पोखराको सहकारी रजिस्ट्रारले १८ करोडभन्दा बढी हिनामिनामा संलग्न १५३ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीलाई छानबिन प्रतिवेदनसहित पत्राचार गरेको छ।
What you should know
पोखरा — पर्वतको कुश्मा नगरपालिकामा रहेको बैशाली कृषि सहकारी संस्थाका व्यवस्थापक र सञ्चालकको मिलेमतोमा १८ करोडभन्दा धेरै रकम हिनामिना भएको छ ।
बचतकर्ताको कूल १८ करोड ७६ लाख ३० हजार ५ सय २८ रुपैयाँ हिनामिना गरेको अभियोगमा संस्थाका सञ्चालक, व्यवस्थापकसहित १ सय ५३ जनाविरुद्ध मुद्दा चलाउन सहकारी रजिस्ट्रारको कार्यालय पोखराले पर्वत प्रहरीलाई पत्राचार गरेको छ ।
व्यवस्थापक कुमारी पुर्जाले सहकारीको शेयर सदस्यसमेत नरहेका स्थानीयबाट दैनिक, मासिक रकम संकलन गरेर त्यस्तालाई ऋण दिएकी छन् । शेयर सदस्यबाहिरका व्यक्तिबाट बचत रकम संकलन गर्नु र ऋण दिनु सहकारी ऐन विपरीत हो ।
रकम हिनामिनाको मुख्य योजनाकार व्यवस्थापक कुमारी पुर्जा रहेको छानबिन प्रतिवेदनमा औंल्याइएको छ । संस्थाका सञ्चालक समिति र व्यवस्थापकको मिलोमतोमा रकम हिनामिना भएको पाइएको हो ।
सहकारीको रकम नक्कली ऋणी बनाएर निकाशा गरिएको, त्यस्तो रकम सोझै ढुकुटी र व्यापार व्यवसायमा लगानी गरेर हिनामिना गरेको पाइएको छ । व्यवस्थापक कुमारी पुर्जाले सञ्चालक समितिलाईसमेत जानकारी नदिई कर्जा लगानी गरेको पाइएको छ ।
व्यवस्थापक आफैंले एक करोडभन्दा बढी रकम हिनामिना गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । उनले आफैंले खेलाएको ढुकुटीमा सहकारीको पैसा कर्जा दिएर लगानी गराएकी छन् । ५ जना महिलालाई ८ करोड भन्दा धेरै ऋण दिएर हिनामिना गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।
सहकारी रजिस्ट्रारको कार्यालय पोखराका प्रमुख भेषराज रिजालले सहकारी घोटलामा संलग्न १ सय ५३ जनाविरुद्ध एकै पटक मुद्दा चलाउन प्रहरीलाई छानबिन प्रतिवेदनसहित पत्राचार गरेको जानकारी दिए ।
नेपालको सहकारी बेथितिको घटनामा यति धेरै जनालाई एकै पटक मुद्दा चलाउन सिफारिस गरेको यो पहिलो भएको रिजालले सुनाए । सहकारी रजिस्ट्रारको कार्यालय पोखराले गत असार अन्तिममा यो छानबिन गरेको हो ।
सञ्चालक समितिले निर्णय नै गरेर छानबिन गरिपाउँ भनेर आफूलाई पत्र पठाएपछि वित्तीय विश्लेषक निर्मल गौतमले यो सहकारी हिनामिनामा छानबिन गरेर प्रतिवेदन दिएका हुन् । सहकारीको रकम हिनामिनामा त्यहाँकी व्यवस्थापक कुमारी पुर्जा पुन(मगर), हालका अध्यक्ष गणेश पुन मगर, पूर्व अध्यक्ष गुमबहादुर पुन, कारोबारमा संलग्न स्थानीय महिला लतिफा बेगम, जरिना खातुन, सैजुन मिया, कमला कुमारी पुन मगर, सरिफा खातुन मिया, हिरामाया पुन, रामबहादुर पुन, दुर्गाबहादुर पुन मगर र नारायण शर्मा पौडेल रकम हिनामिनाका मुख्य दोषी रहेको प्रतिवेदनमा छ ।
सहकारीको सिद्धान्त विपरीत शेयर सदस्यसमेत नरहेकाबाट बचत संकलन गरेर त्यस्ता सदस्यलाई कर्जा (ऋण) लगानी गरिएको छ । उनीहरु सहकारीको रकम हिनामिनामा संलग्न मुख्य दोषी भएको छानविन प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो साता प्रहरीलाई बुझाएको प्रतिवेदनमा सर्वसाधारण बचतकर्ताको रकम हिनामिनामा संलग्न १ सय ५३ जनालाई मुद्दा चलाउन र पक्राउ गरेर रकम असुलउपर गर्न पर्ने प्रतिवेदनसहित पत्राचार भएको हो ।
जिल्ला प्रहरीका डिएसपी रबिन विष्टले डिभिजन सहकारी कार्यालय पोखराले छानबिन गरेको प्रतिवेदन प्रहरी कार्यालयमा आएको र दर्ता भएको टेलिफोनमा बताए । छानबिन अनुसन्धान बल्ल सुरु भएको छ । अहिले नै सबै जानकारी गराउँदा आर्थिक अनियमिततामा संलग्न व्यक्तिहरु फरार रहन सक्ने भएकाले केही दिनपछि छानबिन प्रतिवेदनका बारेमा जानकारी गराउने उनको सुनाए । यो सहकारीमा ४ सय २६ जना बचतकर्ता रहेका छन् ।
