'कतिपय साथीहरू फेरि फर्किएर गए, तिनीहरूको कस्तो कन्तविजोग छ !'
What you should know
काठमाडौँ — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग विद्रोह गरेकोमाथि प्रश्न उठाएका सम्मानित नेता झलनाथ खनालमाथि प्रश्न उठाएका छन् । संविधान मिचेर संसद् भंग गरेको कुराको विरोध गरेको र त्यो गल्ती नभएको नेपालको भनाइ थियो ।
काठमाडौंमा शुक्रबार आयोजित पार्टीको कार्यक्रममा नेपालले एमालेबाट विद्रोह गर्नु सही भएको बताए । एमालेमा कुनै ठाउँ नरहेपछि विद्रोह गर्नुपरेको बताएका हुन् । सम्मानित नेता खनालले विद्रोहको औचित्यमाथि प्रश्न उठाएकामा अध्यक्ष नेपालले आलोचना गरेका छन् । एमालेमा फर्किएर गएका नेताहरूको अवस्था पनि नेपालले स्मरण गराएका थिए ।
पार्टीको हित र प्रतिष्ठामा आँच आउने गरी अभिव्यक्ति दिनु सही नभएको अध्यक्ष नेपालको भनाइ थियो । ‘पार्टीको प्रतिष्ठा बढाउन, पार्टी हितको रक्षा गर्न, पार्टीको अनुशासन पालना गर्नुपर्छ, विरुद्धमा होइन । मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने ? किन आउनुपर्यो ? विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि,' नेपालले भने, 'हामीले ठिक गरेका छौँ । दृढताका साथ पहल गरेका छौँ ।'
तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अनुशासन उलंघन गरेर संविधान मिचेर संसद् विघटन गरेको नेपालको भनाइ थियो । संसद् पुनर्स्थापनाका लागि तत्कालीन अवस्थामा विद्रोह गर्नुपरेको नेपालको भनाइ थियो । ओलीले दोस्रो पटक पनि संसद् विघटन गरेको स्मरण गर्दै नेपालले भने, 'त्यो गरेर गल्ती गरियो ? विद्रोह गर्नु हुँदैन थियो ? केपीजीको चाकरी गरेर त्यहाँ बस्नुपर्दथ्यो ? कि के गर्नुपर्दथ्यो ?'
एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठन गर्नु सही भएको नेपालको भनाइ थियो । 'संविधान जोगाउने मात्रै होइन, कम्युनिस्ट आन्दोलन बद्नाम गर्ने काम भइरहेको थियो, हामीले रहरले त्यो पार्टी छोडेको होइन,' उनले भने । एमालेमा रहेका नेताहरूको विजोग भइरहेको पनि उनले बताए । 'कतिपय साथीहरू फेरि फर्किएर गए । तिनीहरूको कस्तो कन्तविजोग छ,' उनले भने ।
