जिल्ला न्यायाधीश धुव्रराज कार्कीको इजलासले साक्षीलाई उपस्थित गराई वकपत्र गराउने निर्णय गरेपछि भदौ ११ गते नयाँ पेशी तोकिएको छ।
काठमाडौँ — जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि अदालतबाट जारी भएको म्याद अनुसार उपस्थित नभएका साक्षीहरुलाई वकपत्र गराउने आदेश गरेको छ ।
मंगलबार जिल्ला न्यायाधीश धुव्रराज कार्कीको इजलासले सरकारी साक्षीको रुपमा पेश भएका केही व्यक्तिहरुको वकपत्र नभएको देखेपछि उनीहरुलाई उपस्थित गराई बकपत्र गराउने आदेश गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।
उनका अनुसार इजलासले वकपत्रका लागि भदौ ११ गते नयाँ पेशी तोकेको छ । उक्त दिन साक्षीहरु उपस्थित भए वकपत्र हुने, नभएमा इजलासले गर्ने आदेश अनुसार मुद्दाको प्रक्रिया अघि बढ्ने सूचना अधिकारी श्रेष्ठले बताए ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने कार्य गरेको भन्दै पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेस नेता बालकृष्ण खाँण, निलम्बित सांसद टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डेय, इन्द्रजित राई, बेचन झा, पूर्वसभासद आङ्टावा शेर्पालगायतलाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो ।
दुई वर्षपछि अदालतले सुनुवाइ थाल्दै यस्तो आदेश गरेको हो । अब बाँकी रहेका साक्षीहरू उपस्थित गराएपछि पुन: सुनुवाइ हुनेछ । नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरूद्ध २०८० जेठ १० गते जिल्ला अदालत काठमाडौंमा पहिलो मुद्दा दायर भएको थियो ।
दोस्रो पटक पाँच जनाविरूद्ध २०८१ बैशाख ९ गते पूरक अभियोग दर्ता भएको थियो । बेचन झा पक्राउ परेपछि उनीविरूद्ध साउन २९ गते तेस्रो पूरक अभियोग दायर भएको थियो ।
