकहरु रातारात सकारात्मक हुँदैनन, निराशाको चक्रव्यूहबाट निकै मेहनत साथ काम गरिएको कारणले केही कुरा सकारात्मक देखिएको हो । तर अर्थतन्त्रका वास्तविक क्षेत्रका सूचकांकहरुमा कुनै सुधार छैन । बाणिज्य बैंकहरुको व्याजदर घटेर साढे ६/७ प्रतिशतमा आइसक्यो । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ । उद्योगी–व्यवसायीहरु ऋण लिएर व्यवसायमा लगाउन किन तयार छैनन्’, उनको प्रश्न थियो ।
सरकारमा आउने बित्तिकै रातारात मुग्लिन पोखरा नारायणगढ, सडकखण्डमा चमत्कार गरेको ओलीको दाबीमा खण्डन गर्दै नलेृ २०७८ मै बनिसक्नुपर्ने उक्त सडक खण्ड अहिलेसम्म पनि पुरा नहुनुमा कसको दोष हो भन्ने प्रश्न गरे । अघिल्ला सरकारमा पनि एमालेका मन्त्रीहरु संलग्न भएको विषय पुनले उठाए ।
अघिल्लो वर्ष किसानले समयमै सिंचाई र मलखाद पाए पनि यो वर्ष सरकारको अयोग्यताका कारण किसान पीडित भएको पुनले उल्लेख गरे । ‘किसानले सिँचाई, मल खाद पाएका छैनन् । अघिल्लो वर्ष मलको हाहाकार भएन । मैले प्रस्तुत गरेको गत आर्थिक वर्षको बजेटमा साढे ५ लाख टन खरिद लक्ष्यसहित २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन हुँदा समेत किन मल आयात हुन सकेन ? अनि, आयात गरिएको भनिएको मल पनि किन किसानको खेतमा पुगेन ? कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २५ प्रतिशत योगदान छ । करिब ६० प्रतिशत जनता कृषिमा आश्रित छन् । हामी प्रतिपक्षका सांसद मात्र होइन, सत्ता पक्षकै माननीयहरुले धेरैपटक मल नपाएका किसानका बेदना सुनाउँदा सरकार सुन्दैन ।’
ओलीले रास्वपा सभापति रवि लामिछानेमाथि गरेको टिप्पणीको पनि पुनले प्रतिवाद गरे । ‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन् । यो मेरो भनाइ होइन, प्रधानमन्त्रीले संसद्को रोष्ट्रममा उभिएर दिनुभएको अभिव्यक्ति हो । उहाँले लगाएका आरोपको सत्यता पुष्टि गर्ने जम्मेवारी उहाँकै हो’, पुनले अगाडि भने, ‘तर, प्रधानमन्त्रीज्यू ‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्त’ लाई सरकारी टेलिभिजनमा जागिर कसले लगाएको रहेछ ? कसले गृहमन्त्री बनाएको रहेछ ?’ पासपोर्ट छपाई जस्तो संवेदनशील ठेक्कामा मिलेमतो गरेर प्रधानमन्त्री र कांग्रेस सभापतिनिकट विवादास्पद व्यापारीलाई सुम्पिने काम भएको भन्दै पुनले आपत्ति जनाए ।
पोखराको १ सय ३५ रोपनी लिची बगैंचा हड्प्न गरिएका घूस डिलका भिडियोहरु बजारमा छ्पाप्छ्याप्ती भए पनि घूस डिलमा संलग्न मन्त्रीलाई आडमै राखेर प्रधानमन्त्रीले ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भनिरहेको पुनले बताए । पुनले संविधान संशोधनको विषय कहाँ पुग्यो ? भनेर पनि प्रश्न गरेका छन् । 'सरकार गठन गर्दा निकै रोइलो गर्नुभएको थियो, खासमा तपाईहरु संविधान संशोधन होइन, संविधान सकाउने बाटोमा हुनुहुन्छ,' पुनले भने ।
