चक्रे मिलनसहित १९ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

प्रहरीले बाटोमा भेला भएर केक काटेको र महाराजगन्ज क्षेत्रमा होहल्ला गरेर शान्ति सुरक्षामा असर पारेको मुख्य आरोप यो समूहलाई प्रहरीले लगाएको छ ।

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

Permission to detain 19 people including Chakra Milan for 5 more days

काठमाडौँ — सार्वजनिक हितविरुद्धको कसुरमा पक्राउ परेका चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई थप ५ दिन हिरासमा राखेर प्रहरीले अनुसन्धान गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । साउन १५ गते राति काठमाडौंको महाराजगन्जको साम्बाला होटल क्षेत्रबाट सार्वजनिक हितविरुद्धको गतिविधि गरेको भन्दै मिलनसहित ४७ जनालाई प्रहरीले प्रक्राउ गरेको थियो । 

पक्राउ परेकामध्ये २८ जनालाई  छाडेर प्रहरीले चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतीक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीसहित १९ जनालाई अनुसन्धान गरिरहेको छ । यसअघि प्रहरीले ७ दिन म्याद लिएर अनुसन्धा सुरु गरेको थियो ।

प्रहरीले बाटोमा भेला भएर केक काटेको र महाराजगन्ज क्षेत्रमा होहल्ला गरेर शान्ति सुरक्षामा असर पारेको मुख्य आरोप यो समूहलाई प्रहरीले लगाएको छ । चक्रेले ठूलो समूहमा सडक छेउमा केक काट्दै गरेको, जन्मदिनका अवसरमा पशुपति पुगेर पैसा बाँडेको लगायतका भिडियो अहिले सामाजिक संजालमा भाइरल छन् ।

चक्रेलाई उनका समूहका सदस्यहरूले सडक नै अवरुद्ध हुने गरेर स्कर्टिङ गरेको भिडियो पनि आएको छ । त्यो भिडियोमा भक्तपुरको सडकमा तीनवटा गाडी लस्करै चलाएर अरू गाडीलाई अगाडि जान नदिइएको दृश्य देखिन्छ ।

कान्तिपुर

Link copied successfully