'२०८२/८३ मा गर्नुपर्ने योजनाहरूलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । '
काठमाडौँ — कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणको काम समयमा सकियोस् भन्ने जनचाहनाअनुसार काम गर्नुपर्ने बताएका छन् । स्थानीय पूर्वाधार तथा विकास विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधबार सम्बोधन गर्दै उनले विभागलाई विकास निर्माणका आयोजना समयमा सम्पन्न गर्ने गरी काम गर्न आह्वान गरेका हुन् ।
सहरी विकास मन्त्रालयअन्तर्गत रहेको स्थानीय पूर्वाधार विकास विभागले सडक पूर्वाधार, झोलुंगेपुल,सडकपुल,स्थानीय तहको प्रशासकीय भवन र साना सिँचाइ आयोजनाको काम गरिररहेको छ ।
‘विकास निर्माण र पूर्वाधारसँग सम्बन्धित काम समयमा सकियोस् भन्ने जनताको चाहना पूरा गर्ने गरी काम गर्न लाग्नुस् । त्यसका लागि मनत्रालयबाट गर्नुपर्ने केही छ भने भन्नुहोला । मन्त्रालयबाट गर्नुपर्ने काम गर्छौं ,’ उनले भने । गत वर्ष विभागको समग्र प्रगति ६५ प्रतिशत मात्र देखिएकोमा असन्तुष्टि जनाउँदै उहाँले विगतका कमजोरी पहिचान गरि समाधान गर्दै आगामी वर्षमा उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।
‘२०८२/८३ मा गर्नुपर्ने योजनाहरूलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । इन्फ्रास्ट्रक्चर डेभलपमेन्टदेखि विकट स्थानमा निर्माण भइरहेका झोलुङ्गे पुलहरू समेत तोकिएको समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने ।
