सबै नागरिकले छिटो र सहज तरिकाले न्याय पाउने हकलाई कानुन व्यवसायीहरुको ठूलो भूमिका रहेको र यसलाई अझै प्रभावकारी, मर्यादित बनाउन सक्षम कानुनी जनशक्ति देशमा आवश्यक रहेको उनले बताए ।
What you should know
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरुपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको बताएका छन् ।
काठमाडौंमा मंगलबार कानुन व्यवसायी परिषद्को ३२ औं स्थापना तथा आत्ममूल्यांकन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कानुन व्यवसायीहरु विधिको शासन र लोकतन्त्रका रक्षक रहेको बताएका छन् ।
सबै नागरिकले छिटो र सहज तरिकाले न्याय पाउने हकलाई कानुन व्यवसायीहरुको ठूलो भूमिका रहेको र यसलाई अझै प्रभावकारी, मर्यादित बनाउन सक्षम कानुनी जनशक्ति देशमा आवश्यक रहेको उनले बताए । ‘कानुन व्यवसायीहरु लोकतन्त्रका रक्षक हुन् । नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनामा कानुन व्यवसायीहरुले ठूलो योगदान पुर्याएका छन् । लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरुपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन हो,' उनले भने, 'विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन कायम हुन्छ भन्ने हामीले बिर्सनु हुँदैन ।'
उनले विधिको पूर्ण पालना र न्यायपूर्ण थिति बसाल्न कानुन व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको बताए । नागरिकले छिटो र सहज तरिकाले न्याय पाउने हकलाई आकार दिन क्रियाशील हुने यो संवेदनशील भूमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यावसायिक तवरले निर्वाह गर्न सक्षम कानुनी जनशक्ति आवश्यक रहेकोमा उनले जोड दिए ।
राष्ट्रपति पौडेलले कानुन व्यवसायीको परीक्षाको पाठ्यक्रम र गुणस्तरीयताले पनि कानुन व्यवसायीको क्षमतालाई प्रतिबिम्वित गर्ने बताए ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन व्यवसायीहरु पेशाकर्मी मात्रै नभइ समाज सुधारका अभियन्ता रहेकाले समाजमा उनीहरुको ठूलो भूमिका रहेको बताए । सत्यको बारेमा थाह पाउन कानुन व्यवसायीहरुले ठूलो भूमिका खेल्ने र ज्ञान, सीप र दक्षताका लागि नेपाल कानुन व्यवसायी परिषद्ले कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
