बागमतीका निलम्बित मेयर थापाले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर, एक वर्ष कैद र ३ करोड ४५ लाख जरिवाना

थापासँग बिगोबाहेक बढे/बढाएको सम्पत्तिसमेत जफत गर्न अदालतको फैसला छ ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Suspended Mayor Thapa of Bagmati was found to have acquired illegal wealth, one year imprisonment and a fine of 34.45 million.

काठमाडौँ — सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर भएको छ । 

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले निलम्बित मेयरले गैरकानुनी सम्पत्ती आर्जन गरेको ठहर गर्दै बुधबार एक वर्ष कैद सजाय र बिगोबमोजिम ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना तोकेको हो ।अदालतले मेयर थापा र उनको परिवारको आय र व्ययको विश्लेषण गर्दा आयभन्दा व्यय ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ २३ पैसा देखिएको जनाएको छ । 

'प्रतिवादी भरतकुमार थापा र निजका एकासगोलका अन्य प्रतिवादीहरूको समग्र आय-व्ययको सम्बन्धमा मूल्याकंन गर्दा कूल आय ९ करोड १४ लाख ३१ हजार ३ रुपैयाँ ९१ पैसा र कूल व्यय १२ करोड ५९ लाख ५३ हजार ३९१ रुपैयाँ १४ पैसा देखिन आई कूल आयभन्दा व्यय ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ बढी देखियो,' फैसलामा भनिएको छ, 'निज प्रतिवादीले गैरकानुनी रुपमा आर्जन गरेको देखिन आई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि भएकोले निज प्रतिवादी भरतकुमार थापालाई सोही दफा २० को उपदफा (२) बमोजिम १ (एक) वर्ष कैद र बिगो बराबर ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ जरिवाना हुने ठहर्छ ।'

साथै थापासँग बिगोबाहेक बढे/बढाएको सम्पत्तिसमेत जफत गर्न अदालतले आदेश दिएको छ । 

कान्तिपुर

Link copied successfully