प्रतिष्ठानको उपाध्यक्षमा रामेश्वर फुँयाल, सचिवमा मधु तिमिल्सिना, कोषाध्यक्षमा सरोज दाहाल, सदस्यमा विदुरप्रसाद ढुङ्गाना, कृष्णहरि थापा, श्रीकृष्ण चापागाईँ, सुदर्शन चापागाईँ, सुरेशप्रसाद निरौला, दिव्याकुमारी घिमिरे र सुरेशप्रसाद चापागाईँ चयन भएका छन् ।
What you should know
काठमाडौँ — मदन–आश्रिम स्मृति प्रतिष्ठानको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली चयन भएका छन् । शुक्रबार यहाँ सम्पन्न प्रतिष्ठानको ३१औँ वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा रामेश्वर फुँयाल, सचिवमा मधु तिमिल्सिना, कोषाध्यक्षमा सरोज दाहाल, सदस्यमा विदुरप्रसाद ढुङ्गाना, कृष्णहरि थापा, श्रीकृष्ण चापागाईँ, सुदर्शन चापागाईँ, सुरेशप्रसाद निरौला, दिव्याकुमारी घिमिरे र सुरेशप्रसाद चापागाईँ चयन भएका छन् । सो अवसरमा एमालेका उपाध्यक्ष गुरु बरालले मदन भण्डारीको अद्वितीय नेतृत्व क्षमता, जनसम्पर्कको शैली र विचारलाई संगठनमा रूपान्तरण गर्ने कौशलको प्रशंसा गर्दै प्रतिष्ठानले नयाँ पुस्तामा भण्डारी–आश्रितको विचारको ज्योति प्रज्ज्वलित गर्न निरन्तर लागिरहनुपर्नेमा जोड दिनुभएको प्रतिष्ठानका सदस्य विष्णु खनालले जानकारी दिए ।
एमाले स्कुल विभाग प्रमुख एवं उपमहासचिव ज्ञवालीले मदन–आश्रितको जीवनयात्रा विचार र संगठनको संगम भएको उल्लेख गर्दै कठिन राजनीतिक परिस्थितिमा पनि उनीहरूले मार्क्सवादी विचारलाई जनमुखी र शान्तिपूर्णरूपमा अघि बढाउने बताए । उनले प्रतिष्ठानलाई समुदायसँगको सहकार्यमा प्राविधिक शिक्षा विस्तार तथा विश्वविद्यालयसँग सहकार्य गरी प्रविधिमैत्री शिक्षण पद्धति विकासमा प्रतिबद्ध संस्थाका रूपम विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।
एमाले नेता कृष्ण राईले प्रतिष्ठान स्थापनाकालदेखि नै शिक्षा क्षेत्रमा दिएको योगदानको प्रशंसा गरे । पूर्वमन्त्री आनन्द पोखरेलले जलवायु परिवर्तन र डिजिटल युगको चुनौतीलाई प्राविधिक शिक्षासँग जोड्नुपर्नेमा जोड दिए । पूर्वराजदूत महेन्द्र पाण्डेले मदन भण्डारीका विचार आत्मसात नगरी सच्चा कम्युनिष्ट बन्न नसकिने उल्लेख गर्दै प्रतिष्ठानबाट उत्पादित जनशक्ति र कार्ययोजनाको स्पष्ट लेखाजोखा गर्न सुझाव दिए ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष रामेश्वर फुयालले प्रतिष्ठान शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना नभई सिर्जनशील, सीपयुक्त र आत्मनिर्भर जनशक्ति निर्माण गर्ने उपयुक्त थलो भएको बताए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्याललाई सम्मान गरिएको थियो । साधारणसभाले मदन भण्डारी र जीवराज आश्रितका विचार र मार्गदर्शनलाई जीवन्त राख्दै शिक्षा, विज्ञान, प्रविधि र समाज रूपान्तरणको मार्गमा प्रतिष्ठानलाई अघि बढाउने निर्णय गरेको छ ।
