कांग्रेस र एमालेका सांसदले विश्वासको मतको पक्षमा मत जाहेर गरेका थिए । बानियाँको पक्षमा ६३ जना सांसदले मतदान गरेका थिए । उनको विपक्षमा २२ मत र ७ सांसद तटस्थ बसेका थिए ।
मकवानपुर — आफ्नै पार्टीभित्रको आन्तरिक किचलोकाबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
बहादुरसिंह लामा नेतृत्वको सरकार विस्थापित गरेर २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले मंगलबार बागमती प्रदेशसभाको बैठकमा विश्वासको मत लिएका हुन् ।
कांग्रेस र एमालेका सांसदले विश्वासको मतको पक्षमा मत जाहेर गरेका थिए । उनको पक्षमा ६३ जना सांसदले मतदान गरेका थिए । उनको विपक्षमा २२ मत र ७ सांसद तटस्थ बसेका थिए । कुल ११० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५६ सांसदको आवश्यकता रहेको थियो । प्रदेशसभाका कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन् ।
कांग्रेसका एकजना सांसद विदेशमा रहेका कारण बृठकमा सहभागी भएनन् । प्रदेशसभाको बैठकमा ९२ सांसदको उपस्थिति रहेको थियो । कांग्रेस र एमाले संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप नै जारी गरेका थिए । मुख्यमन्त्री बानियाँको विपक्षमा माओवादी केन्द्र, राप्रपा, नेकपा (एस), नेमकिपा र हाम्रो नेपाली पार्टीले मतदान गरेका थिए ।
पार्टीभित्रको विवादका कारण आफ्नै दल कांग्रेसका १४ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए पनि केन्द्रीय नेतृत्वको दबाबपश्चात उनीहरु बैठक सञ्चालन हुने समयमा प्रदेशसभाको नयाँ भवनमा प्रवेश गरेका थिए । उनीहरुले बानियाँको पक्षमा मतदान गरेका थिए । उनीहरुकै कारण दिउँसो ४ बजेका लागि तय गरिएको बैठक करिब एक घण्टा ढिलो गरी प्रदेशसभाको सञ्चालन भएको थियो ।
बागमतीमा १४ मन्त्रालय छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालय पाएको छ । एमालेले ६ मन्त्री नै सरकारमा पठाइसकेको छ भने कांग्रेसले दुई मन्त्री मात्रै पठाएको छ । कांग्रेसबाट मन्त्री हुनेमा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ र शिवराज अधिकारी छन् । अधिकारीको मन्त्रालय तोकिएको छैन । दुवै बानियाँ निकट हुन् ।
