नेपाल र चीन सरकार, स्थानीय प्रशासन र सरोकारवाला निकायको पहलमा उनीहरुलाई बुधबार तिब्बतको केरुङबाट न्यालम हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका भएर काठमाडौं ल्याइएको हो ।
What you should know
काठमाडौँ — भोटेकोशीको बाढीले रसुवाको मितेरी पुल बगाएपछि घर फर्कन नपाएका १७३ जना नेपालीलाई बुधबार तातोपानी नाका हुँदै उद्धार गरेर नेपालमा ल्याइएको छ ।
तातोपानी नाकामा नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की, उपाध्यक्ष सुजित बस्नेत, महासचिव रामचन्द्र पराजुली, सचीव आङदोर्जे शेर्पा, सुब्बा श्रेष्ठ,कोषाध्यक्ष सिद्धान्त बस्नेतलगायतले उद्धार गरिएकालाई मितेरी पुलमा स्वागत गरेका थिए ।
'उद्धार गरिएकाका लागि राजधानीसम्म नि:शुल्क बसको व्यवस्था गरिएकाे छ, दिनभरमा मितेरी पुलमा उनीहरुलाई ल्याइने योजना छ,' नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले भने ।
नेपालतर्फका कोदारी अध्यामगन कार्यालय, स्थानीय प्रशासनका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरीले जिम्मा लिनेछन् । चीनका सरकारी अधिकारीहरुले उनीहरुलाई नेपाललाई बुझाउने योजना बनाएका छन् ।
गत ७ गते पनि चीनले २०३ जना नेपालीलाई अहिलेकै प्रक्रियामा तातोपानी नाकामा ल्याएका थिए । त्यतिबेला धेरै नेपाली चालक, सहचालक, व्यापारिक फर्मका कर्मचारीलगायतका थिए । यसपटक भने केरुङमा विभिन्न पेशा गरी बसेको नेपालीहरु बिरामी पर्न थालेको र कतिपयले अब घर फर्कन पाइँदैन कि भन्ने चिन्ता समेत व्यक्त गरेपछि नेपाल ल्याउने व्यवस्था गरिएको हो ।
भोटेकोशी–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार बुधबार भौतिक तथा पूर्वाधार मन्त्रालयका उच्चस्तरीय अधिकारीसहित भन्सारमा सडक खुलाउनेबारे महत्त्वपूर्ण छलफल गरिएको थियो ।
छलफलमा मन्त्रालयका सुपरिटेन्डेन्ट इन्जिनियर सुभराज न्यौपाने, भूगर्भविद डा. मधुसुदन आचार्य, भक्तपुर सडक डिभिजनका डि सुमन योगेश, चरिकोट सडक डिभिजनका प्रमुख अमित श्रेष्ठ उपस्थित थिए । तातोपानी भन्सार प्रमुख राजेन्द्र चुडालसहित अन्य अधिकारी समक्ष नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की, महासचिव रामचन्द्र पराजुलीसहित अन्य व्यवसायी, भोटेकोशी २ मा अध्यक्षले सीमा सडकको दुरावस्थाबारे जानकारी गराएका थिए ।
'भदौ १५ भित्र सडक खुलाएर नाका सहज बनाउनेबारे महत्त्वपूर्ण छलफल गरिएको छ, बस्ती संरक्षण गर्ने बारे निर्णय भएको छ,' उनले भने ।
भूकम्पछि तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछि रसुवा नाकाबाट व्यापारिक कारोबारमा तीव्रता आएको थियो । केरुङमा पर्यटन, होटल जस्ता व्यवसाय गरेर लामो समयदेखि बसेकाहरु नेपाल फर्कन लागेका हुन् । रसुवाको मितेरी पुल भत्केपछि नेपाल फर्कने बाटो तातोपानी नाका मात्र भएकाले चीन सरकारले उनीहरुलाई गाडीको व्यवस्था गरेर नेलाम हुँदै तातोपानी मितेरी पुल ल्याएको थियोे । जिल्ला प्रहरी सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरुलाई चीन सरकारले नै व्यवस्थापन गरे बेलुकीसम्म सीमासम्म ल्याउने व्यवस्थापन गरेको छ ।
