विद्यालय शिक्षा विधेयक : निजी विद्यालयमा निःशुल्क आवासीय सुविधा टुंगिन बाँकी

निजी विद्यालयले उपलब्ध गराउने पूर्ण छात्रवृत्तिमा निःशुल्क आवासीय सुविधा पर्ने कि नपर्ने विषयमा शिक्षा मन्त्रालयको धारणा माग

श्रावण २५, २०८२

सुदीप कैनी

School Education Bill: Free residential facility in private schools is yet to be finalised

What you should know

काठमाडौँ — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पास भए पनि निजी विद्यालयले पूर्ण छात्रवृत्ति उपलब्ध गराउँदा निःशुल्क आवासीय सुविधा पनि दिनुपर्ने विषय भने टुंगिन बाँकी छ । बिहीबार समितिबाट पास भएको विधेयकले निजी विद्यालयले १० देखि १५ प्रतिशतसम्म विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । तर पूर्ण छात्रवृत्तिभित्र निःशुल्क आवासीय सुविधासमेत पर्ने कि नपर्ने भन्ने विषयमा भने सांसदहरू नै विभाजित छन् ।

समितिको सचिवालयलाई विधेयकको प्रतिवेदन लेख्ने जिम्मा दिए पनि पूर्ण छात्रवृत्तिका विषयमा थप अध्ययन गरी जानकारी गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिइएको छ । पूर्ण छात्रवृत्तिमा आवासीय सुविधाबारे अध्ययन गरेर समितिलाई जानकारी गराउन शिक्षामन्त्री रघुजी पन्तलाई भनिएको समिति सचिव दशरथ धमलाले बताए । ‘अनाथ, गरिब, विपन्न बालबालिकालाई आवासीय सुविधा दिनुपर्ने कुरा सांसदहरूको छ । के कसरी सुविधा उपलब्ध गराउन सकिन्छ, थप अध्ययन गरेर समितिमा जानकारी गराउन भनिएको छ,’ उनले भने ।

एमाले सांसद छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिले निजी लगानीमा सञ्चालित विद्यालयले शिक्षासम्बन्धी प्रचलित कानुनमा तोकिएबमोजिम प्रदान गर्नुपर्ने छात्रवृत्ति पूर्ण छात्रवृत्तिका रूपमा उपलब्ध गराउनुपर्ने सहमति गरेको थियो । पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण, परीक्षा, पाठ्यपुस्तक, शिक्षा सामग्री, पोसाक, यातायात र आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा भनेर परिभाषित गरिएको छ ।

छात्रवृत्ति नदिने स्कुलको दर्ता खारेज हुने कुरा विधेयकमा लेख्नुपर्छ, ऐन कार्यान्वयनका लागि उपाय खोजौं, तर विपन्नका लागि आवास चाहिन्छ : सुमना श्रेष्ठ, सांसद, रास्वपातर विधेयकमाथि सहमति गर्न समितिअन्तर्गत बनेको परामर्श समितिले पूर्ण छात्रवृत्ति भन्नाले आवासीय सुविधाबाहेक भनेर सम्झनुपर्ने व्याख्या गरेको छ । उपसमितिको सहमति उल्टाएको भन्दै अधिकांश सांसदले त्यसको विरोध गरेपछि समितिले विधेयक पास गर्दै आवासीय सुविधाका विषयमा धारणा पेस गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिइएको हो ।

निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन, एनप्याब्सनले पूर्ण छात्रवृत्तिका विषयमा असन्तुष्टि जनाएपछि परामर्श समितिले आवासीय सुविधासम्बन्धी व्यवस्था हटाएको थियो । एमाले सांसद विश्वकर्मासहित विद्या भट्टराई, सरिता भुसाल, ईश्वरी घर्ती, कांग्रेस सांसद चन्द्र भण्डारी, माओवादी सांसद रेखा शर्मा, रास्वपा सांसद सुमना श्रेष्ठ आवासीय सुविधा दिनुपर्ने पक्षमा उभिएका छन् । छात्रावास सञ्चालन गरेका निजी विद्यालयले नै विद्यार्थी संख्याका आधारमा छात्रवृत्ति पाएका १० देखि १५ प्रतिशत विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा दिनुपर्ने नभए सरकारले भए पनि व्यवस्था गर्नुपर्ने उनीहरूको तर्क छ ।

छात्रवृत्ति पाए पनि गरिब, विपन्न परिवारका बालबालिकाले डेरा भाडाका लागि मासिक २० हजारसम्म खर्च गर्नुपर्ने अवस्था रहेको उनीहरूले औंल्याए । कम्तीमा अति विपन्न र अनाथको हकमा भए पनि यस्तो व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ । छात्रवृत्ति पाएका बालबालिकालाई खाने, बस्ने व्यवस्था पनि हुनुपर्ने माओवादी सांसद शर्माले बताइन् ।

निजी विद्यालयले आवासीय सुविधा दिन सक्दैनन्, व्यावहारिक कानुन बनाउनुपर्छ, निजी विद्यालयलाई नियमन गर्नुपर्छ, तर बन्द हुने अवस्थामा पुर्‍याउन हुँदैन : रघुजी पन्त, शिक्षामन्त्रीछात्रवृत्तिसम्बन्धी ऐन र अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा छात्रवृत्तिसम्बन्धी व्यवस्था छ । सोही ऐनलाई टेकेर उच्च शिक्षासम्म निजी कलेजहरूले पनि छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन् । विद्यालय तहमा भने पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको गुनासो छ । ऐनमा ५ सयसम्म विद्यार्थी अध्ययन गर्ने शिक्षण संस्थाले १० प्रतिशत, ५ सयदेखि ८ सयसम्म विद्यार्थी भए १२ प्रतिशत र ८ सयभन्दा बढी विद्यार्थी भए १५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ ।

छात्रावासको क्षमताअनुसार आवासीय सुविधा दिनुपर्ने रास्वपा सांसद श्रेष्ठको तर्क छ । ‘५० बेडमा सञ्चालन भएका होस्टलले ५ जनालाई निःशुल्क राखे पनि ठूलो राहत हुन्छ,’ उनले भनिन् । शिक्षामन्त्री पन्तले भने निजी विद्यालयले आवासीय सुविधा दिन नसक्ने तर्क गरे । कार्यान्वयन हुन सक्ने व्यावहारिक कानुन बनाउनुपर्ने उनले बताए । ‘निजी विद्यालयको पनि शिक्षामा योगदान छ । उनीहरूलाई नियमन गर्नुपर्छ तर बन्द हुने अवस्थामा पुर्‍याउन हुँदैन,’ उनले भने ।

प्याब्सन, एनप्याब्सनले अनियमित हिसाबले पूर्ण छात्रवृत्तिको व्यवस्था थोपर्न खोजेको भन्दै त्यसलाई हटाई न्यायोचित छात्रवृत्तिको व्यवस्था गर्न माग गर्दै आएका छन् । शिक्षामन्त्री पन्तले निजी विद्यालयहरू पोसाक, यातायातलगायतका सुविधा दिन पनि तयार नभए पनि आवासीय सुविधा बाहेकमा मन्जुर भएको बताए । कांग्रेस सांसद श्याम घिमिरे पनि आवासीय सुविधाको विपक्षमा छन् ।

निजी विद्यालयलाई आवासीय सुविधा दिनुपर्छ भनेर घाँटी समात्न नमिल्ने उनले जनाए । सोही विषयमा सांसद घिमिरे र सांसद सुमनाबीच समिति बैठकमै भनाभनसमेत भएको थियो । आवासीय सुविधा दिने भए ती विद्यालयलाई सरकारले अनुदान दिनुपर्ने घिमिरेले तर्क गरे । सांसद श्रेष्ठले गैरनाफामूलक विद्यालयलाई मात्र राज्यले बजेट दिन सक्ने बताइन् । सांसद घिमिरेले विभिन्न विदेशी मुलुकको उदाहरण दिँदै राज्यले निजी विद्यालयलाई अनुदान दिन सक्ने दाबी गरे ।

श्रेष्ठले निजी विद्यालयको दबाबका कारण नै विधेयक पास गर्न रोकिएको हैन भन्दै प्रश्न गरेपछि घिमिरे आक्रोशित भए । उपसमितिले छात्रवृत्तिमा गरेको आवासीय सुविधासम्बन्धी व्यवस्था हटाएपछि निजीकै कारण विधेयक रोकिएको प्रस्ट भएको उनले तर्क गरिन् । ‘छात्रवृत्ति नदिने स्कुलको दर्ता खारेज हुने कुरा विधेयकमा लेख्नुपर्छ । ऐन कार्यान्वयनका लागि उपाय खोजौं । तर विपन्नका लागि आवास चाहिन्छ ।’ 

त्यसपछि सांसद घिमिरेले आफू निजी स्कुलको सञ्चालक नरहेको जिकिर गरे । ‘विद्यालय शिक्षा विधेयक पारित गराउन मिहिनेत गरिरहेको छु, अस्ति पनि मेरो कारण विधेयक रोकियो भन्ने मिडिया पनि आयो । मेरो के स्वार्थ छ ? म भाँड्न आएको होइन, तपाईंहरूले मलाई दोष लगाउनुभयो । म यो विधेयक छिटो पास गर्न आएको हुँ । विधेयक पास हुँदा सबैले स्वागत गर्नुपर्छ । सडकमा जुलुस निस्किएर राँको बलेपछि समाधान गर्ने जिम्मेवार व्यक्तिहरू नै अगाडि आउनुपर्छ । यो कुरा मन्त्रीहरूले पटक–पटक अनुभव गर्नुभएको छ,’ उनले भने । गत असार १६ गते विधेयक पारित गर्ने कार्यसूची रहे पनि शिक्षामन्त्री पन्त र सांसद घिमिरेले शिक्षक महासंघसँग वार्ता गर्न भन्दै समय मागेपछि रोकिएको थियो । शिक्षकको कार्यसम्पादन मूल्यांकन र बढुवाका विषय मात्र टुंगो लाग्न बाँकी थियो ।

शिक्षक महासंघको आन्दोलनको चेतावनी

विधेयक समितिबाट पारित भएपछि नेपाल शिक्षक महासंघले भने असन्तुष्टि जनाएको छ । सरकारले गरेका सहमति विधेयकमा उल्लेख नभएको भन्दै महासंघले अन्तिम फैसला आन्दोलनबाटै हुने भन्दै चेतावनी दिएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै विधेयक र आन्दोलनसम्बन्धी धारणा तय गर्न भदौ ३ र ४ गते केन्द्रीय समितिको बैठक डाकिएको जनाएका छन् ।

‘शिक्षकको बढुवा, सरुवा, विभागीय कारबाही, अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, ट्रेड युनियन अधिकार, बालकक्षा शिक्षक, विद्यालय कर्मचारी, शिक्षक दरबन्दी मिलान र व्यवस्थापन, निजी विद्यालयका शिक्षक लगायतको विषयमा सहमति अनुरूप प्रबन्ध नभएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सहमति कार्यान्यवनका लागि समग्र परिस्थिति मूल्यांकन गर्दा फेरि एक पटक आन्दोलनमा होमिनुपर्ने भएको छ ।’

महासंघले गत चैत/वैशाखका पूर्वसहमतिअनुसार शिक्षा ऐन जारी गर्न माग गर्दै २९ दिनसम्म काठमाडौंमा सडक प्रदर्शन गरेको थियो । २०७५, ०७८ र ०८० मा सरकारसँग भएको सहमतिको पूर्ण कार्यान्वयन हुनुपर्ने महासंघको माग छ । शिक्षकले बढुवाका लागि कार्यसम्पादनमा कम्तीमा ८० अंक प्राप्त गरेको हुनुपर्ने, ३ प्रकारले शिक्षकको बढुवा हुने सहमति गर्दै विधेयक पास भएको थियो । आन्तरिक प्रतियोगिता, ज्येष्ठता कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनबाट शिक्षक बढुवा हुने व्यवस्था गरिएको छ । शिक्षक महासंघका २ जना पदाधिकारीले वर्षमा २ महिना काज पाउने, प्रधानाध्यापक महासंघको सदस्य नरहने व्यवस्था पनि भएको छ ।

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully