सदनलाई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाइयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले संसद्‍मा झुटा कथा सिर्जना गरेर भ्रम फैलाउने र सोसल मिडियाका लागि सामग्री उत्पादनको प्रयास भइरहेको बताएका छन्।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

Sadan has been made a platform for producing content for social media: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनुको सट्टा समाजमा उत्तेजना फैलाउने सामग्री उत्पादन थलोका रूपमा संसद् प्रयोग भइरहेको आरोप लगाएका छन् । उनले प्रतिपक्ष माओवादी र रास्वपातर्फ संकेत गर्दै समाजमा उत्तेजना फैलाउने गरी सामाजिक सञ्जालमा सामग्री उत्पादन भइरहेको दाबी गरेका छन् । 

‘अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको छ । विषयान्तर गरिएका कपटी बहसले देशको समृद्धिका लागि होइन, देशमा केही गरौँ भन्ने युवाहरूलाई भरोसा प्रदान गर्न पनि होइन, उनीहरूलाई गाली, निन्दा र भर्त्सनाका कन्टेन्ट उत्पादनमा भुलाउने र समाजलाई उत्तेजनामा ल्याउने नियत राख्दछ,’ प्रधानमन्त्री ओलीले बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै भने । 

संसद्‍मा उठाइएका कतिपय विषय राष्ट्रिय प्राथमिकतामा र आवश्यकतामा आधारित नभएको उल्लेख गर्दै ओलीले भने, 'देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नुपर्ने यस सम्मानित सदनलाई झुटा कथा सिर्जना गरेर कन्फुयजन पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादनका लागि थलो बनाउने दुष्प्रयास भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलहरूले आफ्नो दायित्व भुलेको समेत बताए । ‘बिथोलिएको राजनीतिलाई लयमा फर्काउने भनेर सरकार बनेको हो,’ ओलीले भने, ‘राजनीति र नीतिमा आएको अस्थिरतालाई अन्त्य गर्ने, मुलुकलाई बोझ बनेका कार्यक्रम खारेज गर्ने उद्देश्यले सरकार बनको हो । हामीले सरकारका काममा प्रश्न उठोस् भन्ने चाहन्थ्यौँ ।’

कान्तिपुर संवाददाता

Link copied successfully