देश दुनियाँमा आज के के भयो ?
What you should know
काठमाडौँ — इजरायली आक्रमणमा अल जजीराका चार पत्रकार मारिए, कैलाली कारागार घटना : चौथो दिन मृतकको शव उठाउन परिवार तयार, ५ दिनदेखि खोज्दा पनि भेटिएनन् उत्तराखण्डमा हराएका नेपाली, आस मार्दै फर्किए आफन्त, मध्य भोटेकोशीको सुरुङबाट पानी चुहिँदा बस्ती जोखिममा परेको भन्दै स्थानीयको खबरदारी, सरकार र ठेकदार खोज्न भन्दै मैनबत्ती बालेर सडकमा स्थानीयसहित पूर्वमन्त्री लगायतका खबर आज दिनभर देश दुनियाँमा चर्चामा रहे ।
इजरायलको हवाई आक्रमणमा परी गाजामा अल जजीराका चार पत्रकार मारिएका छन् । अल जजीराले गाजाको अल–शिफा अस्पताल नजिक भएको आक्रमणमा परी उनीहरु मारिएको जनाएको छ । अल जजीराका अनुसार इजरायली आक्रमणका समयमा संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैके, क्यामेराम्यान इब्राहिम जही र मोहम्मद नौफाल अस्पतालको मुख्य द्वारमा पत्रकारहरुका लागि बनेको एक त्रिपालमा रहेका थिए ।
०००
कैलाली कारागारभित्र कैदीबन्दीबीच कुटपिट हुँदा मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको शव उठाउन परिवार चौथो दिन सोमबार तयार भएका छन् । प्रदेश सरकारले मृतकका परिवारलाई प्रदेश सरकारद्वारा पाँच लाख क्षतिपूर्ति घोषणा र छोरीको पढाइको जिम्मेवारी प्रशासनले मिलाउने प्रतिबद्धता जनाएपछि शव बुझ्न तयार भएको मृतकका भाइ विजय चौधरीले बताए ।
०००
भारत उत्तराखण्डको पौडीगढवालस्थित सिन्धु खोला नजिक बाकुडामा बुधबार आएको बाढीपहिरोले बेपत्ता भएकाको खोजीमा गएका पीडित परिवार घर फर्किन थालेका छन् । पाँच दिनदेखि खोजी गर्दा पनि विकट पहाडी क्षेत्रमा नभेटिएपछि अधिकांश फर्किसकेका छन् ।
०००
सप्तरीको राजविराज–छिन्नमस्ता–गोविन्दपुर सडकको निर्माण कार्य सञ्चालनका लागि दबाब दिन पूर्वमन्त्रीसहित स्थानीयले सोमबार बिहान मैनबत्ती बालेर प्रदर्शन गरेका छन् । उनीहरुले ‘कहाँ छ सरकार, कहाँ छ ठेकेदार रु’ नारा लगाउँदै छिन्नमस्तादेखि विसनपुर चोकसम्म प्रदर्शन गरे । चार वर्षअघि नै ठेक्का लिएर ठेकदार बेपत्ता हुँदा सडकमा जताततै खाल्डाखुल्डी परेर हिँड्न समेत अप्ठ्यारो हुन थालेको उनीहरुको भनाइ छ ।
०००
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका क्षेत्रमा निमार्णाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट पानी चुहिएर बस्ती जोखिममा परेको भन्दै स्थानीयले खबरदारी गरेका छन् । बाह्रबिसे(६ का अध्यक्ष कुलबहादुर श्रेष्ठका अनुसार सोमबार प्रभावित स्थानीय, क्लब, वन समितिलगायतले आयोजनाका अधिकारीसँग जोखिमबारे ध्यानार्कषण गराएका छन् ।
