रविको कारागार स्थानान्तरणको विषय प्रक्रियामा छ : गृहमन्त्री लेखक

गृहमन्त्रीले लामिछानेलाई कुनै विशेष सुविधा नदिइएको बताए। साँघुरो भए पनि अलग्गै कोठामा राखिएको र सुविधाबाट वञ्चित नगरिएको स्पष्ट गरे।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

Ravi's jail transfer is under process: Home Minister Author

What you should know

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको कारागार स्थानान्तरणको विषय अघि बढेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा गृहमन्त्री लेखकले कारागार स्थानान्तरण सरकारले गर्ने बताउँदै सुरक्षालगायत सबै विषय सुनिश्चित गरेर निर्णय गर्नुपर्नेमा जोड दिए।

'अड्डासारका लागि अदालतबाट आदेश होइन, सहमति/अनुमति लिनुपर्ने हुन्छ । जुन अदालतमा मुद्दा चलिरहेको हुन्छ, त्यो अदालतले अनुमति दिनुपर्नेमा अदालतको अनुमति प्राप्त छ । उहाँको निवेदन पनि छ,' उनले भने, 'सरकारले कुन कारागारमा सार्ने सुरक्षाका सबै विषय हेरेर निर्णय गर्नुपर्छ । यसलाई मैले गम्भीरतापूर्वक लिएको छु । म सकारात्मक छु ।'

गृहमन्त्रीले लामिछाने कारागारमा पाउनुपर्ने कुनै पनि सुविधाबाट वञ्चित नभएको बताए । 'जेलहरू साँघुरा छन्, सानै भएपनि उहाँलाई अलग्गै कोठामा राखिएको छ । कारागार प्रशासनले समस्याका बारेमा बेलाबेला सोधेको मैले जानकारी पाएको छु', गृहमन्त्री लेखकले भने, 'कारागारमा उपलब्ध हुने सुविधाबाट वञ्चित गरिएको छैन । उहाँलाई विशेष सुविधा दिएको छ भन्ने पनि होइन ।' लामिछानेलाई साँघुरो भएपनि एउटा कोठामा अलग्गै राखिएको उनले जानकारी दिए ।

'उहाँ एक्लै कोठामा बस्नुभएको छ', लेखकले भने, 'भौतिक पूर्वाधार अभाव र बजेटको सीमितताका कारण चाहे जति सुधारका काम गर्न सकिरहेका छैनौँ ।' कारागारको भौतिक पूर्वाधार निर्माण तथा सुधार, कैदीबन्दीको समस्या, सेवा सुविधालाई ध्यानमा राखिएको उनको भनाइ छ ।

'सात हजार कैदीबन्दी उत्पादन क्षेत्रसँग जोडिएका छन् । कारागारमा स्वास्थ्य सेवा थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने, कैदीबन्दीलाई मनोवैज्ञानिक परामर्श दिने र खुला कारागारसम्बन्धी अवधारणामा जानेलगायत विषयमा सरकारले पहल गरिरहेको छ,' उनले भने, 'गत एक वर्षमा प्यारोलमार्फत दुई हजार ७५ जनाभन्दा बढी कैदी छुटेका छन् ।'

त्यस्तै कैलाली कारागार छानबिन समितिले प्रतिवेदन सार्वजनिक भएपछि कानुनअनुसार दोषीमाथि कारबाही गरिने बताउँदै कारागारमा हतियार प्रवेशको विषय गलत भएको स्पष्ट पारे ।

कान्तिपुर

Link copied successfully