लाओसमा साइबर अपराधमा प्रयोग हुँदै नेपाली युवा

चिनियाँ साइबर स्क्यामरहरुको पासोमा परेर नेपालीहरु कम्बोडिया पुगेको खबर त सार्वजिनक भएकै थियो । तर पछिल्लो समय यस्तै घटनामा नेपालीहरु लाओस पुगेर फसिरहेका छन् ।

श्रावण २७, २०८२

विवेक पोख्रेल

Nepali youth being used in cyber crime in Laos

What you should know

काठमाडौँ — सिराहाका सुरेन्द्र ठाकुर काठमाडौंको एक सैलुनमा कपाल काट्ने काम गर्थे । काम गर्दै स्नातक पढिरहेका ठाकुरलाई धनुषाका रेनु भन्ने सुचित कुमार यादवले लाओस लैजाने र मासिक एक लाख बढि कमाईं हुने जागिर दिलाइदिने प्रलोभन देखाए । यही प्रलोभनमा परेर गत फागुनतिर ६ लाख रुपैयाँ बुझाएर लाओस पुगेका सुरेन्द्र यतिबेला फसादमा छन् ।

ठाकुरका अनुसार सुचितले होटलका लागि कम्युटर टाईपिङमा कामदार चाहिएको बताएपछि उनी जान तयार भएका थिए । तर लाओस पुगेपछि उनले थाह पाए, उनलाइ त साइबर स्क्यामरहरुको पासोमा परेका रहेछन् । उनलाइ सुन्दर केटीहरुको तस्विर भएको नक्कली फेसबुक लगायतका सामाजिक संजाल चलाउन बाध्य पारियो । अनि त्यही प्रोफाइलबाट युरोप, अमेरिका लगायतका विभिन्न देशमा बसेका धनी र मानिसहरुलाइ नक्कली कुराकानीको पासोमा पार्ने र उनीहरुबाट पैसा धुत्ने काममा लगाइयो । उनले सुनाए, 'त्यही पुगेपछि पो थाह पाए, मेरो काम भनेकै धनी मान्छेहरुलाइ साइबर स्क्याममा पार्ने रहेछ ।' यस्तो काममा फसेको थाह पाएपछि सुरेन्द्रले घर फर्किने सोचे । तर कम्पनीका मान्छेले उनलाई भने, हामीले तलाइ ४ लाखमा किनेको हो । त्यति पैसा नतिरी जान मिल्दैन् । 

सुरेन्द्रले केही सीप नलागेपछि घरबाट पैसा मगाए अनि चार लाख बुझाएर चैतमा स्वदेश फर्के । यतिबेला सुरेन्द्र फसेको पैसा कसरी उठाउने र त्यतिबेला लिएको कर्जा कसरी सदाउने भन्ने चिन्तामा छन् । 'विदेश गएर पैसा कमाएपछि नेपाल आएर व्यवसायीक पशुपालन गर्ने सोच थियो,’ठाकुरले भने,‘अहिले ऋणको कसरी तिर्ने ब्यज कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ।’ 

चैत अन्तिम हप्ता नेपाल फर्केका सुरेन्द्रका अनुसार उनी कार्यरत चिनियाँ स्क्यामरहरुले चलाएको कम्पनीमा अरु ३५ जना नेपाल कार्यरत थिए । उनले सबैजसो पैसा फसिसकेकाले काम गर्न बाध्य भइरहेको सुनाए । फसेको पैसा उठाउन सकिन्छ कि भनेर वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता समेत गराएका सुरेन्द्र भन्छन, 'यस्तो हैरानी कसैलाइ नपरोस ।' 

ठाकुरको जस्तै तर फरक कथा छ, सर्लाहीका २२ वर्षका विकी बानियाँको । आफ्नै दिदिकी साथीलाइ उनले ५ लाख रुपैँया बुझाएर उनी भिजिट भिसामा लाओस पुगेका थिए । ‘महिनाको डेढलाख रुपैँया कमाई हुन्छ भनेपछि बुबाआमाले पनि जान सिफारीस गर्नु भयो,’ बानियाँले सुनाए, ‘तीनपटक प्रयासमा म लाओस पुगेपनि मैले काम गर्न पाईन् । ’ बानिँयाका अनुसार उनलाई भिजिट भिसा भएपनि कामको जिम्मेवार आफू रहेको भन्दै विदेश पठाईदिने भन्दै पाँच लाख रुपैँया रोहनी यादवले लिएका थिए । पहिलो पटक जयपुर, दोस्रो पटक दिल्ली पुगेर पनि उनी लाओस उडन सकेनन् । तेस्रो पटक प्रयासमा उनी कलकत्ताबाट लाओस लागि उडे । तर भिजिट भिसामा उडेका उनी ट्रान्जिट थाइल्याण्डबाटै फिर्ता भए । उनले सुनाए, ‘भारत हुँदै थाइल्याण्ड भएर मलाइ लाओस पुर्याउने कुरा थियो । तर बिचबाटै फिर्ता भए । 

यि दुवै घटनाले संगठित मानव तस्करहरुले लाओसलाइ तस्करीको नयाँ गन्तव्य बनाउन खोजीरहेको र यसमा यसअघि नेपालीहरु कम्बोडियामा पुगेर साइबर स्क्यामरको पासोमा परेजस्तै घटना दोहोरिन थालेको संकेत गर्दछ । 

मानव बेचबिखन अनुसन्धान ब्युरोले पछिल्लो तीन बर्षमा मानव तस्करको फन्दामा परेर लाओस पुगेका १५ जनालाई उद्धार गरिसकेको छ । लोओसका अघि संगठित मानव तस्करहरुले साइबर स्क्यामको काममा लगाउन नेपालीहरुलाइ कम्बोडिया पुर्याउने गरेको विगत छ । ब्युरोका अनुसार पछिल्लो तीन बर्षमा कम्बोडियाबाट मात्रै १४ को उद्दार गरिएको थियो । ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले लाओस र कम्बोडियामा जाने सबै  साइबर स्क्याममा पर्ने गरेको बताए । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully