सर्वोच्चको आदेशसँगै रास्वपाबाट बाहिरिए मुकुल

न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको मंगलबारको इजलासले रिटमाथि अन्तिम सुनुवाइ गर्दै ढकालको मागदाबी पुग्न नसक्ने भन्दै त्यसलाई जारी गर्न अस्वीकार गरेको हो ।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

Mukul left the RSVP with the order of the Supreme Court

काठमाडौँ — आफूलाई पहिलेझैं महामन्त्रीको जिम्मेवारीमा काम गर्न दिनु पर्ने भन्दै अदालत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा.मुकुल ढकालको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । रिट खारेज भएसँगै अब उनी कानुनी रुपमा रास्वपाको साधारण सदस्यसमेत नरहने गरी बाहिरिएका छन् ।

न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको मंगलबारको इजलासले रिटमाथि अन्तिम सुनुवाइ गर्दै ढकालको मागदाबी पुग्न नसक्ने भन्दै त्यसलाई जारी गर्न अस्वीकार गरेको हो । अदालतले रिट जारी नगरे पनि निर्देशनात्मक आदेश भने दिएको छ । तर, आदेशमा के निर्देशन दिइएको छ भन्ने चाहिँ खुल्न नसकेको सर्वोच्च प्रशासनले जनाएको छ ।

‘निर्देशनात्मक आदेश त आएको हो, तर लिखित केही जारी नभएकाले त्यसको व्यहोरा भोलि (बुधबार) मात्रै थाहा हुने भएको छ,’ सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेले भने, ‘निर्देशनात्मक लिखित आउन बाँकी भए पनि रिट चाहिँ खारेज भएको पक्का हो ।’

उनलाई पार्टीले गत वर्ष साधारण सदस्यसमेत नरहने गरी निकाला गरेको भए पनि उक्त निर्णय अद्यावधिक नभएको भन्दै निर्वाचन आयोगको अभिलेखलाई आधार मानी आफू नै महामन्त्री भएकाले त्यसअनुसार पार्टीले जिम्मेवारी दिनु पर्ने जिकिरका साथ ढकाल सर्वोच्च पुगेका थिए । गत असार ११ मा उनले आफूलाई निकाल्ने पार्टीको निर्णयविरुद्ध दायर गरेको रिटमाथि लगातार दोस्रो दिनको सुनुवाइपछि सर्वोच्चले मंगलबार रिट खारेज हुने निर्णय गरेको हो ।

कान्तिपुर

Link copied successfully