एक जना चिनियाँ र दुई जना भारतीय नागरिकको प्रमाणपत्र रद्द गर्दै उनीहरुको नाम आधिकारिक सूचीबाट हटाइएको पर्यटन विभागले जनाएको छ ।
What you should know
काठमाडौँ — नेपाल सरकारले जारी गरेको पर्वतीय नियम उल्लंघनका कारण मनास्लु र सगरमाथाको सफल आरोहण प्रमाणपत्र लिइसकेका तीन जना विदेश आरोहीको प्रमाणपत्र रद्द गर्दै उनीहरुको नाम आधिकारिक सूचीबाट हटाइएको पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार पर्यटन मन्त्रालयका सचिवस्तरीय निर्णयअनुसार, चिनियाँ नागरिक गाओ ली र भारतीय नागरिक नरिन्द्र सिंह र सीमा रानीले विभागबाट लिएको प्रमाणपत्र रद्द गरिएको हो । सन् २०१६ सेप्टेम्बर ३० मा ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको भन्दै विभागले चिनियाँ नागरिक गाओ लीलाई आरोहण प्रमाणपत्र प्रदान गरेको थियो ।
त्यस्तै, भारतीय नागरिक नरिन्द्र सिंह र सीमा रानीलाई सन् २०१८ मे २० मा सगरमाथामा सफलतापूर्वक आरोहण गरेको भन्दै विभागबाट प्रमाणपत्र लिएका थिए । यी तीनै विदेशीलाई प्रदान गरिएको प्रमाणपत्र विभागले सचिवको निर्णयमा रद्द गरेको हो ।
‘तोकिएका नियम र प्रावधान उल्लंघन भएको पुष्टि भएपछि चिनियाँ नागरिकको नाम मनास्लुका सफल आरोहीहरूको आधिकारिक सूचीबाट र भारतीय नागरिक नरिन्द्र सिंह र सीमा रानीले सन् २०१८ मे २० मा सगरमाथामा सफलतापूर्वक आरोहण गरेको प्रमाणपत्र विभागको सूचीबाटै हटाइएको हो,’ नेपाली पर्वतारोहणमा हालसम्म भएका सम्पूर्ण कीर्तिमान र उपलब्धिहरू समेटिएको ‘नेपालमा पर्वतारोहण : तथ्यांक र तथ्य विवरण २०२५’ प्रतिवेदनमा लेखिएको छ ।
यसैबीच पर्यटन विभागद्वारा शुक्रबार जारी प्रतिवेदनले कामीरिता शेर्पा, निर्मल पूर्जा, मिङ्मा ग्याबु शेर्पा, सानु शेर्पालाई विश्वभरकै उल्लेखनीय कीर्तिमानीको सूचीमा राखेको छ ।
यसपटकको वसन्तकालीन हिमाल आरोहण सिजन (२५ मे २०२५) मा ३१ औं पटक सफलतापूर्वक सगरमाथा आरोहण गर्दै नयाँ उचाइ कायम गरेका नेपालका कामीरिता शेर्पा, सन् २०१९ मा निर्मल पूर्जाले ८ हजार मिटर अग्ला विश्वका १४ वटा पर्वतलाई ६ महिना ६ दिनमा आरोहण गरी विश्वकै छिटो समयको रेकर्ड कायम गरेको, सोही वर्ष नेपाली आरोही मिङ्मा ग्याबु शेर्पाले ३१ वर्षकै उमेरमा ८ हजार मिटरभन्दा माथिका १४ वटा पर्वत आरोहण गरी सबैभन्दा कम उमेरमा यो उपलब्धि हासिल गर्ने व्यक्तिको रेकर्ड बनाएको, १६ जनवरी २०२१ मा १० जना नेपाली आरोहीले विश्वको दोस्रो अग्लो पर्वत (८ हजार ६ सय ११ मिटर) उचाइको केटू हिमालमा पहिलो शीतकालीन आरोहण सम्पन्न गरेको, १६ अप्रिल २०२१ मा नेपाली महिला टोलीले ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल आरोहण गर्दै यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली महिलाको रेकर्ड बनाएको र सन् २०२२ मा सानु शेर्पाले ८ हजार मिटरभन्दा माथिका विश्वका सबै १४ वटा हिमाललाई दुई–दुई पटक आरोहण गरी अनौठो कीर्तिमान बनाएको रेकर्डलाई उल्लेखनीय कीर्तिमानको सूचीमा रोखेको छ ।
‘आफ्नो अद्वितीय प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका कारण विश्वभरका साहसिक पर्यटकहरूको नेपाल आकर्षण गन्तव्य बनेको छ,’ विभागका महानिर्देशक नारायण रेग्मीले प्रतिवेदनमा भनेका छन्, ‘हिमाल, पहाड र तराईको विविध भौगोलिक स्वरूपले नेपाललाई पर्वतारोहण र साहसिक पर्यटनका लागि विश्वमै अद्वितीय गन्तव्य बनाएको छ ।’
विभागका अनुसार, हालसम्म ४ सय ६१ वटा शिखरहरू आधिकारिक रूपमा पर्वतारोहणका लागि खुलाइएका छन् । तर खुला गरिएकामध्ये हालसम्म १ सय २ वटा हिमचुचुरोमा अझै आरोहण हुन सकेको छैन । ५८ सय मिटरभन्दा कम उचाइ भएका १५ वटा शिखरलाई पदयात्रा शिखरको रूपमा वर्गिकृत गरिएको छ ।
आरोहणका लागि खुला गरिएका ४ सय ६१ वटा हिमालमध्ये ५८ सयदेखि ६५ सय मिटर उचाइ भएका २६ वटा हिमाल निजी क्षेत्रका व्यवसायीहरुको संगठन नेपाल पर्वतारोहण संघले आरोहण सञ्चालन गर्दै आएको छ ।
