रामेछापमा स्कारपियो दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

आइतबार बिहान सदरमुकाम मन्थलीबाट हेटौँडा बस्ने छोरालाई भेट्न जाँदै गरेको स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशीतर्फ खसेको हो।

श्रावण २५, २०८२

नवराज श्रेष्ठ

Scorpio accident in Ramechhap: Wife dead, husband seriously injured

रामेछाप — रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।

आइतबार बिहान सदरमुकाम मन्थलीबाट हेटौँडा बस्ने छोरालाई भेट्न जाँदै गरेको स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशीतर्फ खसेको हो।

दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० बर्सिया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए।

गाडी अप्ठ्यारो भिरमा अड्किएको हुँदा उद्धारमा कठिनाइ भएको र हाल महिलाको शव निकालिएको प्रहरीले जनाएको छ। घाइते भएका उनका श्रीमान् उत्तम चौहानलाई मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। गाडी नम्बर भने भिरमा अड्किएको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully