सामाजिक परिवर्तनको लागि सबैको हातेमालो आवश्यक : सभापति देउवा

उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरुप उपलब्धिहरु नयाँ संविधानमार्फत प्राप्त भएको बताए।

श्रावण २३, २०८२

कान्तिपुर संवाददाता

Everyone's hand is needed for social change: Chairman Deuba

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक परिवर्तनको लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन्। 

शुक्रबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले गरेको ३१औँ विश्व आदिवासी दिवस विशेष कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।

उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरुप उपलब्धिहरु नयाँ संविधानमार्फत प्राप्त भएको बताए। उनले संविधानको प्रश्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर अहिले त्यसको कार्यान्वयन भइरहेको बताए। आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली कांग्रेस संवेदनशिल रहेको पनि उनको भनाइ छ।

‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरुप उपलब्धिहरु नयाँ संविधानमार्फत प्राप्त भएका छन् । संविधानको प्रश्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्यायको काम हुँदै आएको छ । नेपाली कांग्रेसले आफ्नो नीति कार्यक्रम र घोषणापत्रमै प्रतिवद्धता जनाउँदै आएको छ । आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली कांग्रेस संवेदनशिल छ,' उनले भने।

सभापति देउवाले शिक्षा, स्वास्थ्य, रोजगारी, समावेशिता, सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चितता गर्ने समय सान्दर्भिक पहल गर्नुपर्ने बताए। 'अब सामाजिक परिवर्तनको क्षेत्रमा हामी सबैले हातेमालो गर्दै अघि बढे निश्चय पनि सही गन्तव्यमा पुग्न सकिन्छ,' उनको भनाइ छ।

कान्तिपुर

Link copied successfully