अध्यक्ष ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सैद्धान्तिक अवधारणासहित राष्ट्रिय राजनीतिमा एमालेलाई ‘राष्ट्रिय निर्णायक’ शक्ति बनाउने दाबीसहित प्रतिवेदन लेख्दैछन् ।
What you should know
काठमाडौँ — एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टी ‘राष्ट्रिय निर्णायक’ शक्ति बनाउने ‘मिसन ०८४’ केन्द्रित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् । एमालेले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सैद्धान्तिक अवधारणासहित उनले प्रतिवेदनमा मिसन ०८४ केन्द्रित प्रतिवेदन लेख्ने तयारी गरेका छन् ।
अध्यक्ष ओलीको संयोजकत्वमा महासचिव, उपमहासचिव टोलीले राजनीतिक प्रतिवेदन लेख्ने तयारी गरेको छ। उनले तयार गरेको प्रतिवेदन भदौ २०–२२ मा हुने विधान महाधिवेशनमा प्रस्तुत भई पारित हुने छ ।
‘मिसन ०८४ लाई केन्द्रित गरी राजनीतिक प्रतिवेदन आउनेछ,’ उनले भने, ‘२०८४ को आम निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा होमिने छ । मुलुकको पहिलो पार्टी बनाउने राजनीतिक आधार प्रतिवेदनमा उल्लेख हुनेछ ।’
एमालेले आगामी निर्वाचनमा गठबन्धन नगर्ने निष्कर्ष निकालिसकेको छ । माओवादी केन्द्रले आगामी निर्वाचनमा वामपन्थी मोर्चा बनाउन खोजिरहेको बेला एमालेले प्रतिस्पर्धी कांग्रेससित भिड्ने गरी राजनीतिक र सांगठनिक प्रतिवेदन र कार्यक्रम बनाउन लागेको छ ।
ओलीले नेतृत्व गरेको कांग्रेस–एमाले गठबन्धन सरकार र त्यसले गरेका कामकारबाहीको समीक्षा, दुई ठूला दलबीच गठबन्धन गर्नुको उद्देश्य पनि प्रतिवेदनमा आउने छ । राजनीतिक प्रतिवेदनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा हुने छ। राष्ट्रिय राजनीतिको समीक्षा गर्दा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र एमालेबाट विभाजन भएको नेकपा (एकीकृत समाजवादी) को भूमिकालाई आलोचनात्मक रूपमा प्रस्तुत गरिने एमालेका एक नेताले बताए ।
अध्यक्ष ओलीले कुनै पनि दलसँग गठबन्धन नगरी आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने दाबी गर्दै आएका छन्। कांग्रेससित सत्ता गठबन्धन भए पनि यी दुई दलबीच प्रतिस्पर्धा हुने एमालेको भनाइ छ ।
महासचिव शंकर पोखरेलले २०८४ निर्वाचनमा आवश्यक पर्ने सांगठनिक प्रतिबेदन लेख्ने तयारी गरेका छन् । एमाले सदस्य संख्या बढाउने नीति नुसार कार्यक्रम बनाउने छ । हाल एमालेले ६ लाख संगठित सदस्य भएको दाबी गर्दै आएको छ । आगामी विधान महाधिवेशनदेखि संगठित र साधारण सदस्य बनाउने विधान मस्यौदा केन्द्रीय समितिले पारित गरेको छ ।
बिहीबार महाधिवेशनस्थल अवलोकनका लागि गएको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोली ।
उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तयार भएको विधान मस्यौदा सुझावका लागि प्रदेश र जिल्ला कमिटीमा पठाइएको छ । विधान महाधिवेशनमा २ हजार ७७ प्रतिनिधि छन् । गत महाधिवेशनकै प्रतिनिधिलाई महाधिवेशनमा सहभागी गराइने छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान महाधिवेशनका लागि तयारी सुरु भइसकेको छ। ‘विधान महाधिवेशनको तयारी धमाधम भइरहेको छ,’ उनले भने, ‘राजनीतिक, वैधानिक र सांगठनिक विभागले काम गर्दैछन्।’
महाधिवेशनमा आर्थिक प्रतिवेदन पुष्प कँडेल, अनुशासन प्रतिवेदन केशव बडाल, सल्लाहकार समितिको प्रतिवेदन अमृत बोहरा, निर्वाचन आयोगसम्बन्धी विजय सुब्बा, केन्द्रीय लेखापरीक्षण प्रतिवेदन पुष्प कँडेलले पेस गर्ने छन्। मूल व्यवस्थापन समितिको पहिलो बैठकले प्रतिनिधिको व्यवस्थापन र अध्यावधिक सूची तयार गर्न संगठन विभाग प्रमुख काशिनाथ अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ।
एमालेले महाधिवेशनमा सहभागी प्रतिनिधिबाट कुनै पनि शुल्क नलिने, आवासको व्यवस्थापन पनि नगर्ने भएको छ । ‘आपतकालीन व्यवस्थापनका लागि लालबाबु पण्डितको संयोजकत्वमा समिति बनाइएको छ,’ प्रचार विभाग प्रमुख गौतमले भने।
महाधिवेशनका लागि खाद्य तथा सचिवालय व्यवस्थापन भीष्म अधिकारी नेतृत्वको कार्यालय टोली, प्रचार तथा प्रसारको निम्ति प्रचार विभाग प्रमुख गौतम र प्रेस चौतारी नेपाल, मञ्च र सजावट विनोद श्रेष्ठ, महेन्द्र श्रेष्ठ, स्वास्थ्य विभागको जिम्मा कृष्णगोपाल श्रेष्ठ, स्वयंसेवक परिचालनको जिम्मा भानुभक्त ढकाल र सांस्कृतिक झाँकीको जिम्मा हेमराज राईलाई दिइएको छ।
