चीन-जापान युद्धको सम्झना काठमाडौंमा

राजदूत छन सोङले चीन–जापान युद्धबारे प्रसंग निकाल्दै अतीतलाई बिर्सनु हुँदैन भन्ने पाठ इतिहासबाट सिक्नुपर्नेमा जोड दिएका छन् ।

श्रावण २६, २०८२

कान्तिपुर संवाददाता

Sino-Japanese war memorial in Kathmandu

What you should know

काठमाडौँ — आठवर्षे चीन–जापान युद्ध अन्त्य भएको ८० वर्षको अवसरमा चिनियाँ दूतावासले काठमाडौंमा सांस्कृतिक प्रस्तुति र चित्रकला प्रदर्शनी गरेको छ । विद्यालयस्तरका विद्यार्थीबीच पाँच विधाको प्रतियोगितासमेत भएको छ । 

विद्यार्थीबीच नृत्य, गीत, चित्रकला, वक्तृत्वकला र भेषभूषामा गराइएको प्रतियोगितामा करिब एक दर्जन विद्यालयका विद्यार्थी सहभागी थिए । प्रतियोगिताका विजेतालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र नेपालका लागि चिनियाँ राजदूत छन सोङले पुरस्कार प्रदान गरे ।  

कार्यक्रममा मन्त्री रघुजी पन्तले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध महत्त्वपूर्ण रहेको बताए । उनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता पनि उल्लेख गरे । विकासशील र विकासोन्मुख मुलुकको विकासलाई चीनले आफ्नो विकास मानेर सहयोग गर्ने गरेको जनाउँदै मन्त्री पन्तले सराहना गरे । चीनको अदम्य महत्वाकांक्षाबाट नेपालले धेरै कुरा सिक्न सक्ने उनको भनाइ थियो । ‘शिक्षा र प्रविधिका क्षेत्रमा दुई मुलुकबीच वर्षौंदेखि सहकार्य भइरहेको छ । यो सहकार्य अझ विस्तार हुने विश्वास छ,’ उनले भने, ‘यसका लागि बीआरआई महत्त्वपूर्ण आधार बन्न सक्छ ।’

राजदूत छन सोङले चीन–जापान युद्धबारे प्रसंग निकाल्दै अतीतलाई बिर्सनु हुँदैन भन्ने पाठ इतिहासबाट सिक्नुपर्नेमा जोड दिए । ‘इतिहास बेवास्ता गर्नेको न अतीत रहन्छ न भविष्य,’ उनले भने । सबै मुलुकले मेलमिलाप कायम गरेर विश्वमा शान्ति र विकास ल्याउनुपर्नेमा राजदूत छनले जोड दिए । 

चीन र जापानबीच दोस्रो युद्ध ७ जुलाई १९३७ देखि २ सेप्टेम्बर १९४५ सम्म भएको थियो । यसलाई चीनमा जापानी आक्रमणको प्रतिरोध युद्धकामा रूपमा लिने गरिन्छ । युद्धमा चिनियाँ सैनिक र नागरिक गरी करिब दुई करोडले ज्यान गुमाएका थिए । करिब चार लाख ८० हजार जापानी सैनिकको युद्धमा मृत्यु भएको थियो । यी दुई मुलुकबीच पहिलो युद्ध भने २५ जुलाई १८९४ देखि १७ अप्रिल १८९५ सम्म करिब आठ महिना चलेको थियो ।  

कान्तिपुर

Link copied successfully