घुससहित पक्राउ परेका कल्याणपुर नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आयोगले साहलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत एक लाख बिगो र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

श्रावण २३, २०८२

विनय आजाद

A corruption case has been filed against the mayor of Kalyanpur municipality who was arrested with bribe

सिरहा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले शुक्रबार उनीविरुद्ध विशेष अदालतमा घुस रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धि मुद्दा दायर गरेको हो।

आयोगको टोलीले साहलाई गत असार ३२ गते नगरपालिकाको वडा नं. ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानीको चेक दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित कार्यालयबाटै नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा साहले भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रुपैयाँ लिएको पुष्टि भएको आयोगका केन्द्रीय प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आयोगले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद माग दाबी गरेको छ ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully