सेनाले छाड्यो सशस्त्र द्वन्द्वको 'ब्याटलग्राउन्ड' खारा ब्यारेक

खारा ब्यारेकमाथि भएको आफूहरूको आक्रमण असफल भएको प्रसंग तत्कालीन माओवादी सैन्य कमान्डर तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो पुस्तक ‘यात्रा जिन्दगी’मा उल्लेख गरेका छन् ।

श्रावण २८, २०८२

महेश केसी

The army left the barracks, the 'battleground' of the armed conflict

What you should know

खारा, रुकुम पश्चिम — तत्कालीन नेकपा माओवादी र राज्य पक्षबीच भएको सशस्त्र युद्धताका खुबै सुनिएको नाम हो रुकुमको खारा । त्रिवेणी गाउँपालिका वडा नं. ६ मा अवस्थित सैनिक ब्यारेकमा तत्कालीन माओवादीले गरेको ‘असफल आक्रमण’ र त्यसपछि भएको परिणामका कारण पनि यो ब्यारेक चर्चामा रह्यो ।

यसबाहेक खारा र आसपासमा युद्धताका भएका अरू विभिन्न घटना–परिघटनाका कारण पनि माओवादी युद्धबारे जानकार धेरैले यो ठाउँबारे थाहा पाएकै हुनुपर्छ । २०५९ वैशाख र २०६१ चैत २५ मा भएको सैन्य आक्रमणमा तत्कालीन माओवादी असफल भएपछि उसलाई शान्तिपूर्ण बाटोमा आउन बल पुगेको भन्ने विश्वास पनि गरिन्छ ।

यो ब्यारेकमाथि भएको आफूहरूको आक्रमण असफल भएको प्रसंग तत्कालीन माओवादी सैन्य कमान्डर तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो पुस्तक ‘यात्रा जिन्दगी’मा उल्लेख गरेका छन् । तत्कालीन राज्यका लागि रणनीतिक महत्त्वको यो ब्यारेकको पहिलो आक्रमणमा आफुहरूको तयारी नपुगेको र दोस्रो आक्रमणको सम्पूर्ण रणनीति सेनासम्म पुगेका कारण आफूहरू असफल भएको बताएका छन् ।

The army left the barracks, the 'battleground' of the armed conflictयही ऐतिहासिक खारा ब्यारेक अब भने यहाँबाट हटाइएको छ । २०५५ सालतिर स्थापना गरिएको सैनिक ब्यारेक हटाउनुको कारणबारे नेपाली सेनाका तर्फबाट भने आधिकारिक धारणा दिन अस्वीकार गरिएको छ । तर ब्यारेक रहेको जग्गामध्ये धेरै स्थानीयको भएको र उक्त जग्गा किन्न सेनाले गरेको प्रयास असफल भएपछि अन्ततः यहाँबाट ब्यारेक नै सारिएको भन्ने बुझिएको छ ।

लामो समयदेखि रहेको नेपाली सेनाको ब्यारेक यहाँबाट सरेपछि आफूहरूलाई भने नराम्रो लागेको स्थानीय दीपकुमारी बुढाले बताइन् । ‘वर्षौंदेखि रहेको ब्यारेकले यहाँ चहलपहल मात्रै बढाएको थिएन, हामीलाई सुरक्षित महसुस पनि गराएको थियो । एक्कासि अब यहाँ सेना नरहने खबरले हामीलाई नराम्रो लागेको छ,’ उनले भनिन् ।

The army left the barracks, the 'battleground' of the armed conflict

गत असार १५ गतेदेखि यहाँबाट सेनाले आफ्ना संरचना हटाउन थालेको र अहिलेसम्म व्यक्तिको जग्गामा रहेका सबै संरचना नष्ट गरेर जग्गाधनीलाई नै जग्गा फिर्ता गर्ने अन्तिम चरणमा पुगेको नाम नबताउने सर्तमा एक सैनिक अधिकारीले बताए । उनले थपे, ‘सुरुमा त सेनाकै नाममा यो सबै जग्गा होस् भन्ने चाहना थियो । तर कुरा मिलेन र हामीले यो ठाउँ छोडेर जानुपर्ने भयो । यस कारण खासगरी जग्गाधनीको अनुरोधमा उहाँहरूको जग्गामा भएका सबै सैन्य संरचनासँगै भवनसमेत हटाएका छौं ।’

दुई पटक भीषण लडाइँ भएको यस स्थानमा अञ्जान छोडिएका बम–बारुद पनि हुनसक्ने शंका व्यक्त गर्दा उनले सबै हिसाबले परीक्षण गरी कुनै पनि शंकास्पद वस्तु नभएको यकिन गरेरै यो जग्गा सम्बन्धित व्यक्तिलाई जग्गा फिर्ता गर्न लागेको दाबी गरे ।

यस विषयमा जग्गाधनी कौशिला पुनले पनि लामो समयदेखि नजिकै रहेको सेनाप्रति आफूहरूको विश्वास रहेको बताउँदै आफ्नो जग्गा प्रयोग गर्न आफूहरूलाई कुनै पनि असहजता नभएको बताइन् । ‘सैनिक जाने भएपछि यो ठाउँ त अब रित्तो हुने भयो । नरमाइलो त लागेको छ, तर हामीले रोकेर सेना कहाँ रोकिएला र,’ उनले थपिन्, ‘यहाँ रहँदासम्म जग्गा प्रयोगबापत भाडा पनि पाउँथ्यौं, यसले हामीलाई खर्चपर्च पनि चलेको थियो । अब त त्यो पनि रोकियो ।’

घरजग्गा किनबेचमा मूल्य नमिल्दा सैनिक फिर्ता जान लागेको सैनिककै भनाइबारे बुझ्दा पुनले एकपल्ट छलफल हुँदा जग्गाको मूल्यको कुरा नमिलेको स्वीकार गर्दै सैनिकले ब्यारेक नै उठाइहाल्ला भन्ने भने नठानेको तर उठेपछि भने नमज्जा लागेको बताइन् ।

The army left the barracks, the 'battleground' of the armed conflict

रुकुम पश्चिमको जिल्ला सदरमुकाम रहेको मुसिकोट-१ सल्लेमा नेपाली सेनाको एउटा गण नै रहेको छ भने मुसिकोट-४ बोहोरागाउँमा पनि सैनिकको ब्यारेक रहेको छ । खाराबाट सेना फर्किए पनि त्यहाँ रहेको आफ्नो जग्गामा एउटा भवन भने सेनाले बाँकी नै राख्ने अनौपचारिक जानकारी दिइएको छ ।

खाराको यो ब्यारेक ऐतिहासिक भएकाले यसको संरक्षण गर्न सरकारका तर्फबाट भरपुर कोसिस गरे पनि उक्त प्रयास असफल भएको त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश केसीले बताए । सैनिकको ब्यारेक कहाँ रहने र कहाँ नरहने यो नितान्त प्राविधिक विषय भए पनि यो ब्यारेक भने ऐतिहासिकता भएकाले यसलाई युद्ध पर्यटनसँग जोडेर यसको संरक्षण गर्न सकेको भए राम्रो हुने धारणासमेत अध्यक्ष केसीले व्यक्त गरे ।

The army left the barracks, the 'battleground' of the armed conflictगत असार १५ गतेदेखि खाली गर्न सुरु गरेको खारा ब्यारेकबाट यतिबेला नेपाली सेना पूर्ण रूपमा हिँडिसकेको छ । साउन अन्तिम सातासम्म आइपुग्दा व्यक्तिको जग्गामा रहेका एउटा चौतारी र मन्दिरबाहेक अरू सबै संरचनाहरू पूर्ण रूपमा नष्ट पारेको अवस्था छ ।

ब्यारेकको मूल भवनका रूपमा रहेको घरसमेत भत्काएपछि अहिले थोरै मात्रै क्षेत्रफल नेपाली सेनाको नाममा रहेको बताइएको छ । र त्यही जग्गामा रहेको एउटा भवनलाई भने उसले जोगाएर राखेको छ । ‘माथिको आदेश नभएको भन्दै यहाँ भइरहेका गतिविधि सैनिक देखिने गरी नखिच्न’ त्यहाँ रहेका एक सैनिक अधिकारीले अनुरोध गरे भने यस विषयमा उनले कुनै पनि औपचारिक प्रतिक्रिया पनि दिन चाहेनन् ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully