क्रान्तिकारीको तोडफोड र पदाधिकारीलाई अवरोध जारी रहेपछि त्रिवि प्रशासनले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै सुरक्षा माग गरेको छ ।
What you should know
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लामो समय नेविसंघले ‘गुन्डागर्दी’ गर्दै आएकामा अहिले अखिल क्रान्तिकारीले पनि तोडफोड र अवरोध सुरु गरेको छ । दीपक अर्याल उपकुलपति भएयता माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारी ‘गुन्डागर्दी’ मा उत्रिएको हो ।
क्रान्तिकारीको तोडफोड र पदाधिकारीलाई अवरोध जारी रहेपछि त्रिवि प्रशासनले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै सुरक्षा माग गरेको छ ।
क्रान्तिकारीले उपकुलपति अर्यालसहित रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाललाई कार्यालय आउजाउमा अवरोध गरेका छन् । क्रान्तिकारीले सोमबार रेक्टर र रजिस्ट्रार कार्यालयमा तोडफोड गरी क्षतिसमेत पुर्याएका थिए । केन्द्रीय विभागमा समायोजन भएका ४ वटा विभागको शुल्क घटाउन माग राख्दै क्रान्तिकारीले २० दिनयता उपकुलपति कार्यालयमा धर्ना दिँदै आएको छ ।
कार्यकक्षको ढोकामै धर्ना दिएपछि उपकुलपति अर्याल कार्यालय आउन छाडेका छन् । सोमबार तोडफोड गरी फर्केका विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा क्रान्तिकारी जिल्ला इन्चार्ज ममता जोशी र सुशील नेपाली घाइते भएको केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटाले बताए ।
तोडफोडमा संलग्नलाई प्रहरीले पक्राउ गरे पनि सोमबार साँझ नै छाडेको थियो । आफैं तोडफोडमा उत्रिएको क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा दमन भएको दाबी गरेको छ । अध्यक्ष सापकोटाले संवादबाट माग पूरा गर्न पहल नगरी प्रहरी परिचालन भएको आरोप लगाए ।
क्रान्तिकारीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, द्वन्द्व–शान्ति र विकास अध्ययन, सामाजिकशास्त्र र लैंगिक केन्द्रीय विभागको शुल्क समायोजन गर्नुपर्ने माग राखेको छ । यी विषय आत्मनिर्भर कार्यक्रमका रूपमा सञ्चालन भए पनि गत वर्ष विभाग बनाइएको थियो । त्रिविले क्रान्तिकारीसँग वार्ता गर्न विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख पशुपति अधिकारीको संयोजकत्वमा समिति गठन गरे पनि सहमति हुन सकेको छैन । क्रान्तिकारी त्रिविका कार्यवाहक अध्यक्ष शिवराज भट्टले विद्यार्थीले तोडफोड नगरेको दाबी गरे ।
उपकुलपति कार्यालयमा धर्ना भए पनि रेक्टर र रजिस्ट्रार कार्यालय तोडफोड हुनुलाई त्रिविका प्राध्यापकले शंकास्पद रूपमा हेरेका छन् । शैक्षिक माग देखाए पनि भित्री रूपमा क्रान्तिकारीले पदाधिकारीमा भागबन्डा चाहेको जानकारहरूको भनाइ छ । रेक्टर र रजिस्ट्रारमध्ये एक पद माओवादीले पाउनुपर्ने भन्दै स्वार्थ समूहले दबाब दिँदै आएका छन् । क्रान्तिकारीलगायत दलनिकट संगठनले छिट्टै रिक्त हुन लागेको परीक्षा नियन्त्रक, कानुन संकायको डिन, विद्यालय कल्याण, अनुगमन र अन्तर्राष्ट्रिय निर्देशनालय प्रमुख दाबी गर्दै दबाब बढाएका छन् ।
असारमा क्रान्तिकारीको त्रिवि समितिले रोक लगाएपछि उपकुलपतिबाहेक रेक्टर, रजिस्ट्रार, सेवा आयोग अध्यक्ष तथा सदस्य करिब डेढ महिनासम्म कार्यकक्ष जान पाएका थिएनन् । २५ असारमा उपकुलपति अर्याल नियुक्त हुनुअघि नै उनीहरूले तालाबन्दी गरेका थिए । सर्वोच्च अदालतको आदेशमा ताला खुले पनि विश्वविद्यालय प्रवेशमा रोक लगाइएको थियो ।
आंशिक प्राध्यापक संघ र क्रान्तिकारीले फास्ट ट्र्याकमा प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक भर्ना गर्न लागेको भन्दै तालाबन्दी गरेका थिए । क्रान्तिकारीले सोही माग पूरा गर्न भन्दै ताला खोलेर पदाधिकारीलाई अवरोध गरेको हो । वार्तापछि अवरोध खोले पनि फेरि अर्को माग अघि सारेर उपकुलपतिमाथि अवरोध थालेको कर्मचारी बताउँछन् ।
वार्ता समिति संयोजक अधिकारीले शुक्रबारदेखि निरन्तर सहमतिको प्रयास गरे पनि सफल नभएको बताए । ‘शुक्रबारदेखि ३/४ चरणमा वार्तामा बसेको हो, सहमति जुट्न सकेको छैन, तोडफोडको घटनापछि झनै वातावरण बिथोलिएको छ,’ उनले भने । निरन्तर तोडफोड, तालाबन्दी र अवरोधपछि त्रिविले पटक–पटक सरकारलाई सुरक्षा प्रबन्ध मिलाउन आग्रह गर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई समेत पत्राचार गरेर सुरक्षा व्यवस्था गरिदिन आग्रह गरिएको एक पदाधिकारीले बताए । सुरक्षाका लागि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तलाई आग्रह गरे पनि यस्ता घटना रोकिएका छैनन् । यसअघि नेविसंघ कार्यकर्ताले पनि उपकुलपति कार्यालयमा तोडफोड गरेका थिए ।
